आफैँलाई उपहार दिन्छु
नीरु राजवंशीले झापाको एफएम रेडियोमा झन्डै सात वर्ष कार्यक्रम सञ्चालन गरिन्। काठमाडौँमा दुईवटा टेलिभिजनमा काम गरिन्। अहिले आफू पढ्नेबाहेक खास केही काम नगरेको बताउने उनी सामाजिक सञ्जालमा किताबसित मात्र खिचिएका फोटो पोस्ट गरिरहन्छिन्। समाजशास्त्रमा स्नातकोत्तर नीरुसित फुर्सदका लागि फुर्सद-गफगाफ :
यो लकडाउनमा आफ्नो फुर्सदको व्यस्तता बताइदिनुस् न ?
दैनिक आठ/नौ घन्टा किताब पढ्छु। बाँकी रहेको समय घरायसी काम, योग र ध्यानमा बित्छ।
पछिल्लो पटक कुन किताब पढ्नुभयो ?
लकडाउलने गर्दा धेरै पढ्न बाँकी किताब पढ्ने मौका जुर्यो। पछिल्लो समय दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ पढेँ। यस कथासंग्रहमा महिला पात्रको बलियो उपस्थिति छ। सम्बन्धमा आउने उतार-चढाव र तीसँगै जोडिएका मनोभावका कहिले गाढा रङ, त कहिले फिक्कापनाले मन छोयो।
तपाईं त किताबकै सिरानी, किताबकै ओछयानदेखि, किताबकै वस्त्रमा समेत देखिनुहुन्छ नि आफ्ना फोटोहरूमा...
यसलाई मेरो किताबसँगको प्रेम र तिनलाई अभिव्यक्त गर्ने शैली मात्र भनेर बुझ्दा हुन्छ। अनि, पुस्तक पढ्न प्रेरित गरौँ भन्ने अभिप्राय चाहिँ हो।
यस्तो सोख कहिलेदेखि कसरी आयो ?
ठ्याक्कै कहिलेदेखि यकिनसाथ भन्न सक्दिनँ। तर फोटो खिच्ने रहर सानैदेखि हो। यसलाई इन्स्टाग्रामले बढी हावा दिएको कुरा नकार्दिनँ।
फोटो खिच्न कति समय लाग्छ ? कसरी खिच्नुहुन्छ ?
कुनै कुनै फोटो दुई मिनेटमा खिचिन्छ भने कुनै फोटो खिच्न घन्टौँ लाग्छ। किताबको मात्र हो भने म आफैँ खिच्छु। फ्रेममा किताबसँगै म छु भने नजिकको साथीबाट मद्दत लिन्छु।
यहाँले धेरै पल्ट पढेको किताब ?
‘द सेक्रेट’ र ‘अटोबायोग्राफी अफ अ योगी’ धेरै पटक पढेकी छु।
बच्चा बेला पढेको किताब ?
हुर्किंदै गर्दा झापामा कोर्सबाहिरका किताबको पहुँच कम थियो। यद्यपि ‘मुना’, ‘सुनकेस्रा’ र ‘विज्डम’जस्ता म्यागजिनले अक्षरसँगको प्रेम गाढा बनाइदियो।
धेरैपल्ट उपहार पाएको-दिएको किताब ?
आफैँले आफैँलाई किताब उपहार दिने बानी छ, मेरो। अरुबाट किताब उपहार खासै पाएकी छैन। तर लकडाउनकै बीचमा एक लेखकले आफ्ना केही प्रकाशन उपहारस्वरुप पठाइदिनुभएको थियो। यो मेरा लागि ठूलो सुखको अनुभव हो।
पुस्तक प्रायः कहाँ र कसरी किन्नुहुन्छ ?
एउटै निश्चित ठाउँ छैन। सडकदेखि ठूला पुस्तक पसल चहार्छु। अहिले अनलाइन उपलब्ध हुने भएकाले त्यताबाट पनि किन्छु।
कुन समय धेरै किताब पढ्नुभयो ?
भूकम्पको समयमा झन्डै दुई महिना घर बसेकी थिएँ। त्यो बेला ४० वटा पुस्तक पढेँ। अहिले लकडाउनको समयमा औसतमा दुई दिनभित्र एउटा किताब पढेर सिध्याउँछु।
मन परेका १० वटा पुस्तकको नाम लिइदिनुस् न ?
‘द सेक्रेट’, ‘इट प्रे एन्ड लभ : वन वेमन्स् सर्च फर एभ्रिथिङ’, ‘स्यापियन्स् : अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’, ‘पागल बस्ती’, ‘सुम्निमा’, ‘द फोर्टी रुल्स अफ लभ’, ‘शिरीषको फूल’, ‘अटोबायोग्राफी अफ अ योगी’, ‘द मंक हु सोल्ड हिज फेरारी’, ‘अल्केमिस्ट’।
किताबबारे केही नलेखी विनाक्याप्सन फोटो राख्नुहुन्छ ? केही लेख्न खसखस लाग्दैन ?
कुनै किताब पढेपछि मेरा शब्दले न्याय गर्न सक्छ जस्तो लाग्दैन। अनि कुनै पुस्तक यति औसत हुन्छन्, तिनका लागि शब्द खर्च गर्न मनै लाग्दैन। त्यसैले पनि क्याप्सन लेख्ने कुरामा म पछि नै छु।
किताब कसरी छान्नुहुन्छ ?
