युवाहरूको गीत
‘आई डन्ट ह्याभ इन्ट्रेस्ट इन पोलिटिक्स।’
‘प्रेम र यौनमा बढी लिप्त’ युवा समूह समाजको कुन दिशातर्फ उन्मुख हुँदै छ भन्ने कुरा अन्योलमा छ। एसएलसी–एसईई पास गरेपछि प्लस टु अनि ब्याच्लर्सको संघारसम्म आइपुग्दा आजको युवा समूह नेटप्mिलक्समा रम्न थाल्यो। रंगीन जिन्दगीको झन् रंगीन सपनामा रुमल्लियो। अझ भनौँ, सपनाको संसार विपनाको यथार्थभन्दा निकै रमाइलो मान्न थाल्यो।
यो सबै भइराख्दा देश कता जाँदै छ र भविष्य कस्तो हुन्छ भन्ने विषयमा रुचि नै भएन। त्यसैले पनि ४५ वर्षका मानिसहरू युवा नेता भइदिए। र, ७० वर्ष पुग्दासम्म पनि देउवाजीहरू बा, हजुरबा भएनन्, केवल दाइ भए। ७० वर्षे यस्ता थुप्रै जी, जस्तै वामदेवजी, रामचन्द्रजी, बादलजी, महन्थजी, कमल थापाजीहरूजस्ता ‘दोस्रो पुस्ता’का किशोर नेताहरूलाई कार्यकारीका रूपमा हामीले भोग्नै बाँकी छ।
युवा समूह किन राजनीति र समाजबाट यति टाढा रहन खोज्यो त ?
बीपीजस्ता नेता थिए, र पो हाम्रा हजुरबुवाहरू कांग्रेस भइदिए। मदन भण्डारी, पुष्पलाल र मनमोहन अधिकारीजस्ता नेता थिए, र पो हाम्रा बाहरू कम्निस्ट भइदिए। अहिले न कोही लायक छन्, न भरलाग्दा। हामी केलाई अझै कांग्रेस, कम्निस्ट, राप्रपा वा ढिस्कानो–फिस्कानो भनिरहेछौँ ?
मलाई थुप्रै प्रश्नहरूले हिर्काए। ती प्रश्नहरू मनका चार भित्ताहरूमा यसरी ठोकिइरहे कि त्यसको उत्तर भेटाउन सकिएन। त्यसबखत मलाई थाहा भयो, मनका पनि कोठाहरूझैँ चारवटै भित्ता हुँदा रहेछन्। जति ठोकिन्थे, त्यति नै पोलिरहन्थ्यो। त्यसै बेला युवा जमातका तस्बिर तिनै कोठामा नाच्न थाले। नाचहरू मन नपर्ने पनि हैन। तर त्यो नितान्त संगीतबिनाका झाँकीहरू थिए।
नेपाली युवा जमात आखिर नेपाली राजनीतिको पाटो बन्न सक्छ कि सक्दैन ? यो प्रश्न जति विचारयोग्य हो, त्यो भन्दा पनि डरलाग्दो देशको कारुणिक प्रश्न।
म युवा हुँ वा किशोर, थाहा छैन। तर, राजनीति र समाजबारेको मेरो चिन्ता र चासो चिन्तनको विषय अवश्यै हो। यो देशको भूगोलभित्र अटाएपछि म यसको दुःख वा सुख दुवैको हिस्सा हो। साथीभाइको जमात र धेरै युवा पिँढीको आकाङ्क्षा विदेशको चिल्ला सडक, अग्ला भवन र कुशल भविष्यको मात्र भइसकेपछि देशको भविष्य निकै धमिलो लाग्न थाल्छ। धमिलिएको वर्तमान रहेको मुलुकमा त्यही धमिलो भविष्य पनि नदेखेपछि थप दिक्दारी पैदा हुन्छ।
भट्टी पसलकी लाचार साउनी भए– जनता। र, त्यहाँका सदाबहार जँड्याहा ग्राहक भए– नेताहरू। साउनीले जति सरापे पनि जँड्याहाहरूलाई अन्ततः रक्सी खुवाउँछे नै।
हिन्दी चलचित्र नायकमा परेस रावल भन्छन्, ‘सब नो जवान राजनीतिको नाली समज्ते है। कोही नही चाहता कि ये नालीको साफ भी करा जा सक्ता है। सब के सब भाग जाते है। इस लिए देश कभी बन्ता ही नही।’ यो भनाइ नेपाली राजनीतिको परिपे्रक्ष्यमा कति सान्दर्भिक छ भन्ने कुरा अनुमान गर्न खास गाह्रो हुँदैन पनि।
सायद नेपाली युवाहरू पनि यही परिभाषाभित्र अटाए र देशको रूपान्तरण सम्भव नै भएन। भट्टी पसलकी लाचार साउनी भए– जनता। र, त्यहाँका सदाबहार जँड्याहा ग्राहक भए– नेताहरू। साउनीले जति सरापे पनि जँड्याहाहरूलाई अन्ततः रक्सी खुवाउँछे नै। त्यस्तै हामीले नेतालाई जति सरापे पनि अन्ततः भोट हाल्छौँ नै।
एक माहोलमा राजनीति छिर्छ। राजनीतिसँगै छिर्छ, यसका थुप्रै पाटाहरू। देश विकासका सुनौला सपनाहरू। नेतृत्वको कडा आवाजहरू। तर, त्यसमा युवाको उपस्थिति छिर्दैन। जब देशका युवाहरू अन्यत्रमा व्यस्त भइदिन्छन्, तब पानीबाट निकालिएको माछाझैँ देश, राजनीति अनि समाज पनि फत्रकफत्रक गर्न थाल्छ। यो वास्तवमै निकै दुखद् यथार्थ हो।
जब बर्डभाइजरका हातहरू देश विकासको कोदाली बन्छ, जब हेनिकन उचालेका युवाहरूले नेतृत्वको पाइला उचाल्छन्, तब मात्र यो देशमा समृद्धि हेरेर मर्ने सपना साकार हुनेछ। अन्यथा प्रजातन्त्र आएपछि मरेका बाउ र छोराबीच भिन्नता भेट्न साह्रै गाह्रो हुनेछ।
अखबारी लेखनले देशका केही अजेन्डाहरूमाथि प्रश्न उठाउँछन्। नेताहरूलाई खबरदारी पनि गर्छन्। तर, अब बेला आएको छ प्रश्न र खबरदारीबाट पनि माथि उठेर युवाहरूलाई हौस्याउने। मोर्डन सोसल स्टडिजका पानाहरूले मलाई दाइजो प्रथा गलत भन्न सिकायो। अन्धविश्वासी कदम रोक्नुपर्छ भनेर पनि सिकायो। भेदभाव बन्द हुनुपर्छ भनेर पनि नसिकाएको हैन।
तर, यसले कसरी रोक्ने र बन्द गर्ने सिकाएन। सायद त्यसैले पनि यो युग र ढुङ्गे युगबीचको फरक छुट्याउने सामथ्र्य ममा छैन। कसरी भनौँ म, ए प्रिय पाठकहरू ! प्रजातन्त्र–लोकतन्त्र–गणतन्त्र–समाजवाद आयो भनेर। जब यो मोर्डन सोसल स्टडिज पढेको मान्छेले प्रेममा सहिद भएका नवराज विकहरूलाई सम्झन्छ। जब छाउपडीको असीमित पीडालाई सम्झन्छ।
प्रिय पाठकहरू ! कहिले शरीर गलेर फत्रक्क हुन्छ। कहिले आङ जिरिङ हुन्छ। लेख्न बस्दा भावहरू त्रिशुलीमा र्याफ्टिङ गर्दा उछिट्टिने छिट्टाझैँ आउँछन्, तर ती नितान्त आँसुका छिट्टा बनिदिन्छन्। त्यसैले पनि सायद कालान्तरबाट कोही बोलेको आवाज मलाई आइरहन्छ, ‘जाग, लम्क, चम्क हे नौ जवान हो...।’
यतिबेला जब देश कोभिडको कहरबीच छ, सब चिज ठप्प छ। चलायमान रहिरहेको छ, त बस् राजनीति। नक्सा, सीमा, भ्रष्टाचार, कार्पेट आदि इत्यादिले देश निकै चलायमान छ।
थुप्रै बेरोजगारहरूको पराकाष्ठा बनेको अहिलेको प्रर्दशन र प्रर्दशनकारीको जमात। यो प्रर्दशन सही हो वा गलत, यो ठम्याउने प्रयत्न, म गर्ने पनि छैन। तर, यति भन्न सकिन्छ कि जब सहनशीलताको डोरी चुँडिन्छ, तब यस्ता थुप्रै क्रियाकलाप देशमा भइटोपलिन्छ। राजनीतिक आस्थाको धरातलबाट निकै माथि उठेर हेर्दा, जब राजनीतिक कार्यकर्ताहरू सडकमा देखिन्छन्, त्यहाँ सत्तापक्ष र प्रतिपक्षको खेल मात्र हुन्छ।
जब बूढाबूढी केही बोल्छन्, यी वामपन्थी शासकहरूले सजिलै नकार्न सक्छन्। तर, जब युवाको जमात सडकमा उत्रिन्छ, तब सरकारका निम्ति उज्यालो प्रकाश भएको खतराको घन्टी बज्छ। त्यसैले पनि बुझ्न सकिन्छ कि यो युवा समूह देशका बलिया कर्णधार बन्न सक्ने सामथ्र्य राख्छन्।
फेसबुक र इन्स्टाग्राममा ब्याक अफ इन्डिया र ब्याक अफ करप्सन लेख्ने बाक्लो युवा जमात र जगत्ले आफूलाई त्यतिमै सीमित राख्नु निकै लज्जास्पद अभिव्यक्तिहरूको उदाहारण हो। जब बालुवाटार र नक्सालमा त्यो भव्य प्रदर्शन देखियो, तब सायद कतिले देश रूपान्तरण गर्न सक्ने प्रधानमन्त्री त्यहाँ भेटेको हुनुपर्छ। जब पानीको फोहोराले पनि नडराएको युवा प्रतिनिधिहरू देखियो, त्यहाँ हामीले भेट्नुपर्छ, समृद्ध नेपाल बनाउने त्यागी व्यक्तित्व। प्लाकार्डमा कत्ति सहने भनेर लेखेको देखेपछि मनको भित्रको कोलाजबाट आवाज आउँछ, अब कसले गर्ने ? त्यतिबेला हामी चाहन्छौँ हाम्रो युवा समूह सक्रिय हुनुपर्छ र देश र जनताका आवाज सुन्नुपर्छ।
रोजगारीका नाममा बुबाले आफ्नो छोरालाई पानीको मुहानसरह आँखामा आँसु टिलपिलाएको देखिसकेपछि मलाई तमाम नेपालका जलस्रोतहरू पनि बेकार र महत्वहीन लाग्न थाल्छ। कति दिनसम्म लुम्बिनी र सगरमाथाको डाँकमा बाँच्न सक्छन्, आखिर जनताहरू ? म जनताको कुरा गर्दै छु, फेरि पनि राजनीतिक दलका कार्यकर्ता र झोलेहरूको हैन। हरेक झोलेहरूका आवाज, प्राण नभएको शरीर मात्र हो। त्यसैले पनि ती लासहरूलाई आफ्ना अघिल्तिर राखेर तिनका ढाङे मिसिएको भत्तालु आवाज सुन्ने क्षमता अब नेपाल र नेपालीसँग छैन।
विद्रोह। कत्ति भयानक र रोमाञ्चक सुनिन्छ, यो शब्द। विद्रोहको आवाज झन् भयानक सुनिन्छ। एउटा युवाको आँखाबाट जब विद्रोहको राप बल्छ, त्यसले भष्म पार्छ। नेपाली राजनीतिको कुरूप पक्षको चर्चा जब चल्न थाल्छ, तब विद्रोहीपन हरेक नेपालीको आँखामा झुण्डिन्छ। एउटा चिया पसलदेखि लिएर सामान्य गोष्ठी पनि भयानक हुन्छ। सायद नेपाली राजनीतिको अर्कोे शब्द नै विद्रोह हुनुपर्छ।
चिया पसलको चुस्कीमा कोही आवेग पोख्छन्। भन्छन्, हामी पनि युवा नै त थियौँ नि। तर, यो देशको कुरूप राजनीति हेर्दाहेर्दै पञ्चायत, बहुदल र गणतन्त्रका निम्ति सडकमा दौडिँदा दौाडिँदै कुन बेला गालाहरू लत्रिए र अनुहार चाउरियो थाहै भएन। यो विद्रोहको आवाज निकै लामो समयदेखि गुञ्जिरहेको छ र यसरी नै अस्थिरता चलिरहने हो भने हाम्रो देश र राजनीतिका पाटाहरू सायद यसरी नै गुञ्जिरहन्छन्। यो गुञ्जायमान परिप्रेक्ष्यमा अब युवाहरूको उपस्थिति निकै ओजपूर्ण रहनुपर्छ।
यद्यपि, युवाहरूको महत्वाकांक्षा के हो ? युवाहरू के चाहन्छन् ? यसको उत्तर दिने कुशल सामथ्र्य यदि सरकारले राख्न सक्दैन भने, आउँदो निकै लामो समयसम्म युवाहरू सडकमै भेटिनेछन्। जनसंख्यामा ४० प्रतिशतभन्दा बढी उपस्थिति रहेको युवा जमातको नेतृत्वको पक्षमा भने खोजेर नभेटिने उपस्थिति रहनु साह्रै ठूलो दिक्दारीको पक्ष हो।
सायद समयको निकै लामो झरीपछि अब घाम लाग्ने प्रयत्न पनि भएको छ। यो घाम पूर्वबाटै लाग्नेछ वा पश्चिमबाट, थाहा छैन। तर, घामको तातोले न्यानो दिनु नै पर्छ। यति भनेर जब शब्दको क्रम टुंगिन खोज्यो, कालान्तरबाट कोही बोलिरह्यो, ‘जाग अब युवा हो।’
@adhikari_agrim