मृदुला-गालिब
म चढ्नुअगाडि नै बस चढिसकेका मेरा बालसखा गालिबलाई देखेँ। उनलाई देख्दा मेरो खुसीको पारा सय डिग्री पुग्यो। तर, यो अस्वाभाविक खुसी पनि होइन। मैलै हठात सोधेँ- ए गालिब ! तिमी कता जाँदै छौ ? कहाँबाट आएको ?
उनले अलि निरुत्साहित तरिकाले मेरो पछिल्लो प्रश्नको मात्र उत्तर दिए- गाउँबाट झरेको। यसो भन्दा उनको अनुहारमा मैले उदासीको अनुमान लगाएँ। बसमा भीड गरी चढिरहेका मानिसलाई छलेर उनी अलि पछाडिको सिटमा गएर बसे। उनीसँगै एउटी युवती पनि बसिन् तर मैले ती युवतीलाई भने चिनिनँ। मबाट अलि टाढा भएकाले सोध्न सहज पनि भएन। म अलि अगाडितिरकै झ्यालतिरको सिटमा बसेँ। बस होहल्लासँगै तुल्सीपुरबाट कुद्यो।
मैले फर्केर हेरेँ। गालिबले पानीको बोतल खोले। आफूले पानी पिए अनि सँगैकी युवतीलाई दिए। ती युवतीले पानी पिइन् र बोतलको बिर्को लगाएर सिटमुनि घुसारिन्। यो दृश्यले मलाई अघिदेखि लागिरहेको पानी प्यास अझै हरर बढाइदियो। मसँग पानीको व्यवस्था भएन। उनीहरूसँग पानी मागेर पिउन मलाई त्यति सजिलो लागेन।
बसमा मानिसहरूको होहल्ला चली नै रह्यो। गर्मीले उग्र रूप देखाउन थाल्यो। मेरो पानी प्यास अझै बढ्दै गयो। गालिबबाहेक पानी मागेर पिउन मिल्ने मेरो चिनेको मान्छे यो बसमा कोही छैन। तर किन हो खै, मेरो अन्तरचेतनाले उनलाई पराई देखिरहेको छ, यति बेला। उनले मेरो नजिक आउने, सन्चो बिसन्चो सोध्ने उत्साह पनि त देखाएका छैनन्। म ब्यागमा रहेको एउटा चकलेट चपाउँदै पानी प्यास आफैँभित्र पचाउने प्रयत्नमा लागेँ। झ्यालको सिसा खोलेँ। चिसो हावाले मलाई स्पर्श गर्यो। अनुहारलाई झ्यालतिर फर्काएर हावा खाँदै निदाउने प्रयत्नमा लागेँ। तर मलाई निद्रा आएन।
उबडखाबड बाटोमा बस हल्लिने, ब्रेक लागाउने गर्दा टाउको दुख्न थाल्यो। बस जंगल क्षेत्रभित्र गुड्न थालेकाले केही शीतल महसुस भयो। मैले फेरि पछाडि फर्केर गालिबतिर हेरेँ। उनी सोचमग्न बनेर झ्यालबाट बाहिरतिर हेरिरहेका देखिए। उनीसँगै बसेकी महिला निदाइरहेकी रहिछन्। उनको कपाल हावाले उडाएर अनुहारभरि छरपस्ट पारेको र टाउको बारम्बार सिटको पछाडिको भागमा ठोक्किँदै गरेको रहेछ। तर गालिब बेखबर तरिकाले गम्भीर मुद्रामा झ्यालबाहिरतिरै टाउको फर्काएर बसिरहेका देखिए। मैले यो दृश्य धेरै बेर हेरिरहिनँ। केही गरी गालिबले मतिर हेरिहाले भने उनलाई मसँग बोल्नुपर्ने हुन सक्छ। उनी मसँग बोल्न असहज महसुस गरिरहेको कुरा मैले बुझिसकेकी छु। उनको यो गम्भीरताबारे मैले अनेक तर्क गर्न थालेँ। किन सधैं खुलेर बोल्ने मेरो बाल्यकालदेखिको साथी आज मसँग बोल्नसमेत खोजिरहेका छैनन्। सोझै अनुमान लगाएर आफँैले यो प्रश्नको उत्तर खोज्नु पनि त्यति सजिलो छैन। अर्काको मनको कुरा, अर्काको परिस्थितिको कुरा हो।
म रुपइडिहा जान दाङबाट नेपालगन्जसम्मको बस चढेँ। बसमा मानिसको भीड अलि बढी नै रहेछ।
बसले यात्रु चढाउने र झार्ने गरिरहँदा अलि बढी समय लगाउन थाल्यो। मलाई आजै रुपइडिहा पुगेर आफ्नो दोकानका लागि केही सामान किन्नु छ। साँझसम्म भए पनि नेपालगन्ज फर्केर बास बस्नु छ। त्यसो गर्दा म भोलि बेलैमा दाङ पुग्न सक्छु। मेरा साना छोराछोरी छिमेकीको जिम्मामा छन्। उनीहरूले म आउने बाटो हेरिरहेका होलान्। बसको ढिलासुस्तीले गर्दा मेरो मन आत्तिन थाल्यो। बसभन्दा कैयौँ गुणा बढी मेरो मन कुद्न थाल्यो।
अमिलिया आइपुगेपछि बस रोकियो। कन्डक्टर भाइले यात्रीहरूलाई भने- चिया-नास्ता खान झर्नुस्। अब अगाडि बस रोकिँदैन है। म अगाडिको सिटमा भएको हुँदा छिट्टै झर्न सकेँ। अमिलियामा भएका केही ससाना घरहरूमा खोलिएका केही चिया नास्ता पसलमध्ये एउटामा म पसेँ। मलाई शौचालय जान हतार भयो। शौचालय घरपछाडि रहेछ। शौचालयबाट फर्केर एक बोतल पानी किन्दै गर्दा गालिब र उनीसँगै बस्ने महिला यही होटलतिर आउँदै रहेछन्। सम्मुख परेपछि बोल्न त पर्यो नै। उनले ती महिलालाई चिनाए- यी मेरी पत्नी हुन्। अनि मतिर फर्केर भने- यी मृदुला।
उनकी श्रीमती मोटो शरीरमा गाह्रो मान्दै हिँडिन्। उनी बच्चा जन्माउने समय नजिक आइसकेकी गर्भवती भएको मैले अनुमान लगाएँ तर यसबारे कुनै टिप्पणी गरिनँ। उनले मलाई नमस्कार गरिन् र यसरी बोल्न थालिन्, मालिलिऊँ उनले मलाई धेरै अगाडिदेखि चिन्छिन्। उनले एउटा प्रश्न मतिर तेस्र्याइन्- गालिब यही बसमा नेपालगन्ज जाँदैछन् भनेर तपार्इंलाई थाहा थियो ?
मैले भनेँ- थाहा त थिएन तर संयोगले एउटै बसमा परियो। तपाईंसँग चिनजान भयो, खुसी लाग्यो। उनले भनिन्- तर म त तपाईंलाई पहिलेदेखि नै जान्दछु। तपाईं त्यही मृदुला होइन जो मेरा श्रीमान्सँग स्कुलमा एउटै कक्षामा पढ्नुहुन्थ्यो। हो म त्यही हुँ- मैले भनेँ। तर मलाई उनको यो प्रश्नमाथि प्रश्न गर्ने शैली अलि अस्वाभाविक लाग्यो। उनको र मेरो संवादले गालिबलाई असजिलो भएको मैले अनुमान लगाएँ। उनले पत्नीलाई चिया पसलतिर जाने संकेत गरे। मैले हतारमै उनको नाम सोधेँ। उनले भनिन्- गीता।
म फटाफट बस चढेर आफ्नो सिटमा आएर बसेँ। अघिदेखिको पानी प्यास मेट्न बोतल खोलेर पानी पिउन थालेँ। मलाई चिया पिउने वा अरू कुनै खाजा खाने इच्छा पनि भएन। होटलमा बासी समोसा, चिल्ला पकौडा, सेल यस्तै त राखिएका हुन्छन्। खानलाई भोक पनि छैन। यस्तै सोचाइले अरू यात्रीभन्दा अगाडि नै म बसमा उक्लिएँ। गालिबले मलाई चिया पिउने प्रस्तावसम्म नराखेर आफ्नी पत्नीलाई मात्र होटलतिर लिएर गए। कसरी परिवर्तन हुन सक्छ मान्छे यसरी ? अर्थात् पहिले उनी यस्तो संकुचित स्वभावका थिएनन्। मलाई यो कुराले आश्चर्यमा पारिरह्यो।
