भद्धा व्यवस्थापन : ६९ दिनदेखि निरन्तर क्वारेन्टाइनमा सरोज
गोरखा : अजीरकोट गाउँपालिका–३ सिरानडाँडाका ६९ दिनदेखि क्वारेण्टाइनमा बसेका १९ वर्षीय सरोज तामाङ ।तामाङले क्वारेन्टाइनको कहर काटेको शनिबार ६९ दिन पुगेको छ । वनारसबाट घर फर्कने क्रममा सीमापारि ४२ दिन र नेपालका विभिन्न क्वारेन्टाइनमा २७ दिन बिताएको उनी बताउँछन् ।
१९ वर्षीय तामाङ हाल अजीरकोट–३ भच्चेकको सभाहलमा निर्माण गरिएको क्वारेन्टाइनमा दसौँ दिन बिताइरहेका छन् । उनको गत बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य प्राविधिक नारायणबाबु अर्यालले जानकारी दिए ।
कोरोना महामारी फैलन थालेपछि उनी वनारसबाट घर फर्कन खोजेका थिए । उनलाई वानारस प्रशासनले स्थानीय जागरण पब्लिक स्कुलमा २० दिन र नवोदय स्कुलमा २२ दिन क्वारेण्टाइनमा राख्यो । ‘४२ दिन त्यहाँको क्वारेन्टाइनमा बिताएपछि सुनौली नाकामा आइपुगेँ’, तामाङ भन्छन्, ‘सुनौली नाकामा दुई दिन, कपिलवस्तुको नमुना माविको क्वारेन्टाइनमा पाँच दिन, रुपन्देहीको क्वारेन्टाइनमा पाँच दिन बसेँ।’ गोरखा आइसकेपछि मनकामना बहिरा माविको क्वारेण्टाइनमा पाँचदिन बसेका तामाङ अहिले यस क्वारेण्टाइनमा बसेको शुक्रबार १० दिन पूरा भएको छ । गाउँको क्वारेण्टाइनमा बस्दा भने घरमा बसेजस्तै आनन्द भएको उनले बताए ।
‘सबै क्वारेन्टाइनमा आरडिटी टेष्ट गरेको थियो । यहाँचाहिँ पीसीआर टेष्ट गरेको छ । पक्कै नेगेटिभ आउने छ अनि घर जान पाइन्छ होला’, उनले भने ।
प्रतिक्रिया दिनुहोस !