उसर्वानीको कुरा गर्दा थामिंदैन इशुको आँशु
गोरखा : जब छरछिमेक आँगनमा भेला हुन्छन् र उसर्वानीप्रति सहानुभूति दर्शाउन थाल्छन्, इशुका आँखा राता हुन थालिहाल्छन् । एक दुई शब्द बोल्न थालेपछि थुचुक्क बस्छन्, शिर घुँडामुनि लगेर घुँक्कघुक्क गरिहाल्छन् । उनको आकास र धर्तीले नभेट्ने रोगले अर्धाङ्गिनी उसर्वानीलाई ओछ्यानको ओछ्यान थला पारेको छ । हरेक राति उसर्वानीको चित्कारले सुत्न नसकेको दुई महिना भयो ।
आफ्नोभन्दा पनि क्यान्सरले ग्रस्त भएर लडेकी उसर्वानीको ओछ्यानमा खेल्दै गरेको काखे छोराको माया लाग्छ । भर्खरै आठ कक्षामा पढ्दै गरेको अर्को छोरा र किशोरीवयमा पुगेकी छोरीको मायाले इशुको आँखा सुक्न दिंदैन । उसर्वानीलाई क्यान्सर लाग्नुमा उनीहरुको कुनै हेलचेक्र्याइँ छैन । जब असह्य पेट दुख्न थाल्यो, इशुले उनलाई नजिकैको अर्याल मेडिकलमा जँचाउन लगेकै थिए । असामान्य लक्षण देखेपछि मेडिकलले गोरखा अस्पताल पठाउँदा उनीहरु गएकै थिए । गोरखा अस्पतालले भरतपुर अस्पताल पठाउँदा पनि उनीहरु गएकै थिए । भरतपुरले चितवन मेडिकल कलेज, चितवन मेडिकल कलेजले भरतपुर क्यान्सर अस्पताल पठाउँदा पनि इमान्दार भएर गएकै थिए ।
तर जब क्यान्सर अस्पतालले उनीहरुको धर्ती र आकास बेचे पनि नपुग्ने खर्च लाग्ने सुनायो, तब उनीहरुको पाइला थाक्यो ।‘अस्पतालले पित्तथैलीको क्यान्सर भएको छ । छ सात लाख रुपैयाँ लाग्छ, अहिलेचाहिँ एकलाख रुपैयाँ तयार गर भन्यो । १२ दिनसम्म अस्पताल चाहर्दा चाहर्दैमा बस्ने, खाने खर्च पनि सकिएको थियो’, रसाएका आँखा छोप्दै इशु मियाले भने, ‘अस्पतालमै रुँदैरुँदै मागेर पाँच हजार रुपैयाँ बनाएँ । अनि एउटा एम्बुलेन्स खोजेर घर फर्कियौं ।’ अब त अस्पताल जाने खर्च पनि नभएको उनले बताए ।
उनी २०६२ सालमा बारा जिल्लाबाट गोरखा आइपुगेका थिए । नयाँबजारमा सिलाइ काम गरेर गुजारा चलाउन थालेको १५ वर्ष भयो । यत्तिका वर्ष काम गरेको नाताले छरछिमेकले सक्दो सहयोग गरेकोमा उनी कृतज्ञ छन् । तर अहिले छरछिमेकको सहयोगले मात्र पनि नपुग्ने अवस्था भयो ।‘पहिले अस्पताल जाँदा पनि छरछिमेकीले दुई हजार, चार हजार, पाँच हजार गर्दै दिनुभएको थियो । अब फेरि कोसँग माग्ने ?’, रुवाइ मिश्रित स्वरमा उनी भन्छन्, ‘काखको दुई वर्षको छोरा छ । अरु दुई छोराछोरी छन् । न खानेबस्ने खर्च छ, न उपचार गर्ने खर्च छ । महिनाको छ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । लकडाउनले काम गर्न पनि पाएको छैन । काम नपाउँदा छाक टार्न मुस्किल छ, क्यान्सरको औषधी कसरी गर्ने ? यी छोराछोरीको बिजोक हुने भयो ।’
प्रतिक्रिया दिनुहोस !