मास्कमा खल्ती

मास्कमा खल्ती

आर्यघाटमा एउटा शव भर्खर ल्याएर कुनोमा अलग्ग तेस्र्याइएको छ। मलामीको उपस्थिति ज्यादै न्यून छ। सम्भवतः यिनीहरू मृतकका एकदम नजिकैका नातेदार हुनुपर्छ। पार्थिव शरीरबाहेक सबैको मुख थरीथरीका मास्कले ढाकिएको छ। यसले गर्दा भीडमा एक अर्कालाई खुट्याउन मुस्किल परेको छ। थोरै व्यक्तिहरू अन्तिम संस्कारको तयारीमा लागिपरेका छन्। बाँकी अरू आफ्नो सुविधाजनक स्थितिमा चुपचाप टहल्दै देखिन्छन्। 

लासको सिरानछेउमा मृतकका छोरा टाउकोमा हात राखेर केही झुकेको देखिन्छन्। नजिकै एक जनासँग घाटे पुरेतले हात–मुख दुवै चलाउँदै बेलिविस्तार लगाउँदै छन्। ठीक अगाडिको रुखमाथि एउटा काग बसेर कराउन थाल्यो, ‘का...का...का...का...।’ चौध वर्षे ठिटो कताबाट दौडेर आई ढुंगा टिपेर हानिहाल्यो, ‘लज्जा...।’ कौवा आकाशमा हरायो। केटो मलामीको भीडभाडमा। 

अलि परको बेन्चमा दुई मास्कधारी मलामी मन्दमन्द स्वरमा भलाकुसारी गरिरहेको देखिन्छ। मास्कभित्रबाट एउटाले सोध्यो, ‘हैन, यी बूढा के व्यथाले गएका हुन् ? अहो ! अहिलेको यो कोरोना भाइरसले हो कि क्या हो ?’ अर्कोले मुन्टो हल्लाउँदै मास्कभित्रबाटै जवाफ फर्कायो, ‘कहाँको कोरोना भाइरसले हुनु, हिजो राति हर्ट अट्याक भएछ।’ एकछिनपछि उसले केही सम्झेझैँ बोल्यो, ‘अँ, बरु उनलाई हर्ट अट्याक कोरोना डरले भएजस्तो छ।’ सोध्ने व्यक्तिले आश्चर्यचकित हुँदै भन्यो, ‘डरले ? हे भगवान्। अँ, यो कोरोना डर त सर्दैन होला हगि ?’ दुवै जना मास्कभित्र स्वर ननिकालेर नै हाँसे मज्जासँग। 

कृष्णहरि रिमालको उमेर भर्खर ७५ मा कुद्दै थियो। बूढा साह्रै हरासिला–फरासिला र फुर्तिला देखिन्थे। उनी आफ्नो निवृत्त दिनहरू सक्रिय तवरले हिँडाइरहेका थिए। टोलमा घर किनेर बसेको पनि १२ वर्ष भइसकेको थियो। घरपरिवार एवं आम्दानी–खर्च सबै कुरा सन्तुलित ढंगबाट चलिरहेको थियो। यो उमेरसम्म काट्दा गर्नुपर्ने व्यवहार उनको बाँकी केही थिएन। 

बिहान सधैँ मर्निङवाक गर्दै उनी घर पुग्दा ९ बजिसकेको हुन्थ्यो। घर फर्कंदा बाटोमा पर्ने ‘मसाल बाजे’को होटेलमा एक कप चिया पिउन उनी बिर्संदैनथे। केही समय विविध रङका गफगाफमा त्यहाँ उनी भुल्थे। अँ ! मसाल बाजेको राजनीतिक यात्रा गज्जब चाखलाग्दो छ। पञ्चायती शासन व्यवस्थामा उनी मोटो हो कि पातलो नेकपा मशाल÷मसालमा सक्रिय रहेछन्। बहुदल आएपछि एमाले, एवं रीतले द्वन्द्वको समयमा माओवादी र हाल भने निष्क्रिय रूपले चिया होटल चलाइरहेका छन्। जे होस्, वामपन्थी सेरोफेरोमा मात्र उनको राजनीतिक वृत्तयात्रा

घुमिरह्यो। तर, उनको नाम ‘मसाल बाजे’ स्थायी तवरले टोलमा अमर भएको छ। दिनहरू यस्तै प्रकारले व्यतित हुँदै थिए।
संसारका प्रायः सबै देश यसको पासोमा कैद भए। गृष्म आगमनपूर्वको यो कठिन घडीमा हामीकहाँ पनि यो त्रासदीले बाटोघाटो, चोक, होटेल, पसल, अफिस, घर–घर आदि सबै ठाउँहरूमा हल्ला बोल्यो। सबै सञ्चार माध्यममा सर्वग्राही कोभिड–१९, कोरोना आतंक बनेर छाइरह्यो। 

