कार्यालय खुलेसँगै भीड
ललितपुर : लामो समयको बन्दाबन्दीपछि कार्यालय खुलेसँगै भीडभाड बढेको छ। अनियन्त्रित र असरल्ल बढेको भीडले कोरोना संक्रमण बढ्न सक्ने भन्दै कर्मचारी भने त्रसित बनेका छन्। ललितपुर महानगरपालिकाको राजश्व प्रशासन महाशाखामा कर तिर्न आउनेको भीड उल्लेख्य मात्रामा देख्न सकिन्छ।
असार २ गतेदेखि खुल्ला गरिएको उक्त महाशाखामा हुलका हुल मान्छे आएको तर सामाजिक दूरी कायम नराखेको भन्दै चिन्तित देखिन्थे महाशाखाका प्रमुख डिल्लीराज शाक्य। कर तिर्न आउनेले सामाजिक दूरी नबनाई ठेलामठेल गरेको गुनासो गरे। ‘सुरुका केही दिन ह्वारह्वारती भित्रै छिरे’, शाक्यले भने, ‘अहिले झ्यालबाट काम गर्ने व्यवस्था गरेका छौं।’ असारमसान्तसम्म कर तिरीसक्नु पर्ने बाध्यता छ। जति मान्छेको उपस्थिति हुनुपर्ने हो त्यति अझै नभएको भनाइ उनको छ।

‘बिस्तारै बढ्दै दैनिक तीन÷चार सय पुगेको छ, पहिला कम्तिमा पाँच सय मान्छे कर तिर्न आउँथे’, भीड बढ्नु स्वाभाविक भए पनि महानगरले त्यसलाई व्यवस्थित गर्न नसकेको कर्मचारीको आरोप छ। एक कर्मचारीले नाम नबताउने शर्तमा भने, ‘मेयर दैलोमा सुरक्षागार्ड राखेर बस्छन्, हामीले भीडको सामना गर्नुपर्छ, कोरोना लागे के गर्ने ? ’ यतिबेला महानगरको राजस्व प्रशासन र योजना प्रशासन महाशाखामा भीड बढेको छ। पुराना तथा नयाँ योजनाका बारेमा छलफल गर्न आएका २२ वडाका सदस्य सागर तुलाधर योजना प्रशासन महाशाखाको भीडमा पालो कुरिरहेका थिए। ‘के गर्ने समय गुज्रिसक्यो, नआए सुखै छैन, आउँदा पनि संक्रमण हुने डर’, उनले भने।
तर महानगरका प्रमुख चिरीबाबु महर्जनले भीडलाई व्यवस्थित गर्दै लगेको बताए।
‘सुरुका दिनमा केही अव्यवस्थित थियो, अहिले निकै व्यवस्थित भएको छ’, मेयर महर्जनले भने, ‘अब केही दिनमा यसको पूर्ण व्यवस्थापन गर्नेछौं।’ कर उठाउनै पर्ने बाध्यता भएकाले सामाजिक दूरी कायम गर्दै काम नियमित गर्ने र व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरेको जानकारी दिए। आन्तरिक बैठकमा पनि धेरै मान्छे समावेश गराएर कोरोनाको जोखिम निम्त्याएको आरोपलाई खन्डन गर्दै उनले भने, ’छुटाउनै नहुनेलाई बैठकमा बोलाउनै प¥यो तर हामीले सामाजिक दूरीको पूर्णख्याल गरेका छौं।’ जिल्ला प्रशासन कार्यालयमा पनि नियमित काम गर्न आउनेको भीड लागेपछि झ्यालबाट काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जनाए।
प्रतिक्रिया दिनुहोस !