अमिलिया कटेपछि बसले गति लियो। मैले लामो सास फेरेँ। अब त समयमै पुगिएला कि ! आफ्नै कामको चटारो र बसमा भेटिएका साथीको नौलो व्यवहारले मलाई अत्यासमाथि अत्यास थपिरह्यो। बसको गतिसँगै मेरो मनमा अनेक विचार कुद्न थाले। कुनै बेला त यस्तोसम्म लाग्न थाल्यो, बस कुदिरहेको छ कि म कुदिरहेकी छु। घडी हेरँे, समय छिटो छिटो अघि बढ्दै छ जस्तो लाग्यो। समय निर्धारण मानिसको मनस्थितिले गर्छ घडीले होइन भनेको मलाई अहिले ठीकजस्तो लाग्यो।
गालिब पतिपत्नीबाट आफ्नो ध्यान हटाउने प्रयत्नमा लागेँ तर सकिनँ। पछाडि फर्केर हेरेँ। गालिब फेरि मौन देखिए र झ्यालबाहिर टाउको फर्काएर हेर्न थाले। उनी कुनै सोचाइमा परेको मैले अनुमान लगाएँ। गालिब पत्नीले मतिर दृष्टि फ्याँकिन् तर केही बोलिनन्।
एकाध घण्टापछि बस धम्बोझी चोक पुगेर रोकियो। यात्रीहरू धमाधम झर्न थाले। मैले पनि आफ्नो सानो हाते झोला टिपेँ र बसबाट ओर्लिएँ। गालिब पतिपत्नीसँग बिदा हुने औपचारिकता पूरा गर्न म बस बाहिरबाट उनीहरू बसेको सिटतिर गएँ। गालिबले झ्यालबाहिर टाउको निकाल्दै मतिर फर्किएर भने- कहाँ जाँदै हुनुहुन्छ ?
उनको यो प्रश्न गराइमा कस्तो पराईपन छ। उनलाई म रुपइडिहा जाने गरेको र मैले सानोतिनो व्यापार गर्ने गरेको थाहा छ त। तैपनि मैले उनको प्रश्नको उत्तर त्यसरी नै दिएँ कि उनलाई केही थाहा छैन। मैले सोधेँ- तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ ? यति बेला गालिब तिमीबाट तपाईंमा उक्लिए। उनले भने- मेरो सरुवा जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छ। हामी त्यतै जाँदै छौँ। मैले दुवैलाई हात हल्लाएँ र फटाफट रुपइडिहा जाने टाँगाको खोजीमा लागेँ।
आठ दसवटा टाँगा यात्रीको खोजीमा बसेका रहेछन् चोकमा। छेउछाउमा रिक्सा पनि त्यत्तिकै यात्रुको प्रतीक्षामा पसिना पुछ्दै रिक्साको ह्यान्डिल पक्डेर उभिइरहेका। ती सबैको मुखमा एउटै आवाज बोलिरहेको थियो- यता आउनोस्, यता आउनोस्। मान्छेको चहलपहल भने गर्मीको कारणले हुनसक्छ त्यति धेरै देखिएन। मजस्ता अति आवश्यक काममा निस्किएका होलान् केही मानिस पनि। म सबैभन्दा अगाडिको टाँगामा गएर बसेँ। यो टाँगा यात्रीहरूले लगभग भरिइसकेको रहेछ। म बसेपछि टाँगावालाले घोडालाई एक कोर्रा लगाउँदै भन्यो- चल भाइ। घोडाको टाप टकटक बजाउँदै टाँगा गुड्यो।
यो टाँगाभरि नै हाट जान हिँडेका मानिस रहेछन्। केही त साना उमेरका केटा पनि रहेछन्। यी सबै पैसा कमाउने सपना बोकेर भारत पस्दैछन्, निश्चित रूपमा। मेरो स्थिति पनि यिनीहरूको भन्दा के भिन्न छ र ? रुपइडिहाको बजारमा केही सस्तो सामान किनेर दुई पैसा बढीमा बेच्दै जीविका चलाउने यत्ति नै त हो मेरो सपना पनि।
यो मेरो रुपइडिहाको किनमेल पहिलो पटक होइन। यहाँका सबै गल्ली चहारिसकेकी छु मैले। अब त यहाँका साहुहरूले मलाई चिन्न पनि थालिसके। यीमध्ये कसैले राम्रो व्यवहार पनि गर्छन्। कसैले मेरो एक्लो हुनुको बाध्यतामाथि कुदृष्टि लगाउन पनि बेर मान्दैनन्। म सामानको होलो सस्तोभन्दा सहयोगी सज्जन साहुहरूको पसलमा किनमेल गर्ने गर्छु। आज पनि मैले त्यस्तै सहयोगी बिहारीलालको पसलमा किनमेल गर्ने विचार गरेँ। ‘आइए बहेनजी’ भन्दै उनले मलाई स्वागत गरे अनि तत्काल आफ्नो कामदारलाई मेरा लागि चिसो लस्सी ल्याउन आदेश दिए। मैले उनीतिर चाहिने सामानको सूची बढाएँ। केही समयमै सामान प्याकिङ पनि भइहाल्यो। रिक्सामा सामान राखेर म निस्किएँ।
तर त्यति सजिलो कहाँ छ र मजस्ता साना झोले व्यापारीका लागि भन्सार पार गर्न। मेरा झोलाहरू खोतलखातल पार्ने काम भन्सार कर्मचारीबाट सधैँजस्तो आज पनि गरियो। मजस्ता साना खुद्रा व्यापारीहरू चक्कर लगाइरहेका हुन्छन् सधैँजस्तो भन्सारतिर। कसैसँग केही दर्जन साबुन, केही किलो चिनी जस्ता सामान त हुन्छन् तर उनीहरू नै कडिकडाउसँग कर असुलीमा पर्छन्। मसँग पनि के नै बढी सामान हुन्छ र ?
एउटा सेतो नम्बर प्लेटको गाडी र अर्को प्राइभेट जिप भन्सार नै नछिरी मेरो अगाडिबाट गुडे। उनीहरूलाई गार्डले सलाम ठोके। मैले यो दृश्य चुपचाप हेरिरहेँ। यति बेला मैले गालिबलाई सम्झेँ। जिल्ला प्रशासन कार्यालयमा सरुवा भई आएका कर्मचारी उनले अरू केही नभए पनि फलानीलाई दुःख नदिनू भनेर भन्सार कर्मचारीलाई भनिदिए पनि ठूलो सहयोग हुन्छ। तर यति चाँडै गालिबसँग सहयोगको हात पसार्न मलाई मन लागेन। अहिलेसम्म त यसरी नै चलिरहेको छ भने आजै गालिब जिल्ला प्रशासन कार्यालयमा सरुवा भई आएको थाहा पाउनासाथ उनको सहयोग खोजी हाल्नुपर्ने मैले ? मलाई आफैँदेखि दिक्क लाग्यो। आजै गालिबको परिवर्तित व्यवहार देख्दादेख्दै मैले कसरी यस्तो कुरा सोच्न सकेँ ?
सुर्खेत रोडस्थित सानीआमाको घर पुग्दासम्म झमक्क साँझ परिसकेछ। रिक्साबाट दुईवटा सामान भरिएका झोला रिक्सावालाले नै घरभित्र हुलिदियो। सानाबा-सानीआमा खाना नखाई मलाई नै पर्खेर बस्नुभएको रहेछ। मैले घरबाहिर रहेको ट्युबेल चलाएर हातमुख धोएँ। सानीआमाको नाति फुच्चेले मलाई उसकै टाबेल ल्याइदियो। चकलेटको आशले प्रायः उसले यस्तो गर्ने गर्छ। यति बेला मैले मेरो फुच्चे छोराको अनुहार सम्झनु र आँसु झार्नु एकैपटक हुन गयो।
सानाबा सानीआमाले मेरो भोकप्यास थकाइबारे सोधपुछ गर्दै भन्नुभयो- आज त निकै ढिला गरिस् नि बा ! बाटोमा केही खाइस् कि खाइनस् ? छोराछोरी कसका जिम्मा छोडिस् ? यसरी कति दिन दुःख गर्छेस्। आँखाको डिलसम्म आएको आँसु आँखामै पचाएर मैले फटाफट खाना खाएँ।
थकाइले चुर भएकी म पहिलो निद्रा झपक्क निदाएँ। ब्यूँझिएपछि फेरि सुत्न खोजेँ तर निद्रा कोसौँ टाढा भाग्यो। कहिले दायाँ र कहिले बायाँ फर्कंदै समय बित्न थाल्यो। दिउँसो बसमा गालिब भेटिँदाको फरक अनुभव र उनको बदलिएको व्यवहारले मेरो दिमागमा प्रश्नमाथि प्रश्नको झटारो हान्न थाल्यो। गालिब मेरो बच्चादेखिको त्यति मिल्ने साथी हुन्। सँगसँगै पाँच वर्षसम्म हामीले अघिपछिको बेन्चमा बस्दै पढ्यौँ। एउटै गाउँमा घर भएकाले स्कुल जाने आउने पनि सँगै गथ्र्यौं हामी। हाम्रो मित्रता स्वच्छ, सफा र सपाट थियो। अँजुलीमा उठाएर पिउन मिल्ने खोलाको कञ्चन पानीजस्तो। कहिलेकाहीँ बालसुलभ झगडा गरिन्थ्यो। झगडा पर्दा उनी मलाई मृदे भन्थे, म उनलाई गाले भन्थेँ। तर एक क्षणमा लट्ठी फ्याँकेको पानीजस्तो मिलेर जान्थ्यो झगडा। हाम्रो रिस गर्ने र हाम्रो सम्बन्धमा भाँजो हाल्न खोज्ने पनि हाम्रै स्कुलमा तमाम थिए।
जान्ने विद्यार्थीले नजान्नेलाई छडी हान्न लगाउँथे शिक्षकहरू। कहिले गालिबको पालो, कहिले मेरो पालो हुन्थ्यो कक्षाभरिका साथीहरूलाई छडी हान्ने। गालिबले मलाई छडी हान्दा छडीले मेरो हातमा छोएको मात्र हुन्थ्यो र मेरो पालोमा त्यस्तै गर्थें म पनि। आज सोच्दै छु, यति लामो बाटो हिँडेर यो मित्रता छुट्नु थियो भने हामी एकले अर्कालाई त्यो छडीले बेस्सरी पिटेको भए पनि त हुन्थ्यो।
परिवारको दबाबका कारण मेरो बिहे छिट्टै भयो। हाम्रो भेटघाट हुन छोड्यो। भौगोलिक दूरी बढे पनि मेरो सम्झनामा गालिब र गालिबको सम्झनामा म टाढा थिएनौँ। सन्चो-बिसन्चोको हालखबर आदानप्रदान हुन्थ्यो। म माइती जाँदा उनी मलाई भेट्न आएकै हुन्थे। मेरा बच्चाहरूसँग उनी रमाउँदै खेल्थे। उनको यस्तो नाम कसरी राखियो मलाई थाहा छैन तर यो नाम म, मेरा पति र मेरा बच्चाहरू समेतलाई प्रिय थियो। अब गालिब किन भिन्न भिन्न छन् ?
मेरा दुई बच्चा हुर्कंदा नहुर्कंदै मलाई ठूलो बज्रपात आइलाग्यो। मेरा पति क्यान्सर रोगले थलिनुभयो। उहाँको जागिरले क्यान्सर रोगको उपचार धानेन। सानोतिनो जेथा पनि रोगले उहाँसँगै लिएर गयो। मेरा पतिको उपचारका क्रममा चितवन क्यान्सर अस्पतालमा उनले गरेको सहयोग म कसरी भुल्न सक्छु ? आफ्नै परिवारका सदस्यले जस्तो मेरो समस्याको भारीलाई आफ्नै काँधमा थापेका थिए, उनले। दिनभर अफिस गरेर रातभर अस्पतालमा बिरामी कुरुवा बस्थे गालिब। उनले बिरामीका लागि आफूले गरेको हिसाबकिताब कहिल्यै पनि मसँग मागेनन्। मेरा पतिको पार्थिव शरीरलाई बन्दोबस्त मिलाएर देवघाट लगेर अन्त्येष्टि गराएका थिए, गालिबले। म देवघाटमै किरियाकर्ममा बस्दासम्म कुनै दिन अनुपस्थित भएनन् उनी। म कसरी बिर्सन सक्छु त्यो गालिबलाई ?
