कोरोना विशेष अस्पतालले अर्को जिल्लाका भन्दै बिरामी लिन मानेन
जाजरकोट : कोरोना संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधार बनाउन भन्दै कर्णाली सरकारले पश्चिम रुकुमको चौरजहारी अस्पताललाई डेढ करोड रुपैया अनुदान दियो । जाजरकोट, रुकुम र सल्यानका कोरोना संक्रमित बिरामीलाई उपचार गर्ने अस्पतालको रुपमा विकास गर्न सरकारले अनुदान दिएको थियो।
आवश्यक आइसोलेसन वार्ड लगायतका पुर्वाधार निर्माणमा खर्चिने गरि सरकारी अनुदान पाएको चौरजहारी कोरोना विशेष अस्पतालले नै बिरामी भर्ना गर्न अस्वीकार गरेको छ । यो एक गैरसरकारी संस्थाले सञ्चालन गरेको अस्पताल हो । सल्यान बनगाड कुपिण्डे नगरपालिकाका कोरोना संक्रमितलाई चौरजहारी कोरोना विशेष अस्पतालले भर्ना लिन नमानेपछि सुर्खेत पठाइएको छ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमण देखिएका २५ जना मध्ये १३ जनालाई सुर्खेत पठाइएको छ भने १२ जनालाई जिल्ला अस्पतालमै राखेर उपचार थालिएको डा. अर्जुन बुढाले जानकारी दिए । १२ जनालाई जिल्ला अस्पतालमा राखेर ठाँउ अपुग भएपछि १३ जनालाई नजिकै रहेको चौरजहारी कोरोना विशेष अस्पतालमा पठाउन खोजिए पनि अस्पताल प्रशासनले भर्ना नलिने भनेपछि सुर्खेत पठाइएको बुढाले बताए।
बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले कोरोना अस्पताल बनाउन भन्दै सरकारी अनुदान लिएको अस्पतालले सल्यानका बिरामी भर्ना लिन सकिँदैन भन्नु गैरजिम्मेवार कार्य भएको बताए । उनले भने–‘कर्णाली प्रदेश सरकारले तीन जिल्लाका लागि भनेर चौरजहारी अस्पताललाई अनुदान दिने तर अस्पतालले जिल्ला बाहिरकालाई उपचार गर्दिनौँ भन्न मिल्छ ।’
त्यस्तै सल्यानकै दार्मा गाँउपालिकामा संक्रमण देखिएका नौ जनालाई पनि चौरजहारी अस्पतालले भर्ना लिन नमानेपछि उनीहरुलाई तीन दिनदेखि क्वारेन्टाइनमै राखिएको गाँउपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । ‘सल्यानका संक्रमित समेत राख्ने भनेर सरकारले अनुदान दिने तर अस्पतालले हामी अर्को जिल्लाका बिरामी राख्न सक्दैनौ भन्न मिल्छ ?’ उनले भने ‘बिरामीको व्यवस्थापन प्रदेश सरकारले मिलाउनु पर्छ ।’
रुकुम जिल्लामै नयाँ कोरोना संक्रमित भेटिन सक्ने भन्दै जिल्ला बाहिरकालाई भर्ना नलिन जिल्लाका जनप्रतिनिधिले अस्पताललाई निर्देशन दिएपछि अस्पतालले जिल्ला बाहिरका संक्रमितलाई भर्ना नलिएको जनाएको छ । अस्पताल प्रशासक डिलबहादुर गिरीले सोती घटनाका कारण चौरजहारीको वातावरण तनावग्रस्त भएको र जिल्लामै कोरोना संक्रमित देखिए राख्नको लागि केही बेड रिजर्भ राखिएकोे स्पष्ट पारे । उनले भने —बिरामीकै सेवाका लागि अस्पताल खोलिएकाले बिरामी लिन्नौ भन्दैनौ । रुकुममा परीक्षण नै भएको छैन । संक्रमण देखिए काँहा राख्ने ?’
पहुँचका आधारमा मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाद्धारा सञ्चालित चौरजहारी अस्पताल भनिने मिसन अस्पताललाई सरकारी अनुदान दिएर कोरोना अस्पताल बनाउने तर जाजरकोटमा रहेको ५० शैय्याको जिल्ला अस्पताललाई वेवास्ता गरिएको भन्दै कर्णाली सरकारको यस अघिको निर्णयको चर्को विरोध भएको थियो ।
अस्पताल प्रशासक गिरीले प्रदेश सरकारले दिने भनेको ५० लाख रुपैयाँ आइसकेको तर एक करोड रुपैया अझै प्राप्त नभएको बताए । चौरजहारीमा शितल माविसहित ३५ बेडको आइसोलेशन र चार बेड क्षमताको आईसीयू कक्ष निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !