भारतबाट आउने हेपाइमा : क्वारेन्टाइन बनाउन ठाउँठाउँमा अवरोध
गोरखा : कोरोनाबाट बच्न भारतबाट आफ्नो गाउँठाउँ आएकालाई आफन्तले हेप्ने गरेका छन् । संक्रमित भएर आएको र समुदायमा संक्रमण फैलाउने आरोप लगाउँदै गोरखाका विभिन्न ठाउँमा क्वारेन्टाइन बनाउन अवरोध गरेका छन् ।
अवरोधका कारण धार्चे गाउँपालिकाले अहिलेसम्म क्वारेन्टाइन बनाउन सकेको छैन । ‘हामीले माछाखोलामा क्वारेन्टाइन बनाऔं भन्यौ, स्थानीयबासी तयार भएनन् । लापुवेशीको प्रभातकिरण माविमा बनाऔं भन्यौँ । त्यहाँ पनि स्थानीयले छेकथुन गरे’, उपप्रमुख फूलमाया गुरुङ भन्छिन्, ‘अहिले गाउँपालिका प्रवेश गर्ने ठाउँमा जंगलको बीचमा क्वारेन्टाइन बनाउने भनेर जमिन खार्न थालिएको छ ।’ त्यहाँ पनि अर्को भीरकुनाका गाउँलेले राख्न दिन्नौं भनेको अनौपचारिक रुपमा सुन्नमा आएको उनले बताइन् ।
गाउँपालिकाभरि सामुहिक क्वारेन्टाइन नहुँदा भारतबाट आएका धार्चे गाउँपालिकाका १० जना आरुघाट गाउँपालिकाको भीमोदय माविको क्वारेन्टाइनमा रहेका छन् । भारतबाट धमाधम भित्रिन थालेपछि भीमसेन गाउँपालिकाले घ्याम्पेशालमा क्वारेन्टाइन बनाउने तयारी गरेको थियो तर स्थानीयले अवरोध गरेपछि नसकिएको अध्यक्ष ईश्वर पाण्डे बताउँछन् । ‘त्यसपछि हामीले साविकको वडा नं. तीनको कनकामना विद्यालयमा बनायौं । त्यहाँ तीन जना राखेका थियौँ । त्यहाँ पनि अर्को गाउँको मान्छेलाई राख्न दिएनन् । फेरि विन्द्रावती माविमा पनि बनाउनु पर्यो ।’
धेरै ठाउँका मान्छे अट्ने गरी वडा नं. ६ को नवजागृति माविमा धेरै क्षमताको सामुहिक क्वारेन्टाइन बनाउन स्थानीयबासीले अवरोध गरेपछि अहिले गाउँगाउँमै क्वारेन्टाइन बनाउनु पर्ने अबस्था आएको अध्यक्ष पाण्डेले बताए । पालुङ्टार नगरपालिका वडा नं. १ मा क्वारेन्टाइन बनाउने बिषयमा भएको विवाद तीनदिनपछि बल्ल समाधान भएको वडा अध्यक्ष कृष्णबहादुर परियार बताउँछिन् । ‘आफ्नो गाउँ नजिक बनाउन कोही पनि मान्दैनन् । कोही सातदोबाटेमा बनाउनु पर्छ भनेर उता देखाउँछन् । उताको मान्छे विन्दवासिनीमा बनाउनु पर्छ भनेर पन्छाउँछन् । कोही अन्नपूर्ण माविमा बनाउनु पर्छ भनेर सार्छन्’, उनी भन्छन्, ‘बल्लतल्ल अन्नपूर्ण माविमा बनाउने भनेर हिजो(सोमबार) अबेर सहमति भएको छ ।’
सोही नगरपालिकाको वडा नं. ९ मा पनि क्वारेन्टाइन बनाउने बिषयमा विवाद भएको वडा अध्यक्ष भेजराज पाण्डे बताउँछन् । एउटा वडाको एक ठाउँमा बनाउने भनिएको क्वारेन्टाइन अवरोधका कारण तीन ठाउँमा बनाउनु परेको उनले बताए । क्वारेन्टाइन बनाउन अवरोध होइन, साहयोग गर्नुपर्ने जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारी बताउँछन् । भारतबाट फर्कनेलाई उपेक्षा नगर्न उनको सुझाव छ । ‘भारतमा काम गर्न गएका पनि हाम्रै दाजुभाइ हुन् । लकडाउनका कारण कामविहीन भएपछि आफ्नो घर फर्केका हुन् । उनीहरु आउँदैमा सबैले कोरोना बोकेर आएका हुँदैनन् । यसरी छिःछिः र दुरःदुर गर्नुहुँदैन’, एसपी अधिकारी भन्छन्, ‘उनीहरुलाई सुरक्षित तवरले क्वारेन्टाइनमा राख्नुपर्छ । यदि सबै ठाउँमा क्वारेन्टाइन बनाउन अवरोध भयो भने उनीहरु सिधै समुदायमा जान्छन् । झन जोखिम बढ्न सक्छ । विषयको गम्भीरता बुझ्नुपर्छ । क्वारेन्टाइन बनाउन अवरोध होइन, सहयोग गर्नुपर्छ ।’
गोरखामा हालसम्म छ सय ८३ जना अट्ने क्षमताको क्वारेन्टाइन छ । अहिले दुईसय ६२ जना क्वारेन्टाइनमा रहेको र यसअघि २२५ जना क्वारेन्टाइनमा बसेर फिर्ता भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !