गोरखाका थप चार जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४ पुग्यो
गोरखा : गोरखाका थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबार सार्वजनिक गरिएको कोरोना परीक्षणको रिपोर्टमा एक महिला र तीन पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनीहरु चारै जना भीमसेन थापा गाउँपालिका ६ अश्राङका विभिन्न क्वारेण्टाइनका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ। एकजना २८ वर्षकी महिला चितवनको भरतपुरबाट आई क्वारेण्टाइनमा बसेको र अरु तीनजना भारतबाट आई क्वारेण्टाइनमा बसेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।
बुधबार गोरखाबाट २३ जनाको पीसीआर संकलन
सहिद लखन गाउँपालिकाको मनकामना मावि क्वारेण्टाइनका पाँच जनाको स्वाब संकलन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
त्यस्तै भीमसेन थापा गाउँपालिकाको सिद्धकाली मावि क्वारेण्टाइनका दुईजना, लक्ष्मीज्योति आधारभूत विद्यालयका चारजना, चण्डेश्वरी आधारभूत विद्यालयका एकजना, नवजागृति मावि क्वारेण्टाइनका एकजना, धनवासेका एकजना र जनशक्ति आधारभूत विद्यालयका दुई जनाको स्वाब संकलन गरेको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए।
त्यस्तै गण्डकी गाउँपालिकाको तोमनडाँडा आधारभूत विद्यालयका दुईजना, जनजागृति आधारभूत विद्यालय बुटारका तीनजना र धार्चे गाउँपालिकाको माछाखोला क्वारेण्टाइनका दुई जनाको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !