झ्यालबाट रमाइरहेको यो सानो संसार
साहित्यशास्त्री एवं राजनीतिशास्त्री ईश्वर बरालको पुस्तक ‘झ्यालबाट’ वा प्रसिद्ध लेखक गोविन्दबहादुर मल्ल ‘गोठाले’को उपन्यास ‘पल्लो घरको झ्याल’ वा तोत्तो चानको ‘झ्यालमा रमाउने त्यो सानी केटी’। वसन्त ऋतु आयो, गयो। हामी यी किताबका नामझैँ झ्यालमै सीमित भयौँ। हामी पनि के भन्नु र, झन्नै पूरै संसार झ्याल।
यही मेसोमा लकडाउन बसाइँको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यसाथ नेपाल पर्यटन बोर्डले झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा नेपालका जुनसुकै ठाउँको प्रकृति र संस्कृति झल्किने तस्बिर यही जेठ १८ गतेसम्म पठाउन सकिनेछ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीका अनुसार नेपाल पर्यटन बोर्डको वेबसाइट https://photonepal.travel मार्फत प्राप्त हुने उत्कृष्ट पाँच फोटोग्राफरलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। केही प्रतिनिधि तस्बिर ‘झ्यालबाट’।