सिन्धुलीका ८ स्थानीय तहको बजेट ५ अर्ब १४ करोड

सिन्धुलीका ८ स्थानीय तहको बजेट ५ अर्ब १४ करोड

सिन्धुली : सिन्धुलीका ९ स्थानीय तहमध्ये ८ वटाले ५ अर्ब १४ करोड ९ लाख रुपैयाँ बढीको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लाको घ्याङलेख गाउँपालिका बाहेकका दुई नगरपालिका सहित ८ स्थानीयतहले बुधबार आगामी आर्थीक वर्ष २०७७/०७८ का लागि यस्तो बजेट सार्वजनिक गरेका हुन् । घ्याङलेख गाउँपालिकाले भने बुधबार आफ्नो नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेको छ । 

स्थानीयतहहरुले कोभिड–१९ बाट सिर्जित संकट व्यवस्थापन लगायतका स्वास्थ्य क्षेत्र, कृषि, पूर्वाधार विकास, पर्यटन, आयआर्जका कार्यक्रम, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, स्थानीय स्तरमा रोजगारको सुनिश्चिततासहितका नयाँ तथा पुराना कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् ।

जिल्लाका नौंवटा स्थानीयतहमध्ये सबैभन्दा बढी कमलामाई नगरपालिकाले १ अर्ब १६ करोड ४८ लाख १२ हजार ६ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख खड्गबहादुर खत्रीले बुधबार नै पत्रकार सम्मेलन गरी नीति तथा कार्यक्रम र बजेटका बारेमा जानकारी दिएका हुन् । उनले बजेटमा स्वास्थ्य क्षेत्रका साथै कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा विशेष जोड दिएको र सिन्धुली गढीको विकास र प्रवर्द्धनमा एक करोड विनियोजन गरिएको जानकारी दिए ।

‘हामीले कृषि, पशुपालन, घरेलु तथा लघुउद्यम, कमलामाई नगरपालिकाको ८, ९, १०, १३ र १४ वडालाई कृषि औद्योगिक क्षेत्रको विकास गर्ने र १३ नं. वडामा अटोमोबाईल शिक्षालय स्थापना गर्ने निर्णय गरेका छौं,’ उनले भने । यस्तै दुधौली नगरपालिकाले १ अर्ब २ करोड ५४ लाख ३९ हजार १ सय ६३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कृषि, स्वास्थ, शिक्षा नगरका बजेट प्राथमिकतामा परेका छन् । 

मरिण गाउँपालिकाले ४८ करोड ४२ लाख ८३ हजार बराबरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको अध्यक्ष पानीराज बम्जनले जानकारी दिए । 
सुनकोसी गाउँपालिकाले भने एकमुष्ठमा ४८ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले जानकारी दिए । उनले भने, ‘बुधबार सार्वजनिक गरिएको बजेटमाथि छलफल गरेर स्वाथ्य, कृषि, शिक्षा, रोजगार लगायतका क्षेत्रमा प्राथमिकताका आधारमा विनियोजन गरिने छ ।’

उता हरिहरपुरगढी गाउँपालिकाले पनि कृषि, स्वास्थ्य, शिक्षा र रोजगारलाई नै प्राथमिकतामा राखेर ४६ करोड ८० लाख रुपैयाँबढीको बजेट ल्याएको उपाध्यक्ष अनिताकुमारी राईको भनाइ छ । ‘आगामी वर्ष कोरोना भाइरसको संक्रमण व्यवस्थापनसहित चालु आर्थिक वर्षमा अधुरा रहेका कामलाईसमेत निरन्तरता दिँदै पूर्वाधार विकासमा समेत जोड दिइएको छ,’ उनले भनिन् ।

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाका अनुसार आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कोरोना संक्रमणको व्यवस्थापन र उपचारमा स्वास्थ्य, रोजगारी, कृषि, पशुपालन, शिक्षा लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखेर ६२ करोड ६८ लाखबढीको बजेट ल्याइएको छ । फिक्कल गाउँपालिकाले ४३ करोड ५९ लाख ४५ हजार ३ सय २४ रुपैयाँको बजेट सार्वजनिक गरेको उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् । ‘पालिकाले सार्वजनिक गरेको बजेटमध्ये सबै भन्दाबढी कृषिमा २५ प्रतिशत, शिक्षामा १५ प्रतिशत, स्वास्थ्य र रोजगारमा १०-१० प्रतिसत बजेट विनियोजन गरिएको छ,’ उनले भनिन् । 
गोलन्जोर गाउँपालिकाले ४५ करोड ४२ लाख रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये झण्डै २९ करोड २७ लाख ९३ हजार रुपैयाँ स्वास्थ्य, कृषि, शिक्षा तथा पूर्वाधारमा खर्च गरिने जनाइएको छ । 

धेरैजसो स्थानीय तहले अघिल्लो वर्षको जस्तै महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति , बालबालिका, जेष्ठ नागरिकलाई बजेटमा समेटेका छन् । 
घ्याङलेख गाउँपालिकाले भने आगामी १४, १७ र २१ गतेसम्म नीति तथा कार्यक्रममाथी छलफल गरिने र २४ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको गाउँपालिकाका प्रवक्ता एकबहादुर खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.