निवेदन
यो एउटा घटनाको विवरण मात्र हो। कथा होइन। किन होइन भने एउटा रोचक कथाका लागि आवश्यक गुण, शैली र शिल्प यसमा नभेटिन सक्छ। हैन, यसमाथि एउटा राम्रो आख्यान बन्न सक्ने सम्भावना छ भनी ठान्ने हो भने यो कुनै कथाका लागि कच्चा पदार्थ चैँ अवश्य हो। जस्तो, कहिलेकाहीँ लेखकहरूले आफूले लेखेको कथा ९५ प्रतिशत सत्य छ भनी दाबी गरेको सुन्न पाइन्छ। म पनि यो घटनाको सन्दर्भमा त्यही दाबी गर्छु।
लेखक न्यायाधीश त होइन। तर पनि भन्ने गरिन्छ कि उसले चरित्र र विषयवस्तुउपर न्याय गर्न सक्नुपर्छ। यो घटनाका सन्दर्भमा मैले त्यस्तो न्याय गर्नु सकुँला जस्तो लागेन। किनभने यता ‘न्याय’ गर्ने चक्करमा उता घटनाको सत्यता ९५ बाट घटेर ५ मा पुग्ला भन्ने डर भयो। मलाई त्यस्तो ‘न्याय’ गर्न मन लागेन। बरु, यो घटनालाई टिपेर देशका कुनै कुशल कथाकारले एउटा दमदार कथा लेखिए हुन्थ्यो भन्ने चैँ अवश्य लाग्छ।
यसर्थ म खुला आह्वान गर्न चाहन्छु। जुन विवरणलाई म यहाँ सरसर्ती प्रस्तुत गर्न गइरहेको छु, यसको सर्वाधिकार अर्थात् कपिराइट कोही कसैमा निहित छैन। यो सार्वजनिक छ। स्वतन्त्र छ। लेख्न सक्ने जोसुकैले पनि यसलाई मिलाएर वा बंग्याएर समेत कथा, उपन्यास, नाटक जे इच्छा लाग्छ लेखून् भन्ने कामना गर्छु।
एकजना वकिल हुन्छ। यसो गरौँ, उसको नाम रत्नाकर राखिदिऊँ। रत्नाकर वकिल आफ्नै ल फर्ममा व्यस्त हुन्छ। सदाझैँ ऊ मुद्दाका फाइलहरूमा घोत्लिरहेको हुन्छ। त्यसै बखत एक युवती उसको ल फर्ममा प्रवेश गर्छे। त्यो युवतीको नाम जानकी राखिदिऊँ। साथमा उसका जुम्ल्याहा बच्चा पनि हुन्छन्। उनीहरूको नाम लव र कुश राखिदिऊँ। जानकीको पतिको नाम पनि राजाराम राखिदिऊँ।
एकछिन् है ! यहाँ मैले आफ्नो सुविधाका लागि रामायणका पात्रहरूको नाम राखेको हुँ। यदि तपाईंलाई यसले कुनै धार्मिक, सामाजिक वा राजनीतिक रूपमा असुविधा हुन्छ भने पछि तपाईंले आफ्नो सुविधाअनुसार यी पात्रका नाम परिवर्तन गर्न सक्नुहुन्छ।
अँ त म भन्दैछु, ती युवती अर्थात् जानकीले वकिल रत्नाकरसँग भन्छे, ‘वकिल साप ! डिभोर्स गर्नपर्यो।’ युवतीको पहिलो वाक्य नै यही हुन्छ। जुन वाक्य वकिलका लागि न पहिलो न त नौलो नै हुन्छ। र त्यो वाक्यमा मिसिएको भय, पीडा र आक्रोशको आर्तनादसँग ऊ वर्षौँवर्षदेखि अभ्यस्त छँदै छ।
