चौबीसै घण्टा महामारीका समाचार सेवन !
- मम्मी ! एउटा कुरा भनौँ ?
- हामी अब कम से कम एक हप्ता कोरोना भाइरसका बारेमा कुरा नगरौँ है, प्लिज ?
- मैले न्युजहरू पनि फलो गरिरहेको छैन, त्यसैले हजुर पनि मलाई कोरोना भाइरसले भएका मृत्यु अनि त्यसबारेका दुःखी समाचारहरू नसुनाउनुस् है ?
यो केही समय अगाडि मैले मेरो मम्मीसँग फेसबुक मेसेन्जर कलमा गरेको कुराकानीको एउटा अंश हो। त्यो समय, जुन बेला कोरोना भाइरसले विश्वका सबै कुनामा आफ्नो जाल फैलाइसकेको थियो र हामी लकडाउनमा बसेको पनि पचास-पचास दिन नै भइसकेको थियो। अहिले पनि हामीमध्ये धेरैजसो घरभित्रै छौँ र तुलनात्मक हिसाबले हाम्रो हातमा धेरै समय खाली छ।
हरेक बिहान आफ्नो आँखा र चेतना खुला भएदेखि राति ननिदाएसम्म हामी आफ्नो साथमा रहेको त्यो ‘ओवर स्मार्टफोन’को स्क्रिनमा आँखा टसाइरहेका हुन्छौँ। पूरा समय स्क्रिन स्क्रोल गर्दै आफ्नो इन्टरनेट साक्षरताप्रति गर्व गरिरहेका हुन्छौँ। तर, हामीले दैनिक इन्टरनेटमा हेर्ने र पढ्ने जानकारीमूलक सामग्रीहरूमध्ये अधिकांश कन्टेन्टले हाम्रो मानसिक र भावनात्मक स्वास्थ्यलाई डरलाग्दो तरिकाले नोक्सान गरिरहेको छ भन्ने तथ्यबारे हामी सायदै सचेत छौँ।
नेगेटिभ एनर्जी छिटो फैलने तथ्यको गलत फाइदा उठाएर डर, त्रास, चिन्ता, घृणा, पीडाजस्ता इमोसन फैलाउने समाचार र अरू जानकारीलाई बढाइचढ़ाई पस्कने कैयौँ कन्टेन्ट उत्पादक र प्रकाशक-प्रसारक, अनि त्यही सामग्रीलाई आफ्नो आधारभूत आवश्यकता मानेर हरेक मिनट आफ्नै मन र मस्तिष्कलाई गलत पोषण दिइरहने हामी सोसल मिडिया प्रयोक्ताबीचको होडबाजीकै कारण यसको सीधा असर हाम्रै मानसिक र शारीरिक दुवै स्वास्थ्यमा परिरहेको छ भन्ने कुरालाई नकार्न सकिँदैन।
हरेक मिनेट, इन्टरनेटबाट जानकारीको एक ठूलो हिस्सा हाम्रो दिमागमा प्रवेश गर्छ। हामी यसबारे सोच्छौँ। यसबारे कुरा गर्छौं। फेरि यसैबारे सोच्छौँ। हामी डर र उत्कण्ठाको यो भूमरीमा बाँचिरहेका छौँ जसले केवल हाम्रो मनको शक्ति नष्ट गरिरहेको छ।
केही समय दैनिक समाचार र सूचनामूलक कन्टेन्ट नहेर्ने र नपढ्ने मेरो प्रयोगभन्दा अगाडि मेरो सोसल मिडिया फिडमा त्रासदीपूर्ण माहौल थियो। बिहान उठेर मैले फोनमा समाचारहरू खोल्नु पनि पर्थेन। स्क्रिनमा टाँगिएका दर्जनौँ नोटिफिकेसन्स् देखेरै मलाई थाहा हुन्थ्यो, कहाँ कति हस्पिटलाइज्ड, घाइते, मृत्यु भयो र कहाँ कति क्षति भयो। यस्ता समाचारहरू मात्र होइन, डर र चिन्ता पनि मेरो दिनका स्टार्टर हुन्थे।
डर, त्रास, चिन्ता, घृणा, पीडा फैलाउने सामग्री सेवन गर्न किन हामी प्रत्येक सकेन्ड तयार ? गलत पोषणले हाम्रो मानसिक र शारीरिक स्वास्थ्य संकटमा पर्दो छ है।
एक दिन मैले युट्युबमा अन्तर्राष्ट्रिय आध्यात्मिक वक्ता सिस्टर शिवानीको एउटा भिडियो हेरेँ, जुन यस कोरोना महामारीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा थियो। मनमा कम क्वालिटी (लो एनर्जी भाइब्रेसन)को सूचना आवश्यकताभन्दा बढी भर्नुले मानसिक, शारीरिक स्वास्थ्य र इम्युनिटी सिस्टममा कसरी गलत प्रभाव परिरहेको छ भन्ने कुरालाई उहाँले प्रस्ट तरिकाले कैयौँ उदाहरण दिएर व्याख्या गर्नुभएको थियो।
हामी हात धुने, मास्क, स्यानिटाइजर प्रयोग गर्ने र शरीरमा भाइरस छिर्न नपाओस् भन्नेबारे त सचेत छौँ तर मन मस्तिष्कमा नेगेटिभ एनर्जीरूपी भाइरस पस्नबाट रोक्न कत्तिको सचेत छौँ त ? आखिर मानसिक र भावनात्मक स्वास्थ्य पनि सम्पूर्ण स्वास्थ्यकै एक महत्वपूर्ण हिस्सा हो।
