लकडाउनको मतलब नगरी कुलपूजा र उद्घाटन
दमौली : सरकारले सार्वजनिक सभा र समारोह नगर्न भनेर जेठ २० गतेसम्म प्रतिबन्ध लगाएको छ । खासमा लकडाउनको अर्थ नै अति जरुरी बाहेकका भेला र समारोह नगर्नु नै हो । अति जरुरी काम गर्नुपर्ने भए पनि २५ जना भन्दाकम र सामाजिक दूरीसहित गर्न सरकारको आदेश छ ।
तनहुँमा सुरुमा यसको पालना पनि भयो । पछिल्ला दिनमा लकडाउन उल्लंघन गर्दै भीडभाड गरी सभा, पूजा र कार्यक्रम गर्ने प्रवृत्ति तनहुँमा देखिएको छ । म्याग्दे १ दबुङका नेवार समुदायले धुमधामका साथ आफ्नो कुल पुजा गरे । व्यास नगरपालिकाको साँगे नजिकैको ठाउँमा जिल्लाका विभिन्न भागबाट नेवार समुदाय भेला भएर कुलपुजा गर्दा तनहुँसुरका नेवार परिवारले पनि कुलपूजा गरे ।

म्याग्दे १ दबुङमा आयोजना गरेको कुलपूजामा सहभागीहरु । तस्बिर : अन्नपूर्ण
कुल पुजा मात्र होइन सार्वजनिक उद्घाटनका कार्यक्रम पनि यसै बेला भएका छन् । व्यास १ मा खानेपानी ट्यांकीको उद्घाटन भव्यताका साथ भयो । नेकपाका नेता कार्यकर्ता सामाजिक दूरी र मास्कबिनै उपस्थित भएर कार्यक्रम गर्दा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले भाषण गरे । कार्यक्रममा नेकपाका वडास्तरका नेता कार्यकर्ताको बाक्लै उपस्थिति रह्यो ।
ठाउँ ठाउँबाट कुलपुजाका लागि गाउँ आउने क्रम जिल्लाका धेरै भागमा भइरहेको छ । यसअघि पनि बन्दीपुर र केशवटार क्षेत्रमा बाक्लै उपस्थिवतका बीच कुलपुजा गरियो । कुलपूजासँगै सार्वजनिक कार्यक्रमसमेत हुन थालेपछि यसले लकडाउनको कुनै अर्थ देखिएन पूजा गर्नेले गर्वकासाथ सामाजिक सञ्जालमा फोटो पोष्ट समेत गरिरहेका थिए ।
केही दिनअघि पनि ऋषिङको भिर्कोटमा अनिवार्य उपस्थितिको उर्दीकासाथ वनको भेला जारी गरिएको थियो । भेलाले एक व्यक्तिमाथि जरिवाना र कारवाही समेत घोषणा गरेको थियो ।
जिल्लामा हालसम्म कोभिड संक्रमण नदेखिएकाले बजार खुला हुनुकासाथै मानिस निर्धक्कसँग हिंडडुल गर्न थालेका छन् ।
जोखिमबाट मुक्त छैन तनहुँ

व्यास–१ मा पानीट्यांकी उद्घाटनका लागि आयोजना गरिएको कार्यक्रम । तस्बिर : अन्नपूर्ण
पृथ्वी राजमार्ग हुँदै दैनिक भारतबाट आउने नेपाली लिएर सवारी हिडिरहेका छन् । हालसम्म विभिन्न मुलुकबाट एक हजार जिल्ला भित्रिएका छन् । भारतबाट आउनेको क्रम दिनहुँ बढिरहेको छ ।
जिल्ला भित्रनेको संख्या पनि बढे पनि कोभिड संक्रमण नदेखिएका कारण जिल्लामा आगमन र जमघट पहिलेभन्दा बाक्लो बन्न थाले पछि यसले जोखिम निम्त्याउने चिन्ता पनि छाएको छ । ‘कोभिड देखिएको छैन भनेर हामी ढुक्क हुने अवस्था होइन,’ जिल्ला स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारी भन्छन्,‘सामाजिक दूरी कायम गर्नैपर्छ ।’ तर सामाजिक दूरी प्रहरीका अगाडि मात्रै पालना हुने र पछि नहुने गर्नाले प्रशासन पनि दिक्दार छ ।
‘हाम्रा अगाडि मात्र दुरी बनाउने हो जस्तो गर्छन्,’ एक प्रहरी अधिकारीले भने, ‘धेरै कडा गर्दा पनि बढी कडा भयो भन्ने अनि अलि खुकुलो गर्दा टेर्दै नटेर्ने ।’ स्थानीय तहहरुले बजार खुला गर्दा चहलपहल निकै बढेपछि कडाई गर्न थालेका छन्।
व्यास नगरपालिकाले बैंकलाई ६ दिन पालैपालो गरेर खोल्न दिए पनि चहलपहल बढेको भन्दै सातामा ४ दिन सोमबारदेखि बिहीबारसम्म मात्र खोल्न दिर्ने निर्णय गरेको छ । ‘जोखिम बढ्ने देखिएपछि सातामा चार दिन बजार खोल्दा मात्र बैंक खोल्ने र अत्यावश्यक बाहेकका पसल खोल्न नदिने निर्णय भएको छ,’ नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने ।
प्रतिक्रिया दिनुहोस !