निष्कर्ष
बन्दाबन्दीका बेला
एकजना बाबुसाहेबकी छोरी भगाउन
भएछ भनाभन
खाएछन् गाली
(त्यसरी कोही आएको भए
तपाईं दिनुहुन्थ्यो र छोरी?
त्यसमाथि कामी!
लोकले के भन्छ?)
चाहेको कुरा नपाएपछि
रिसाएछन् केटा
धरेछन् दागा
र बाबुसाहेबहरूलाई फँसाउन
गाउँलाई नै बदनाम गर्न
लिइदिएछन् भेरीमा
सामूहिक जलसमाधि!
हत्या?
कसले भन्यो हत्या??
नरसंहार?
बिनाप्रमाण उत्तेजक भाषा बोल्ने??
अहिलेसम्म
अन्यथा कुनै प्रमाण नभेटिएकाले
र भेटिने सम्भावना पनि नभएकाले
त्यो घटना
बदला लिने नियतले गरेको
सामूहिक आत्महत्या जस्तो देखिन्छ
थप कुराका लागि
हामी अनुसन्धान गराउँदै छौँ
तर अनुसन्धानको निष्कर्ष पनि
यस्तै नै निस्किने देखिन्छ।
@kedar_sharmaa