घाटे पुरेतले सुस्केरा हाल्दै तातो अन्तिम खरानी नदीमा मिल्काए, ‘ख्वोपल्याङ्ग, छ्याइइअअ।’   

यी सबै कुराहरूका बाबजुद आफूलाई निःशंक, निर्भय एवं दृढ प्रतिज्ञ रूपमा देखाउन बूढाले कुनै कसर छोडेका थिएनन्। मृत्यु सन्निकटताको भयावह परिवेशमा उनी अनाप–सनाप एवं अनर्गल प्रलाप गर्दै हिँड्थे। ‘हाम्रो जमानाको छुवाछूत प्रथा फेरि सुरु भयो। अब ता श्रीमतीसँग पनि सँगै सुत्न नपाइने छाँटकाँट छ। प्रत्येकसँग दूरी कायम गर्नुपर्ने।’ 

‘बूढा निर्धक्कसँग हिँडे, कुदे र कुर्ले पनि। आ, यस्ता भाइरसहरू कति आए, गए सबै पचाइयो। इबोला, सार्स, बर्डफ्लु, डेङ्गु, मेनन्जाइटिस, कति हो कति। अलि दिन मच्चिन्छ अनि थच्चिन्छ। हामीले यस्ता कुराहरू राणा शासनदेखि भोग्दै आएका हौँ।” 

परिस्थितिगत प्रतिकूल परिवर्तनको कोपले विश्व हल्लियो। हरेक टेलिभिजन च्यानल, रेडियो–एफएम र समाचारपत्रहरूको सम्प्रेषण कोभिड–१९ कोरोना भाइरसका खबरहरूले रंगीन थाले। सामाजिक सञ्जाल यसैको चर्चा–परिचर्चाले पूरै भरिन थाल्यो। प्रत्येक व्यक्तिहरू आफू कुनै टाइम बममा बसिरहेझैँ त्रास बढ्दै गयो। मानिसका खुला मुखहरू जति सबै मुख–मास्कमा रूपान्तरण हुँदै गए। 

यस्तो कालचक्रभित्रको कुचक्रमा बूढाका श्रवणआतुर कानहरू पनि सक्रिय भए। यस अप्रत्याशित कहरयुक्त परिस्थिति र तरह–तरहको अतिरञ्जनाको फलस्वरूप उनको मुटुले ठाउँ छोड्यो। ‘अब भने साँच्चै मरिने हो कि क्या हो, हदै भो बा !’ भयाक्रान्त एवं चिन्ताकुलले गर्दा निद्रा र भोकले उनलाई छोड्यो। उनको रुग्ण–पीत मुखमण्डलले यी कुरा स्पष्ट रूपमा झल्काउँथ्यो। 

एकाबिहानै उनी हतारहतार दौड्दै औषधि पसलमा पुगे। दुई दर्जन मास्क र पञ्जा किने। लगत्तै मास्क र पञ्जा लगाए। फेरि के सोचेर हो कुन्नि, अर्को मास्क डब्ल्याएर मिलाउँदै थिए, पसलेले हाँस्दै भन्यो, ‘डराउनुपर्दैन, एउटै मास्कले रोक्छ.। किन यतिविधि डराएको बूढा बाजे ?’ बूढालाई झनक्क रिस उम्ल्यो। डब्बल मास्कभित्रबाटै बोले, ‘के भर हुन्छ र, उहिले सिंगल मास्क फुटेर कत्रो जात्रा, जुम्ल्याहा बच्चा जन्म्यो। मालको डब्बल मोल लिएर खुबै जान्ने हुने।’ उनी पछाडि नफर्की घरतर्फ कुदिहाले। 

बाटोमा मान्छेहरूसँग दूरी कायम गर्दै उनी हिँड्दै थिए। एक जना बच्चा बोकेकी महिलाले उनी नजिक आई केही बोल्न खोजिन्। बूढा कालोनिलो भए। मानौँ, कोरोना अगाडि आइरहेछ। ‘बाजे यहाँ फुक्ने मान्छे कतै बस्नुहुन्छ ? बच्चालाई रातभर ज्वरो र झाडापखालाले हैरान पारेको छ।’ उनी टाढा–टाढा हुँदै कराए, ‘कहाँ फुक्ने खोज्दै हिँडेको ? बच्चालाई हस्पिटल लगिहाल छिट्टो।’ 