यसपछि वकिल रत्नाकरले मुद्दाका फाइलहरूबाट आफ्नो ध्यान हटाउँछ र युवतीतर्फ हेर्छ। देख्छ, युवती जानकीको मुख सुन्निएको छ। अझ देब्रेतर्फको आँखा त झन् रगतै झर्लाजस्तो गरी रातो पो छ। कुल मिलाएर पानी पर्नलाई ठिक्क परेको आकाशजस्तो छ उसको अनुहार। युवतीको अवस्था हेरेर रत्नाकरले केही अनुमान त अवश्य लगाइसकेको हुन्छ। र पनि बोल्नुअघि एकफेर राम्ररी सोध्नु एउटा असल वकिलको गुण हो भन्ने कुरालाई सम्झेर उसले युवतीलाई डिभोर्स गर्नुपर्ने कारणबारे सोध्छ।
वकिलले अनुमान लगाएअनुसार नै जानकीले जवाफ दिन्छे। उसको अनुहारमा परेका चोटहरू उसकै पतिले प्रेमको बदलामा घृणाले दिएको सांघातिक उपहार हुन्छ। विगत केही समयदेखियता पति राजारामसँग उसको सम्बन्ध ध्वस्तै छ। राजारामले जानकीको चरित्रमाथि प्रश्न उठाउँदै तथानाम गाली र हातपात समेत गर्दै आएको हुन्छ।
छिमेकी सुन व्यवसायी दशाननसँग जानकीको लसपस छ भनेर नजिकैको लाउन्ड्री दुकानमा काम गर्ने व्यक्तिले राजारामको कान फुक्ने गरेको हुन्छ। त्यही निहुँलाई लिएर राजारामले जानकीमाथि जाइलाग्ने गरेको हो। तर यो आरोपलाई जानकी ठाडै अस्वीकार गर्छे। बरु राजाराम नै अचेल सुपर्णखा नाम गरेकी केटीसँग लहसिएको कुरा चैँ साँचो हो भन्छे। यही कुराले यी दम्पतीको गृहस्थलाई नरक बनाएको छ।
राजारामले दिएको यातनाविरुद्ध जानकीले समाजका भद्रभलाद्मीलाई जोड्नेदेखि लिएर प्रहरी चौकीमा शिकायत दर्ज गर्नेसम्मका अनेक उपक्रमहरू गरिसकेकी हुन्छे। तर ती सबै उपक्रमहरूको निचोड मेलमिलापमा गएर टुङ्गिन्छ। र त्यो मेलमिलापमा हार्दिकताभन्दा बढ्ता सामाजिक दबाबको भूमिका ज्यादा हुन्छ। हरेक पटक राजारामले अब उप्रान्त पत्नीलाई यसप्रकारले कुट्नेछैन भनी कसम खान्छ। तर भोलिपल्टैदेखि पत्नीलाई अर्कै प्रकारले कुट्न थाल्छ।
यसरी राजारामको अति मात्र हैन, अत्याचारबाट आजित भएर जानकी कानुन व्यवसायी रत्नाकरको शरणमा आएकी हुन्छे। जानकीले रुँदै भन्छे, ‘वकिल साप, मेरो ज्यान र यी दुई लालाबालाको भविष्य जोखिममा छ। म ऊसँग छुट्टिएर बस्न चाहन्छु। मलाई जतिसक्दो छिटो पार लगाइदिनुस्।’
वकिल रत्नाकारले पार लाउने कुरामा ढुक्क हुनुस् भन्दै जानकीलाई सान्त्वना दिन्छ। र जानकीसँग मुद्दा गर्नका लागि आवश्यक पर्ने कागजपत्रहरू जस्तै नागरिकता, विवाह दर्ताको प्रमाणपत्र र फोटो इत्यादि माग्छ।
जानकीबाट बुझेको कागजपत्रलाई एकएक गरी केलाएपछि वकिलले यसो भन्छ, ‘नागरिकता अनुसार तपाईंको ठेगाना जनकपुर रहेछ। तपाईंको पतिको स्थायी ठेगाना, विवाह दर्ता र छोराहरूको जन्मदर्ता समेत उतैको रहेछ। यहाँ अहिले कहाँ बस्नुभएको छ ?’
‘यहीँ पोखरा वडा नं. ३६ मा बस्छु।’ जानकी भन्छे।
‘त्यसो भए तपाईंसँग दुइटा विकल्प छन्। या त तपाईं जनकपुर गएर धनुषा जिल्ला अदालतबाट मुद्दा गर्नुपर्छ। हैन, यदि यहीँबाट मुद्दा गर्ने हो भने तपाईं अहिले बसोबास गरेको पोखरा वडा नं. ३६ बाट बसोबासको सिफारिस ल्याउनुपर्ने हुन्छ।’
‘म जनकपुर जान सक्दिनँ वकिल साप। जातेआते भाडा खर्च व्यहोर्न मसँग त्यति पैसा पनि छैन। त्यहीमाथि यी लवकुश पनि सानै छन्। बरु तपाईँले फिस पो कति लिनुहुन्छ ? म अहिले तिर्न नसके पनि पछि जागीर गरेर भए पनि चुक्ता गर्छु।’
वकिलले जानकीको समस्या बुझ्छ र भन्छ, ‘त्यो त हो नै। भोलि तारिख धान्न पर्छ। फैसला हुँदासम्म वारिसै राखे पनि खर्च त हुन्छ नै। बरु यहीँबाट मुद्दा गर्दा वकिलको लाग्ने फिस म लिन्नँ। मेरो तर्फबाट तपाईंलाई निःशुल्क भो।’
जानकी स्वाभिमानी भई भन्छे, ‘तपाईंलाई धेरै धन्यवाद सर। तर मलाई निःशुल्क गर्नु पर्दैन। तपाईँ आफ्नो फिस टिपेर राख्नुस्, पछि म कमाएर दिन्छु। अहिले मसँग यति पैसा छ, यो लिइराख्नु।’ यति भन्दै जानकीले आफ्नो ब्यागबाट नोटको मुठ्ठा निकालेर वकिलको टेबलमा राखिदिन्छे। कुनै मन्दिरमा भेटीस्वरूप चढाएको जस्तो लाग्ने त्यो मुठ्ठामा यस्तै पाँच, दश र बीस रुपैयाँका नोट मात्रै ज्यादा हुन्छन्। त्योभन्दा ठूला नोट हुँदैनन्।
‘कहाँबाट ल्याउनु भयो, यस्तो खुजुरा पैसाहरू ?’ वकिलले सोध्छ।
‘लवकुशले चाडबाडमा पाएको दक्षिणा भुड्कोमा सँगालेको पैसा हो। आज मात्रै फुटाएर ल्याएकी हुँ। कति छ कुन्नि, गनेको पनि छैन।’ जानकीको जवाफ सुनेर वकिल भावुक हुन्छ र ‘भो, यी देउताजस्ता बच्चाको पैसा म लिन्नँ’ भन्छ। तर जानकी हठ गर्छे र भन्छे, ‘मैले नि यिनको पैसा सापटी स्वरूप लिएकी हुँ, पछि एकएक गरी चुक्ता गर्छु।’
जानकीको स्वभिमानलाई कदर गर्दै वकिलले ‘त्यसो भए अहिलेलाई कागज टाइप गर्दा लाग्ने खर्च मात्र दिएर जानुस् !’ भन्छ। जानकी टाइपिस्टलाई खर्च दिन्छे। त्यसपछि पोखराकै कास्की जिल्ला अदालतबाट मुद्दा गर्ने निश्चय गरी वकिल भन्छ, ‘अब तपाईं पहिला वडामा गएर बसोबास सिफारिसको कागज ल्याउनुहोस्। भोलि फिराद टाइप गरेर तयार हुन्छ। र भोलि नै मुद्दा दर्ता गरौँला।’
अवसादपूर्ण अन्धकारबीच पनि थोरै आशा र प्रसन्नताको जूनकिरी उज्यालो मनमा साँचेर जानकी फर्किन्छे। वकिलले बताएअनुसार नै ऊ बसोबासको सिफारिस लिन पोखरा वडा नं. ३६ को कार्यालय पुग्छे। पहिला त वडाको कर्मचारीले आफैँ ‘न्यायाधीश’ भएर उनलाई आफ्नै स्थायी ठेगाना भएको धनुषा जिल्लामा गएर मुद्दा गर्नु भन्छ। तर, ‘कानुनबमोजिम वकिलले यहीँबाट मुद्दा गर्न सकिन्छ भनी बताएको’ कुरा जानकीले जिकिर लिन्छे। त्यसपछि कर्मचारीले ‘यहाँ कसको घरमा बस्नुहुन्छ, घरबेटीको लालपूर्जा सहितको निवेदन लिएर आएपछि हामी सिफारिसपत्र बनाइदिन्छौँ’ भन्छ।
त्यसपछि जानकी घरबेटीकहाँ गएर निवेदन बनाइदिन अनुरोध गर्छिन्। तर घरबेटीले हामी यस्तो मुद्दा मामिलामा फस्न चाहन्नौँ। कानुनको कुरा हो, पछि हामीलाई अनेक झन्झट हुनसक्छ भनी निवेदन बनाइदिन इन्कार गर्छन्। जति सम्झाउन खोजे पनि मान्दै मान्दैनन्। कालो मसी भनेपछि सबैको सातो जाने।
जानकीले यो कुरा वकिललाई भन्छे। वकिलले त्यहाँको वडाध्यक्ष, जसको नाम कुम्भकर्ण राखौँ, लाई फोन गरेर ‘तपाईँको वडामा बस्दै आएकी जानकीले अस्थायी बसोबासको सिफारिस मागेकी छिन्। घरबेटीले कुरा नबुझेर वा बुझ्न नचाहेर निवेदन बनाइदिन मानेको छैन। बरु जो बुझ्नु छ सो बुझेर कानुन बमोजिमको रीत पुर्याइ सिफारिस दिनुहोला’ भनी अनुरोध गर्छ। तर वडाध्यक्ष कुम्भकर्णले ‘कुनै कागजी प्रमाणहरूसहितको निवेदनविना आधारहीन भएर सिफारिस दिन सक्दिनँ’ भनी जवाफ फर्काउँछ। ‘मैले प्रमाण कागज चाहिँदैन भनेको छैन, मान्यवर !
जानकी तपाईँको वडामा बस्छिन्, यो कुरा सत्य हो जो तपाईँ स्वयंलाई थाहा छ। घरबेटीलाई तपाईँले सम्झाएर हुन्छ वा अरु कुनै तरिकाले हुन्छ, केही उपाय त गर्दिनुपर्यो नि। मैले हुँदै नभएको झुठा र कानुनविपरीत हुने कुरा गर्नु त भनेको छैन नि, यो त कानुनबमोजिम उसले पाउने अधिकार हो। र सिफारिसपत्र बनाइदिनु तपाईंको दायित्व हो।’ वकिलले फेरि जोड गर्दै भन्छ, ‘धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३६ बस्ने वर्ष २८ की जानकी भन्ने व्यहोराको एउटा सिफारिस कागजमा मसी चुहाउन यत्रो महाभारत हुनु नपर्ने हो।’
त्यसपछि वडाध्यक्ष अलिकति गल्छ र भन्छ, ‘त्यसो होइन वकिल साप, जानकी यहाँ बस्छिन् भन्ने कुरा एकदमै सत्य हो। त्यो म राम्ररी जान्दछु। बरु एउटा उपाय के गर्न सकिन्छ भने उनी बस्ने गरेको घरबेटीले निवेदन दिन नमाने पनि यस वडाको कुनै स्थायी बासिन्दाले मेरो घरमा बसोबास गरेको छ भनी निवेदन गरेमा म कागज बनाइदिन तयार छु।’
त्यसपछि जानकी वरपरका वडावासी घरधनीसँग निवेदनका लागि सहयोग माग्न जान्छे। तर सबैतिरबाट उही ‘मुद्दा मामिलाको कुरा रहेछ, भो हामी यस्तोमा फस्न चाहँदैनौँ !’ भन्ने नै जवाफ आउँछ। कतिले त घरभाडा कर बढी तिर्नुपर्छ भनेर पनि तर्किन्छन्। वडाबासी कसैले पनि जानकीको निवेदनका लागि सहयोग गर्दैनन्।
जानकी निराश भई कोठामा फर्किन्छे। कोठामा आउँदा राजारामले घरबेटीबाट जानकीले मुद्दा हाल्न लागेको कुरा थाहा पाउँछ। त्यति भएपछि उसलाई अरु के चाहियो र ?
‘अब मसँग पारपाचुके गरेर त्यै नाठोसँग जाने भइस्, तँलाई त अब म नमारी छोड्दिनँ’ भन्दै जानकीमाथि खनिन थाल्छ। राजारामका हात, खुट्टा र मुख तीनै थोक जोडकातोड गर्दै चल्छन्। ठाउँ कुठाउँमा बज्रिएको प्रत्येक प्रहरमा जानकी चित्कार्छे। ‘बाबा, ममीलाई नपिट्नु न’ भनी लवकुश रुँदै गुहार्छन्।
माथि तल्लामा बस्ने घरबेटी चैँ ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भन्ने गुरुमन्त्रलाई आत्मसात् गरेर चुपचाप रमिता ठानेर मौन बसेका हुन्छन्। तर, धन्न वरपरका घरभाडामा बस्ने छिमेकीहरू भने मौन बस्दैनन्। उनीहरू आएर हस्तक्षेप गरेपछि चैँ राजारामले मच्चाएको त्यो रातको रडाको शिथिल हुन्छ।
यस्तै शिथिलतामा बित्छन् केही थान रात अनि दिनहरू पनि। बितेका यी दिनहरूमा जानकीले न वडाको सिफारिसका लागि प्रयत्न गर्छे, न त वकिलको सम्पर्कमा नै आउँछे। वकिलले पनि जानकीलाई सम्झिएर पटकपटक फोन सम्पर्क गर्ने प्रयास पनि गरेको हुन्छ। तर त्यो प्रयासले कुनै सफलता पाउँदैन।
यस्तै यस्तैमा थप केही दिन बित्छन्। र एक दिन अखबारमा यस्तो व्यहोराको समाचार छापिएर आउँछ, जसलाई रत्नाकर वकिलले गम्भीरतापूर्वक पढ्छन् ः
‘धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३६ बस्ने वर्ष २८ की जानकी नाम गरेकी युवती आफू बस्दै आएको कोठामा मृत अवस्थामा फेला परेको कुरा जिप्रका कास्कीका प्रहरी निरीक्षक पवनपुत्रले बताएका छन्। उनले यो हत्या हो वा आत्महत्या अहिले यसै भन्न नसकिए पनि यसबारे व्यापक अनुसन्धान हुने कुरा बताए। सोही वडाका वडाध्यक्ष कुम्भकर्णले भने, ‘मृतक जानकी विगत सात वर्षदेखि हाम्रै वडा नं. ३६ मा आफ्ना पति राजाराम र दुई नाबालक पुत्रहरू लवकुशका साथमा बस्दै आएको कुरा ठीक साँचो हो।’
त्यतिमात्रै होइन, पोखरा वडा नं. ३६ मा जानकीको बसोबास गर्दै आएको व्यहोरा उल्लेख भएको घटनास्थल र लाशको प्रकृति मुचुल्कामा कुम्भकर्णले वडाध्यक्षको हैसियतमा हस्ताक्षर गरेको हुन्छ। हस्ताक्षर गर्नुअघि उसले मृतक जानकीसँग लालपुर्जासहितको घरबेटीको निवेदन खोज्दैन। जो जिउँदो हुँदा खोजेको थियो।
पोखरामा रहेर नाटक, आख्यानादि लेखिरहेका @deepak_para अधिवक्ता हुन्। उनी पृथ्वीनारायण कलेजका अध्यापन पनि गर्छन्।