तर उही गालिबले आज सन्चो-बिसन्चो, चिया, पानीसमेत सोधेनन्। म कसरी विश्वास गरूँ, ती उनै गालिब हुन् भनेर ? पंखाको घटघट आवाजसँगै यसरी स्मृतिमय भइरहेँ म। आज बसमा गालिब र यिनकी पत्नीसँग भेट नभएको हुन्थ्यो भने उनी उही सहयोगी, हंसमुख र मिजासिलो गालिब रहिरहन्थे मेरा आँखामा तर अब गालिब ती गालिब रहेनन्।
स्कुल पढ्दादेखि मेरो बिहे नहुँदासम्म मान्छेहरू उनको र मेरो सम्बन्धको बीचमा अनेक लख काट्थे। मेरा पतिको बिरामी र मृत्युको बेला गालिबले मलाई दिएको साथमा पनि उनीहरूको सही सोचाइ रहेन। तर उनको र मेरो सम्बन्ध असल मित्रको भन्दा परको थिएन। न मैले उनलाई मित्रताभन्दा फरक सम्बन्धका लागि सोच्ने मौका दिएँ, न त उनले मलाई असल मित्रताभन्दा पर जाने संकेत दिए। हाम्रो सम्बन्धलाई बिटुल्याइरहने मान्छेहरूले मेरो वैधव्यपछि पनि हामीमाथि आँखा गाड्न छाडेनन्। त्यसपछि पनि गालिबलाई मेरो नजिक पर्न असहज स्थिति बनेको मैले महसुस गरेकी थिएँ। त्यसको कारण स्पष्ट छ म विधुवाले अरू कुनै पुरुषको सहयोग लिनु र उसको नजिक हुनुको परिणाम परिवार र समाजबाट बहिष्कृत हुनुभन्दा अरू के हुन सक्थ्यो र ? यो विषयमा गालिबले संकेत गर्दै मसँग भनेका पनि थिए- यसको सजिलो समाधान मेरो बिहे हुनसक्छ कि ?
करिब एक वर्ष भएको थियो उनीसँग सम्पर्क नभएको। यसबीचमा उनको बिहे पनि भएछ। होइन, यसरी बिहे भएपछि त झन् उनी मसँग टाढा नहुनुपर्ने हो। यस्तै हो भने त यो गलत परिणाम हो। यसले त तिनै कुरा कटुवाहरूको शंका उपशंकालाई समर्थन पुग्छ। हामी गलत थियौँ भन्ने कुराको पुष्टि हुन्छ। म त चाहन्छु, उनको बिहेपछि झनै हाम्रो सम्बन्ध पारिवारिक बनोस्। जस्तो कि, मेरो बिहेपछि पनि हाम्रो सम्बन्ध अझै नजिक भएको थियो। उनी मेरा पतिका पनि असल मित्र नै बनेका थिए। आफ्नो बिहे भएकै कारणले गालिब मसँग कसरी टाढिन सक्छन् ? तर किन उनले मलाई आफ्नो बिहेको निम्तो दिएनन् ? मेरो मनमा यसरी अनेक प्रश्न समुद्रको छालजस्तो तरंगित हुन थाले।
एकजना साथीले मसँग टाढिन खोजेको छनक दियो त के भयो ? किन म यसरी पहाडै खसेजसरी छटपटाइरहेछु। हैन, उनी मेरा सामान्य परिचित मात्र हुन्थे भने कुरा अर्कै हुन्थ्यो। उनी त बाल्यकालदेखि सँगसँगै हुर्केबढेका साथी। स्कुलको गृहकार्यसमेत सँगसँगै गर्नुपर्ने मेरो प्यारो गालिब। मलाई दुःखको समयमा साथ दिएको मान्छे अहिले बोल्नसमेत गाह्रो मान्ने ? यो कुरा कसरी सहजै पचाउन सकिन्छ ? यस्तै तर्क वितर्कको भारीले थिचिँदै गएँ म।
हुनसक्छ, उनकी श्रीमतीको अगाडि उनलाई मसँग बोल्न असहज भएको होस्। यो त झनै नराम्रो कुरा हो। यसले त झनै हामीलाई झुटा साबित गराउनेछ। केटा र केटीको मित्रता के मात्रै मित्रता हुन सक्दैन र ? के प्रेमसम्बन्ध मात्र हुन्छ र ? के यौनसम्बन्ध मात्र हुन्छ र ? केटाकेटी नजिक भएको त पचाउनै सक्दैन समाज। त्यसै बेतुकको ट्याग झुन्ड्याइदिन्छ घाँटीमा। त्यही ट्याग झुन्ड्याएर जिन्दगीभर घिस्रिरहनुपर्ने बनाइदिन्छ समाजले। के गालिब मसँगको मित्रताको कारणले समाजको यही हसिमजाकको सिकार त भइरहेका छैनन्, जुन कुरा उनकी श्रीमतीको कानमा समेत भरिएको होस्।
अब तर्कहरू शंकामा परिणत हँुदै मलाई डस्न थाले। गालिब पत्नीको मप्रतिको व्यवहारमा कस्तो कटाक्ष थियो, त्यो मैले नबुझेकी कहाँ हुँ र ? उनको व्यवहारमाथि प्रतिक्रिया जनाउन मेरो संस्कारले दिएन। कस्ता अनौठा अनौठा प्रश्न गरेकी थिइन् उनले पहिलो भेटमै। ‘गालिब यही बसमा जाने कुरा तपाईंलाई थाहा थियो’ अरे। यही प्रश्न पर्याप्त छ उनको मप्रतिको दृष्टिकोण बुझ्न। हो न हो, म गालिबलाई भेट्नकै लागि त्यो बस चढेकी हुँ। यो के सुन्नु परेको मैले ? गालिबसँगको मेरो सम्बन्धको महत्वलाई म उनकै अगाडि कसी लगाएर देखाउन सक्छु। के सोचेकी उनले यस्तो ? यस्तै प्रश्न गरेर मलाई दिक्क बनाइरहेकी उनलाई त्यसो भएर पो चिया पसलतिर लगेका रहेछन् गालिबले। तपाईं मेरो लोग्नेसँग एउटै कक्षामा पढ्ने त्यही मृदुला होइन- कसरी भन्न सकेकी ? हो न हो, म नियतवश उनको लोग्नेको कक्षामा सँगै पढ्थेँ। समस्याको जरो त त्यहीँ भेटिएको थियो गालिब मबाट निरपेक्ष रहन खोज्नुको। तर मेरो सपाट मनले उनको कुरा पछाडिको नियतको भेउ पाउन सकेन।
सायद गालिब र मेरो सम्बन्धका कुरा कटुवाहरूले उनको कानमा विष घोलिदिएका होलान्। जो महिला आफ्नो नवविवाहित लोग्नेप्रति अरूले गरेका नानाभाँती वाहियात कुराहरूमा विश्वास गरेर बस्छे, ऊ कसरी खुसी हुन सक्ली ! मलाई गालिब पत्नीप्रति सहानुभूति जाग्यो। माया लाग्यो उनको मलाई। तर म के नै गर्न सक्छु र ? मैले उनको अगाडि हाम्रो सम्बन्धको स्पष्टीकरण दिइरहनुको के औचित्य रह्यो ? त्यो पुरुष जसकी पत्नीले आफ्नै यति मिल्ने साथीलाई उनकै अगाडि यसरी कटाक्ष गर्छे भने त्यो पुरुषको इज्जत-मान कहाँ पुग्यो ? कसरी सुखी हुन सक्ला ऊ ? मलाई गालिबको अत्यन्त माया लाग्यो यति बेला। हरे म के गर्न सक्छु र गालिबका लागि ?
रात अन्तिम प्रहरतिर गएको संकेत दियो घडीले। भाले बास्न थाल्यो। चराको चिरबिर आवाज आउन थाल्यो। अब म निदाउन सक्ने कुरा भएन। मलाई बिहानै हिँड्नु छ यहाँबाट। तर म अझै स्थिर हुन सकेकी छैन। गालिबसँग अहिलेसम्म नदेखेका सपनाहरू मेरो अवचेतनको पर्दामा तरंगित हुन थाले। खासमा ती मान्छेहरू गालिब र मेरो सम्बन्धको बीचमा जेजस्ता लख काट्ने गर्थे, ती सही निस्किदिएको भए न गालिबको, न मेरो जिन्दगी यो वक्ररेखामा हिँड्नु पथ्र्यो। हामी दुवैको जिन्दगी एउटै सरल रेखामा हिँडिरहेको हुन्थ्यो निर्बाध। तर अब त गालिब सम्बन्धका बँधुवा छन्, म नियतिकी बँधुवा। हामी दुवैको जिन्दगीका यी वक्ररेखाहरूकोे न अन्त्य छ, न त विकल्प। .