विश्वभरका लेखकहरूका पुस्तक खोजी गर्ने मेरो सोख छ। इच्छा भए उपाय जति पनि छन्, अहिले। विभिन्न विधामा उत्कृष्ट पुस्तकबारे गुगलमा खोज्छु।
पढ्दै गर्दा मन परे-नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने, पन्ना दोबार्ने बानी छ कि ?
मसँग नवरंगी हाइलाइटर छन्, जसले मुडअनुसार मन परेको लाइनलाई हाइलाइट गर्छु। किताबका पाना दोबार्न माया लाग्छ। बुकमार्क प्रयोग गर्छु।
नयाँ किताब सुँघ्ने, पन्ना पल्टाउँदाको आवाज सुन्ने बानी पनि छ कि ?
ठ्याक्कै भन्नुभयो। नयाँ पुस्तक पाउनेबितिक्कै सुँघ्ने बानी त बच्चैदेखि हो। र, अहिलेसम्म कायमै छ। त्यसमाथि पनि पन्ना पल्टाउँदाको आवाज मेरा लागि संसारकै सुन्दर संगीत हो।
हवाई/सडक यात्रामा पनि किताब पढ्नुहुन्छ ?
सडक यात्रामा त भीडभाड, खाल्डाखुल्डी हुन्छ। गाह्रो हुन्छ। हवाई यात्रा गर्दा पढ्छु। आन्तरिक उडान अक्सर डिले हुने हुँदा पुस्तक गज्जबको साथी हो।
कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
अधिकांश समय घरमै पढ्छु। मेरो एउटा बानी के छ भने, ओछ्यान परिवर्तन भयो भने पुस्तकसँग कनेक्ट हुन सक्दिनँ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
उहाँहरूलाई पढ्ने फुर्सद त नहोला। तर सिफारिस गर्नुपर्दा विद्यादेवी भण्डारीलाई ‘हाउ टु विन फ्रेन्ड्स् एन्ड इन्फ्लुयन्स पिपुल’ र मिसेल ओबामाको ‘बिकमिङ’। केपी शर्मा ओलीलाई ‘द मिथ अफ अ स्ट्रङ लिडर : पोलिटिकल लिडरसिप इन अ मोडर्न एज’। पुष्पकमल दाहाललाई ‘अटोबायोग्राफी अफ अ योगी’। शेरबहादुर देउवालाई ‘इनर इन्जिनियरिङ’।
किनेको सबैभन्दा महँगो पुस्तक ?
महिनैपिच्छे चार-पाँचवटा पुस्तक किनिरहेकी हुन्छु। एकै पटक अमीश त्रिपाठीका सबै किताब किनेकी थिएँ। यसलाई झन्डै दश हजार रुपैयाँ परेको थियो।
पठन रोजाइमा कुन विधा ?
आख्यान नै धेरै मन पर्छ। यद्यपि आत्मकथा र सकारात्मक उत्साह भर्ने पुस्तक पनि मेरो रोजाइमा पर्छन्।
यस्ता किताब पढ्न नपरे हुन्थ्यो भन्ने पनि छ कि ?
थाहा भएदेखि नै अक्षरसंँगको प्रेममा छु। पढ्न नपरे हुन्थ्यो भन्ने खालका पुस्तक सायदै लेखिएका होलान्। यद्यपि पुस्तक छनौटमा सचेत भने छु।
कुन लेखक भेट्न चाहनुहुन्छ ?
कुनै पनि लेखक भेट्न चाहन्नँ। म पुस्तक विमोचन, पुस्तक अन्तर्क्रियाहरूतिर जान्नँ। पुस्तक पढ्दै गर्दा लेखकसँग एक किसिमको मोह विकास भएको हुन्छ। भेटेपछि त्यो मोह भंग होला कि भन्ने डर लाग्छ।
कहिल्यै कुनै किताब चोर्नुभएको छ ?
चोरेकी छैन।
किताब मनमनै पढ्नुहुन्छ कि सस्वर ?
मनमनै पढ्छु।
एउटा असल पाठक त लेखक बन्ने सम्भावना पनि उत्तिकै हुन्छ, हैन र ?
लेख्न चाहेको कन्टेन्टबाट पात्रहरू कहिलेकाहीँ झकझक्याउन आउँछन्। तर पनि पुस्तक नै लेख्ने गरी हिम्मत अझै आएको छैन। म धेरैभन्दा धेरै पुस्तक पढ्न चाहन्छु अहिले।
किताबबारे कुनै एउटा रोचक घटना ?
झन्डै १२-१३ वर्षअघि अंग्रेजी आख्यानका किताब पाउन मुस्किल पथ्र्यो। त्यति बेला काठमाडौँ आउने चिनजानको व्यक्ति थाहा हुनेबित्तिकै पुस्तक किन्न पठाउँथेँ। अहिले प्रविधिले निकै फड्को मारिसक्यो। अब त दैलैमा पुस्तक आइपुग्दा खुसी लाग्छ। एसएसली ताका परीक्षाको अघिल्लो दिनसम्म नोटकपीभित्र प्रकाश कोविदको ‘हुरी’, ‘अर्को जन्म’जस्ता उपन्यास पढेका दिनहरू निकै रमाइला थिए।
प्रस्तुति : विमल आचार्य