रक्सीमात्र चोर्ने चोर
दमौली : लकडाउनका बेला धेरैको काम प्रभवित भएको छ । काम नहुनाले मानिस चोरी पनि गर्न थालेको घटना बाहिर आइरहेको छ । चोरी गर्नेले खाने कुरा र धनमाल चोरेको त सुनिएकै हो तर तनहुँको अकलामा भने अनौठो चोरीको घटना घटेको छ ।
म्याग्देको अकलास्थित अकला हाईवे रेष्टुरेण्टमा सोमबार राती चोरी भयो । तर धनमाल र खाद्यान्न केही चोरिएन । चोर खाली हात फर्कियो त ? होइन चोरले रेष्टुरेण्टको शोकेसमा सजाएर राखिएका रेड लेबल र ब्ल्याक लेबलका एक एक बोतल रक्सीका साथै करिब एक दर्जन बियरका बोतल चोरी लगे।
मंगलबार बिहान बन्द रेष्टुरेन्ट हेर्न पुगेका सञ्चालक भीमलाल श्रेष्ठका अनुसार रेष्टुरेन्टमा भएका अरु चीज चोरी नभएर रक्सी र बियरका बोतल मात्र चोरी भएको थियो । चोरले महंगा रक्सी र बियर मात्र चोरी गरेको सञ्चालक श्रेष्ठले बताए । 'कोही राती नबस्ने भएकाले धनमाल भने रेष्टुरेण्टमा थिएन । तर खाद्यान्न र अरु बस्तु भने केही भएको छैन । मुल गेटमा रहेको सीसीटीभीको तार छुटेकाले चोरी रेकर्ड हुन पाएन', उनले भने । नजिकैको चिने जानेका व्यक्तिले मदिरा चोरेको हुन सक्ने श्रेष्ठले आशंका गरे । ‘यो पक्कै चिनेकैले चोरी गरेको हुनुपर्छ,’ उनले भने,‘त्यो पनि मदिराको अम्मलीले हो ।’
प्रतिक्रिया दिनुहोस !