अनियमितताबारे उजुरी दिँदा तीन लाख ५० हजार जरिवाना, समूहबाट निष्कासन
दमौली : सरकारले लकडाउनको समयमा अति जरुरी बाहेकका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । तर यही अवधिमा तनहुँको ऋषिङ गाउँपालिका- ४ मण्डलीमा अनिवार्य उपस्थितिको उर्दी जारी गर्दै डाकिएको वनको भेलाले एक सदस्यलाई जरिवाना र सामाजिक बहिष्कारको निर्णय गरेको छ ।
वनमा काठ अनियमितताको उजुरी दिएका स्थानीय लक्ष्मण रानाभाटलाई तीन लाख ५० हजार जरिवाना र समूहबाट निष्कासनको निर्णय गरेको छ। सो निर्णय मण्डली सामुदायिक वन उपभोक्ता समितिले गरेको हो ।
दमौलीदेखि उपभोक्ता अनिवार्य उपस्थिति डाकी गरिएको भेलाले रानाभाटलाई ठेक्का लिएको काठ नकाटेको र धरौटी नबुझाएको भन्दै यस्तो कारबाही गरेको हो । रानाभाटले आफूले वनका पदाधिकारी र स्थानीय दानबहादुर र प्रेम रानाभाटले काठ तस्करी गरेको उजुरी वनमा दिएकाले कारबाही गरिएको दाबी गरे । 'मैले अनियमितताको उजुरी दिएकाले प्रतिसोध साँधिएको हो,'उनले भने, 'भेलामा म गएको थिइन । तर यस्तो कारबाही भएको सुनाइयो ।'
लकडाउनमा भेला नगर्न भने पनि अटेर गरी भेला डाकिएको प्रहरी चौकी भिरकोटका ईञ्चार्ज सन्त बरामुले बताए । उनले आफूहरुले अनुमति नदिए पनि भेला भएको सूचना पाएको बताए । 'हामीले भेला नडाक्न भनेका थियौं,' उनले भने, 'तर डाकेर निर्णय गरेको सुनियो।'
उता, वनका अध्यक्ष यामलाल श्रेष्ठले लकडाउन भएपनि गम्भीर विषय भएकाले भेला डाकिएको बताए । उनले लक्ष्मण रानाभाटले सम्झौता अनुसार काम नगरेकाले कारबाही गरिएको दाबी गरे । 'यसअघि पनि पहिलो चरणमा छलफल भएको थियो,' उनले भने, 'विवाद टुंग्याउन फेरि डाकेका हौं ।'
वनका व्यक्तिविरुद्ध उजुरी दिएपछि छलफलका लागि बोलाउँदा पनि नआएको र ठेक्काअनुसार काम नभएकाले जरिवाना गरिएको उनले बताए । 'ठेक्का सम्झौता अनुसार काम नगरेकाले कारबाही गर्ने सर्वपक्षीय निर्णय भएको हो,' उनले भने ।
वनले रानाभाटलाई कारबाही गरे पनि लक्ष्मणले काठ तस्करीको उजुरी दिएका दानबहादुर र प्रेमलाई भने घरायसी प्रयोजनका लागि काठ लगेको भन्दै सफाइ दिएको छ । यसअघि सोही विवादमा साता दिनअघि पनि वनले भेला डाक्दा भएको विवादमा लक्ष्मणका काका ७५ वर्षीय कालिदासमाथि कुटपिट भएको थियो । घटना बाहिर ल्याएकाले उनीमाथि प्रतिसोध साँधिएको परिवारको दाबी छ ।
प्रतिक्रिया दिनुहोस !