वडाध्यक्ष मल्ल ५० हजार धरौटीमा छुटे
दमौली : एक युवकको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल ५० हजार धरौटीमा रिहा भएका छन् । गत वैशाख १० गते भानु ६ नाब्रुङमा साथीसँग गएका भानु १ भन्सारका २१ वर्षीय प्रविण गुरुङ मृत भेटिएपछि परिवारले मल्लसहित १६ जनाविरुद्ध जाहेरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले अध्यक्ष मल्लसहित अभियुक्तविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरेकामा जिल्ला अदालत तनहुँको इजलासले मल्ललाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
जिल्ला न्यायाधिश वासुदेव पौडेलको एकल इजलासले अर्का अभियुक्त गोविन्दबहादुर थापालाई एक लाख धरौटी तथा अर्का अभियुक्त रामु अछामीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । घटनामा संलग्नताको अभियोग लागेका दीपक भण्डारी, अमित अधिकारी र धनबहादुर घर्तीलाई साधारण तारेखमा रिहाको आदेश दिएको छ ।
घटनामा संलग्नताको आरोप लागेका १० जना नाबालक भएकाले उनीहरुलाई हाल अभिभावकको जिम्मा लगाउने आदेश प्राप्त भएको अदालतका निमित्त श्रेष्तेदार कृष्णप्रसाद गौतमले बताए । लक डाउनका समयमा युवाहरु भन्सारबाट नाब्रुङ गएका बेला खाजा खाने क्रममा मृतकसहितका चार युवासँग विवाद भए पछि भोलिपल्ट गुरुङ मृत भेटिएका थिए ।
प्रतिक्रिया दिनुहोस !