साइको (न्यूरो) इम्युनोलजीमा भएका कैँयन् अनुसन्धानले देखाएअनुसार मनमा भरिने नकारात्मक ऊर्जाले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। सन् २०१८ मा प्रकाशित ‘इम्युन सिस्टम र मानसिक स्वास्थ्य’ नामको पुस्तकमा पनि मन र शरीरका क्रियाकलाप कसरी एकअर्कासँग जोडिएका छन् भन्ने कुरालाई विस्तृत रूपमा दर्साइएको छ। ब्रेन (मस्तिष्क)मा पर्ने बाहिरी प्रभावले हाम्रो शरीरको गट (आँत जसलाई सेकेन्ड ब्रेन भनेर पनि भनिन्छ)लाई निरन्तर असर गरिरहेको हुन्छ भन्ने तथ्य सो पुस्तकमा उल्लेख गरिएको छ। कमजोर प्रतिरक्षा प्रणालीलाई कुनै पनि प्रकारको भाइरसले छिटो र भयानक तवरले आक्रमण गर्ने कुरा त सर्वविदितै छ।
कोरोना भाइरसको प्रसंगमा आफ्ना केही अनुभव सुनाउन चाहन्छु।
उल्लिखित कुराहरूलाई विचार गर्दै करिब एक महिना अगाडि मैले कोरोना भाइरससम्बन्धी समाचारहरूबाट केही समय टाढा रहने निर्णय गरेँ। सबैभन्दा पहिले मैले आफ्नो मोबाइलमा न्युज नोटिफिकेसन्स सबै बन्द गरेँ। त्यसपछि ट्रेडिङ समाचारहरू पढ्ने र हेर्ने बानी ९५ प्रतिशतले कम गरेँ। यसको मतलब करिबकरिब बन्द नै गरेँ। एक हप्ताको यस्तो प्रयोगपछि मैले आफूलाई नौलो अनुभव भएको पाएँ। विश्वमा कोरोना भाइरसले गर्दा के कति मानव क्षति भयो, त्यसबारे म अनभिज्ञ थिएँ। मेरा सोसल मिडिया फिडमा साथीभाइ अनि आफन्तका खुसीले भरिएका ‘लकडाउन फोटोहरू’ मात्र थिए। ‘गोल कास्ट’का प्रेरणादायी भिडियोहरू थिए। पढेर दुःखी हुनेजस्ता कन्टेन्ट सामग्री मेरो स्क्रिनसम्म आइपुग्नबाट रोकिएको थियो।
संसारभरि कोरोना भाइरस नामको महामारीले आतंक फैलाइरहेको छ भन्ने कुरा थाहा भए पनि दैनिक अपडेटहरू थाहा नहुँदा, सबै राम्रै चलिरहेको छजस्तो लाग्थ्यो। मलाई डर-त्रासको अनुभव कत्ति पनि भएन। लकडाउनमा भए पनि लामो छुट्टीमा छु भन्ने लाग्यो। इन्टरनेट प्रयोगको अधिकांश समय ‘मेडियम’ र ‘क्वोरा’जस्ता प्लेटफार्ममा बित्न थाल्यो, दैनिक रुटिनमा मनन गर्नका लागि मसँग ऊर्जाशील कन्टेन्टहरू थिए।
समाचार र घटनाहरूबारे अद्यावधिक रहनु एकदम सही र आवश्यक कुरा हो। तर, एउटा कुरा विचार गरौँ, कोरोना भाइरसको अपडेट या अन्य जानकारी प्राप्त गर्न कति समय लाग्छ, १० मिनट, आधा घण्टा या एक घण्टा ? दिनभरि एकै खाले, त्यो पनि चिन्ता, डर, निराशा फैलाउने समाचार हेरेरै या पढेरै बसिरहनुपर्ने आवश्यकता छ ? वा कत्तिको छ ?
न्युज फिडहरू स्क्रोल गर्दै गर्दा के हामी आफ्नो मानसिक र भावनात्मक स्थिरताबारे उत्तिकै सचेत छौँ ?
हामी आफ्नो वरपरको परिस्थिति र घटनालाई नियन्त्रण गर्न सक्दैनौँ। तर, आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको जिम्मेवारी भने पक्कै लिन सक्छौँ। विश्व स्वास्थ्य संगठन र सबै देशका सरकारले अहिले हामीबाट अपेक्षा गरेको पनि यही हो।
तनको स्वास्थ्यको साथसाथै मनको स्वास्थ्यलाई पनि उत्तिकै महत्व दिऊँ र आफ्नो ख्याल राखौँ। आखिर हामी सबै छिटोभन्दा छिटो आफ्नो घरको ढोका खोलेर खुला आकाशमुनि श्वास लिन चाहन्छौँ। विनाकुनै चिन्ता, विनाकुनै डर। होइन र ?
(विश्वकै चर्चितमध्येको एउटा भाइरल कन्टेन्ट उत्पादक वेबसाइट विटीफिडकी पूर्व प्रधानसम्पादक @leenachitwan हाल www.leenachitwan.com मार्फत सक्रिय छिन्।)