 कृष्णहरिको दिनचर्यामा नाटकीय रूपले फेरबदल हुन थाल्यो। घुम्न बन्द। गफगाफ बन्द। भेटघाट बन्द। घरपरिवारमै पनि हेलमेल बन्द। दूरी कायम। ५५ वर्ष एउटै खाटमा रात काटेको श्रीमतीसँगको प्रणयविच्छेद भयो। उनी बेग्लै कोठामा रात कटाउन थाले। खानपानमा नियन्त्रण। दुई–दुई घण्टामा तातोपानी, टर्रो चिया र साथै दिनमा चारपटक मुखमा थर्मोमिटर घुसारेर घोरिन्थे।

सबैले खाना खाइसकेपछि उनी एकछट्ट खान बस्थे। चुपचाप खान्थे। तर, खाना पस्किँदा प्रायः सोध्ने गर्थे, ‘लसुन, बेसार हाल्यौ ? टिम्बुर, मेथी, अदुवा, तरकारीमा हाल्न बिर्सेको त छैन ?’ खाना खाइसकेपछि एक चम्चा बेसार आफँै झिकेर फाँको मार्थे। नमीठोसँग मुख बिगार्दै पानीसित बेसार निल्दा घाँटीका बाक्ला नसाहरू तलमाथि बटारिएर हल्लिएको हाँस्यास्पद देखिन्थ्यो।

आफ्नो दैनिकीको अभिन्न अंगका रूपमा गढेका कुराहरूको नियन्त्रणीय अनुभव उनका लागि साह्रै कष्टप्रद शासन थियो। घरपरिवारका सदस्यहरू उनको अनौठो एवं नौलो व्यवहारमा वाक्क–दिक्क भइसकेका थिए। धेरै समयपश्चात् पूजाकोठामा देवोपासना गर्न थालिसकेका थिए। आस्था र अनास्थाबीचको यो उनको अनौठो चाल बुझिनसक्नु थियो। साह्रो वस्तुमा भाइरस बस्छ भन्ने हल्लाले मूर्तिलाई नछोएरै पूजा गर्थे। उनको यस्तो किसिमको परिवर्तन देख्दा श्रीमती पछाडि भन्ने गर्थिन्, ‘यो के ताल, बेताल हो, बूढा मेन्टल भइसके लौ न।”

रातको नौ बजिसकेको थियो। बैठक कोठाको एक कुनामा बूढा अलग–थलग टेलिभिजनमा समाचार हेर्दै थिए। समाचारमा कोरोना–कहर प्रसारण भइरहेको थियो। उनी अनिमेष नेत्रले खबरमा डुब्दै थिए। ‘कोभिड–१९ कोरोना भाइरसका कारणले विश्वमा मृतकको संख्या, नेपाल पनि यसको उच्च जोखिममा, विश्व स्वास्थ्य संगठनद्वारा गम्भीर चिन्ता व्यक्त, भोलिको मितिदेखि १५ दिनसम्म देशभरि नै लकडाउन कडाइसाथ पालना गराउने सरकारद्वारा सूचना जारी।’

अचानक उनको देब्रेपट्टिको छाती चसक्क चस्किँदै गयो। उनी रन्थनिए र जीउलाई खुम्च्याएर कक्रक्क पारे। पीडा बढ्दै गयो। दायाँ हातले आफ्नो छाती चपक्क समात्दै र आफूलाई सम्हाल्न खोज्दाखोज्दै कृष्णहरि डङ्रङ्ग भुइँमा ढलिसकेका थिए। सबैको कोलाहल उनीतर्फ पुग्दा मृत्युको सघन छायाँ ओढ्दै भन्न भ्याए, ‘कोरोना भाइरस, कोभिड १९।’

लास सबै जलेर खरानी भइसक्दा उसले भन्यो, ‘सबै जलेर सकिसक्यो। अब घर जाऔँ।’ अगाडिको रुखमा अघिको कौवा बसेर एक सुरले कराउन थाल्यो, ‘का, का, का।’ तर, यसबेला धपाउने कोही थिएन। काग कराइरह्यो, ‘का, का, का।’ घाटे पुरेतले सुस्केरा हाल्दै तातो अन्तिम खरानी नदीमा मिल्काए, ‘ख्वोपल्याङ्ग, छ्याइइअअ।’ कात्रोमा मात्र हैन, मास्कमा पनि खल्ती हुँदैन रहेछ। 

[email protected] 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.