बलात्कार घटना ढाकछोप
धादिङ :
नेत्रावती गाउँपालिका–२ की ९ वर्षीया बालिका जेठ २५ गते राति आत्तिँदै प्रहरी चौकीमा पुगिन्। बुवाले नै पटक–पटक बलात्कार गरेपछि सहनै नसक्ने अवस्थामा उनी प्रहरीको शरणमा पुगेकी हुन्। त्यस रात पनि बलात्कार प्रयास गरेको उनले सुनाइन्।
प्रहरीले उनलाई राति नै जिल्ला प्रहरी कार्यालयमा पठायो। तत्काल उनको उपचार थालियो। स्वास्थ्यकर्मीका अनुसार उनको यौनांग क्षतविक्षत अवस्थामा छ। रक्तस्राव भइरहेको छ। शरिरभरि नीलडाम छ। राम्ररी बोल्न र हिँडडुल गर्न पनि नसक्ने अवस्थामा छिन्। प्रहरीकै निगरानीमा सुरक्षित आवास गृह (सेफ हाउस)मा राखेर उनको उपचार भइरहेको छ। आरोपितलाई भोलिपल्ट प्रहरीले पक्राउ गर्यो।
घटना २
ज्वालामुखी गाउँपालिका–७ चैनपुरकी १६ वर्षीया किशोरी आफन्तबाट बलात्कृत भएको घटना जेठ ११ गते बाहिरियो। ठूलो बुवाका छोराले नौ महिनाअघि बलात्कार गर्दा उनी गर्भवती भइन्। ‘डेलिभरी डेट’ जेठ १३ गते तोकिएको थियो। घरपरिवार र केटा पक्षले घटना लुकाउन जेठ ११ गते गर्भ फाल्न चितवन पुर्याए।
चितवनका कुनै पनि स्वास्थ्य संस्थाले बच्चा जन्मिन दुई दिन बाँकी भएको गर्भ फाल्न अस्वीकार गरेपछि पीडितलाई उतै लुकाएर राखियो। त्यसबारे प्रहरीले थाहा पाएर तत्काल चितवन प्रहरीलाई खबर गर्यो। चितवन प्रहरीले जेठ १२ गते पीडितलाई उद्धार गरी धादिङ ल्यायो। उनले बच्चा जन्माएकी छन् भने उनलाई सुरक्षित आवास गृहमा राखिएको छ। आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
घटना ३
सिद्धलेक गाउँपालिका–७ नलाङकी १७ वर्षीया किशोरी ८ महिनाअघि मामा नाता पर्ने युवकबाट बलात्कृत भइन्। उनको पेटमा ८ महिनाको गर्भ छ। गाउँकै अर्का एक अधबैंसे युवालाई ‘बलात्कृत गर्भ’सहित किशोरी जिम्मा लगाउनै लाग्दा आठ महिनामा घटना बाहिरियो। प्रहरीले चासो देखाएर केटालाई पक्राउ गर्यो।
तर, परिवारले मुद्दा चलाउन चासो देखाएन। एउटा गैरसरकारी संस्थाको सहयोगमा मुद्दा दर्ता गरिएको छ। पीडित सुरक्षित आवास गृहमा छिन्। बालिकालाई गर्भमा रहेको बच्चासहित जिम्मा लिने मानिस भेटिएकाले बिहे गर्न, मुद्दा फिर्ता लिन केटा पक्ष र परिवारबाट धम्की आइरहेको छ।
यी घटनामा बालिका तथा किशोरीहरू परिवारका सदस्यबाटै बलात्कृत भएका देखिन्छन्। त्यसलाई महिनौंसम्म लुकाइएको छ। विविध कारणले सार्वजनिक भएपछि घटना सामसुम पार्न र मिलाउन समाजका अगुवा र पीडितका परिवार उद्यत छन्।
बलात्कृत बालिका तथा किशोरीको बाँकी जिन्दगी के हुन्छ भनेर कसैले नसोचेको सहयात्री समाजकी निर्देशक राधिका सापकोटा बताउँछिन्। ‘हाम्रो न्याय प्रणाली नै उल्टो छ। पीडकलाई प्रहरी सुरक्षाका साथ रासनपानी र भत्ता उपलब्ध गराएर जेलमा राखिएको हुन्छ’, उनी भन्छिन्, ‘पीडितले हदै पाए डेढ लाखसम्मको क्षतिपूर्ति हो। त्यो रकमले उनीहरुको भविष्य सुरक्षित हुन्छ त ? ’
बलात्कृत बालिकालाई सेफ हाउसमा राखिएको छ। यी तीनै घटनामा कुनै पनि स्थानीय तहले चासो नदेखाएको सेफ हाउसकी मनोपरामर्शकर्ता सुमित्रा भण्डारी बताउँछिन्। ‘जनप्रतिनिधि कसैले पनि पीडितका विषयमा सकारात्मक चासो देखाएकै छैनन्’, उनी भन्छिन्, ‘बरु हामीलाई नसोधी किन मुद्दा दर्ता गराएको भनेर धम्कीको भाषा प्रयोग गर्छन्।’
बलात्कृत किशोरीहरूको सामाजिक व्यवस्थापन झनै जटिल बन्ने गरेको छ। घटनापछि घरमा बस्नै नसक्ने अनि उनीहरूको सुरक्षा र जिम्मेवारी लिने निकाय पनि नहुँदा उनीहरूको अवस्था झनै दयनीय हुने गरेको सापकोटाको भनाइ छ। ‘बाबु, दाइ, काकालाई जेल हालेर फेरि त्यो घरमा फर्किएर कुनै किशोरी कसरी सहज रुपमा बस्न सक्छे ? ’, उनको प्रश्न छ, ‘उनीहरुको जिम्मा लिने खोइ सरकारी निकाय ? ’
तीनवटै घटनाका आरोपी हिरासतमा छन्। उनीहरूलाई जबरजस्ती करणी र हाडनाता करणी अभियोगमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले बताए। लकडाउनयता मात्रै बलात्कारका १० घटना भएको तथ्यांक छ। बलात्कार प्रयासका २ घटना भएका छन्। लुकाइएका अरू घटना पनि हुन सक्ने प्रहरी अधिकारी बताउँछन्।