जे छ, त्यसैमा दंग थिए

जे छ, त्यसैमा दंग थिए

अभिन्न मित्र रत्नशमशेर थापालाई बन्दाबन्दीको समयमा गुमाउनुपर्दा अत्यन्तै दुःख लागेको छ। अग्रज स्रष्टा गुमाउँदा अनि लामो समयदेखि एउटै क्षेत्रमा सँगै काम गरेको साथीबाट टाढा हुनुपर्दा ज्यादै नरमाइलो लागेको छ, एक्लो महसुस भएको छ।   

म यतिबेला केही वर्षअघि चितवनस्थित कालिका एफएमको आयोजनामा भएको कार्यक्रमको निम्ता मान्न रत्नसँगै गाडीमा यात्रा गरेको सम्झिरहेको छु। त्यसबेला हामीबीच थुप्रै अन्तरंग कुराकानी भएका थिए। यात्राका क्रममा छोरो सम्राटले हामीबीचको कुुराकानी क्यामेरामा कैद गर्न भ्याएको रहेछ। पछि यो कुरा रत्नले पनि थाहा पाए। उनले उक्त भिडियो हेर्न पटकपटक मागेका थिए। यता छोराले भने सामान्य एडिट गर्न पाए अझै राम्रो हुन्छ, अनि मात्र सार्वजनिक गरौँ भन्ने अडान छाडेन। उसले आफ्नो व्यस्तताका कारण समयमा काम नगरेकाले बेलैमा सार्वजनिक गर्न पनि सकिएन।  

केही महिनाअघि वरिष्ठ गीतकार रत्नशमशेर थापा बिरामी भएर टिचिङ अस्पतालमा भर्ना भएको खबर पाएँ। सुन्नासाथ म अस्पताल गएको थिएँ। उनको अवस्था त्यहीबेला राम्रो थिएन। मैले छोरालाई उक्त भिडियो तत्काल तयार पार्न भनेँ। त्यसपछि हामीले रत्नशमशेरको घरमा सम्पर्क गर्न पटकपटक प्रयास गर्‍यौँ। तर, सम्पर्क हुन सकेन। विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण नेपालमा पनि लकडाउन सुरु भयो। हामीले उक्त भिडियो रत्नको घरमा पुर्‍याउन पनि सकेनौँ। उनलाई समयमै देखाउन सकेको भए कति खुसी हुन्थे होलान् भन्ने लागिरहेको छ।   

रत्नशमशेर थापा र मेरो पहिलो भेट २०१६÷१७ सालमा भएको हो। म त्यसबेला त्रिचन्द्र कलेजमा आईए पढ्थेँ। रत्न र नारायणगोपालहरू भने साइन्स पढ्थे। उनीहरूबीचको सम्बन्ध त्यसैबेलादेखि झाँगिएको हो। कलेजको एक कार्यक्रममा नारायणगोपालले रत्नशमशेरको ‘स्वर्गकी रानी, मायाकी खानी’ भन्ने गीत गाएका थिए। यो गीत धेरैले मन पराएका थिए। 

रत्नशमशेरका केही कालजयी गीतहरू नारायणगोपालले गाए। २० कै दशकमा प्रेमध्वज प्रधानले पनि उनका गीत गाएका थिए। रत्नका घु्म्तीमा नआऊ है, पन्छीमा राम्रो डाँफे, ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो, जाग लम्क चम्क हे, उकाली ओराली गर्दै, गोरेटो त्यो गाउँको जस्ता गीत कालजयी छन्। 

रत्नशमशेर थापा नयाँसडकको इन्दिरा रेस्टुरेन्टमा चिया खान सधैँ जाने गर्थे। त्यहाँ नारायणगोपाल पनि नियमितजसो आउँथे। अरू साथीहरूको पनि जमघट हुन्थ्यो। त्यहीबेला भर्खरभर्खर बियर पनि आएको थियो। साथीहरूले बियर पिउँदा रत्न भने चिया र कफी मात्र पिउँथे। पहिले आफ्ना कुरा राख्ने अनि मात्र अरूका कुरा सुन्ने उनको बानी थियो। साँझ परेपछि रत्नशमशेर पीपलबोटबाट पत्रिका बोकेर कमलपोखरीस्थित घरतिर लाग्थे।  

उनी सधैँ स्वतन्त्र थिए। न त उनले जागिर खाए, न त जागिरका लागि कतै दरखास्त नै दिए। त्यसबेला एमए गरेका रत्नशमशेरले कतै पनि प्रक्रिया पुर्‍याएर दरखास्त मात्र हालेको भए सरकारी जागिर पाउने जमाना थियो। त्यसबेला प्रतिस्पर्धा भन्ने कुरै थिएन। उनी कहिल्यै सत्ताको नजिक पनि गएनन्। मलाई यस्तो देऊ, यो चाहियो भन्दै लोलोपोतो गरेर हिँड्ने उनको स्वभाव नै थिएन। हुुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन। उनी आफ्नो कुरामा अडिग थिए। 

रत्नसँग हाम्रो लामो समय उठबस भयो। बरोबर भेट पनि भइहन्थ्यो। हामी विभिन्न कार्यक्रममा सँगै हुन्थ्यौँ। उनी मभन्दा केही जेठा र किरण खरेलभन्दा केही कान्छा थिए। उनी चिया चुरोटका भने अम्मली थिए। ‘रक्सी नखाएर के भो र ? यही चुरोटले तिमीलाई अल्सर हुन बेर छैन’ भन्दै म गाली गर्थें। उनी हाँसेर उडाइदिन्थे। हामी साथीहरू भेला भएका बेला उनलाई रक्सी नखाएको विषयमा जिस्क्याउथ्यौँ। उनको बोली कडा तर प्रस्ट थियो। उनी मनका भने सफा थिए। जे देखेको छ, त्यो प्रस्ट भन्थे।

उनलाई लागेको कुरा प्रस्ट राख्ने भएकाले पनि उनलाई भेट्नेहरू प्रभावित हुन्थे। उनी कविता र मुक्तक सुनाउन रुचि राख्थे। तबला बजाउनमा सौखिन थिए। विभिन्न कार्यक्रममा अतिथिका रूपमा सहभागी भएर मन्तव्य राख्दा सुरुमा म मुक्तक सुनाउँछुु भन्थे। उनी ठट्टा पनि गर्थे । त्यसबेला मुक्तक लेख्ने मान्छे पनि सीमित मात्र थिए। उनको ‘निधारको टाटो’ भन्ने मुक्तक निकै चर्चित थियो। उनलाई सुर तालको राम्रो ज्ञान थियो। तर, गीत भने गाउँदैनथे। 

चिया गफका क्रममा उनी आज फलानालाई यसो भनेँ, गाली गरेँ, मैले यसो गरेको छु भन्दै सुनाउँथे। उनी प्रस्ट थिए अनि स्वाभिमानी पनि थिए। उनको स्वभाव सबैलाई थाहा थियो। साथीहरूले पनि रमाइलो मान्थे, चित्त दुखाउँदैनथे। 

खानदानी एवं धनी परिवारका रत्नको कमलपोखरीमा घर एवं जग्गाजमिन थियो। तराईमा पनि धेरै जग्गाजमिन भएको उनी कुराकानीका क्रममा सुनाउँथे। तर, त्यसको रेखदेख गर्न, दाबी गर्नपट्टि उनी लागेनन्। उनी जे छ त्यसमै रमाउँथे। लगानी गर्न, व्यापार गर्न र भविष्यका लागि आम्दानीका स्रोत बनाउनपट्टि उनी लागेनन्। सीमित घेरामा इमानदार अनि दंग भएर बस्थे। यस मानेमा उनी अव्यावहारिक थिए।  

उनका कालजयी गीतहरूको पचासौँ वर्षमा पनि लोकप्रियता बढ्दो छ। नारायणगोपाल, प्रेमध्वज आदिले गाएका गीतले स्रोताको मन जितिरहेका छन्। उनी आफ्नो प्रचार गर्न रुचाउँदैनथे। वरिष्ठ गीतकार थापा नेपाली सुगम संगीतको प्रथम कालखण्ड अर्थात् स्वर्णिक कालदेखि नै आजपर्यन्त चर्चित छन्। उनको लेखाइमा तागत थियो। उनी सधैँ हिँड्ने गर्थे। उनी साइकल, मोटरसाइकल, गाडी किनेर चढ्नपट्टि लागेनन्। कतिपय कार्यक्रममा जाँदा हामी सँगै जाने गथ्र्यौं। म पनि उनलाई लिन घरसम्म जान्थेँ। धेरैपटक घरमै छाडिदिएको छु। 

केही वर्षअघि हामीले बौद्धिक सम्पत्तिसम्बन्धी रोयल्टी कलेक्सन  सोसाइटी गठन गर्‍यौँ। पहिले तदर्थ समिति हुँदै पछि निर्वाचन पनि भयो। यसमा पनि रत्नशमशेरको ठूलो योगदान छ। 

एउटा इमानदार साथी गुमाउनुपर्दा जति दुःख लागेको छ त्यसभन्दा बढी यस्तो जटिल समयमा निधन भएकामा झन् दुःख लागेको छ। उनका लाखौँ प्रशंसकले अन्तिम अवस्थामा पनि हेर्न, भेट्न अनि श्रद्धाञ्जलि दिन पाएनन्। अन्तिम अवस्थामा भए पनि उनलाई कत्रो सम्मान हुन्थ्यो होला। म पनि अन्तिम अवस्थामा रत्नलाई भेट्न जान सकिनँ। 

(समीरबाबु कट्टेलसँगको कुराकानीमा आधारित।) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.