तनहुँमा पहिलो कोरोना संक्रमित भेटिए
दमौली : व्यास नगरपालिका १ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा रहेका ऋषिङका एक २८ वर्षीका पुरुषमा संक्रमण भेटिएसँगै तनहुँमा कोभिड १९ को पहिलो घटना देखिएको छ । जिल्लामा हालसम्म संकलन भएर नतिजा आएकामध्ये एक सय ८० को रिपोर्ट नेगेटिभ आएको थियो । तर आदिकवि भानुभक्त क्याम्पस दमौलीस्थित क्वारेन्टाइनको रिपोर्टको नतिजाका आधारमा सोही क्वारेन्टाइनका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पोखरास्थित क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदबिन्दु शर्माद्वारा निकालिएको विज्ञप्तिमा युवक ऋषिङ गाउँपालिकाकै क्वारेन्टाइनमा रहेको भनिएको छ । तर स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा रहेका ऋषिङका ती युवकमा कोरोना पोजिटिभ देखिएको बताएका छन् ।
ऋषिङ गाउँपालिकाका केही व्यक्ति आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा पनि छन् । उनीहरुमध्ये ५४ जनाको शुक्रबार स्वाब संकलन गरिएकामा आएको नतिजाले एक जनामा संक्रमण देखाएको हो । तर बाँकी सबैको रिपोर्ट आइसकेको वा नसकेको भन्ने विषय अन्यौल छ । ‘सबैको रिपोर्ट आए नआएको हामीसमक्ष विवरण आइसकेको छैन,’ उनले भने । उनले सबैको रिपोर्ट आए नआएको निर्देशनालयबाट पूरा विवरण आएपछि मात्र भन्न सकिने बताए ।
अधिकारीले अहिलेसम्म प्राप्त नतिजामा ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनका व्यक्तिमा भने संक्रमण पुष्टि नभएको बताए ।
संक्रमित युवालाई आइसोलेसनमा लगिने
संक्रमण भेटिएका युवालाई बेलचौतारा वा कताको आइसोलेसनमा राखिने भन्नका लागि बैठक बस्दैछ । जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा कोभिड पोजिटिभका लागि आइसोलेसन छ । दमौली अस्पतालले यस अघि किरियापुत्री भवनका लागि आइसोलेसन राख्ने भने पनि एक जना मात्र देखिएको र त्यहाँ चिकित्सक सहितको टिमको व्यवस्थापन असहज भएकाले के गर्ने भन्ने विषयमा बैठकबाट निर्णय लिइने स्वास्थ्य प्रमुख अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस !