सिन्धुलीका सात पालिकामा फैलियो सलह
सिन्धुली : शनिबारबाट जिल्ला प्रवेश गरेको सलह किरा सिन्धुलीको सात वटा स्थानीयतहमा फैलिएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार जिल्लाका नौं वटा स्थानीयतहमध्ये ७ वटामा सलहको प्रकोप देखिएको हो ।
सोमबारसम्ममा जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका, तीनपाटन गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख गाउँपालिका र गोलन्जोर गाउँपालिकामा फैलिसकेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरतप्रसाद विडारीले जानकारी दिए । ‘जिल्लाको दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका र फिक्कल गाउँपालिकामा भने हालसम्म सलह किरा देखा परेको छैन,’ उनले भने ।
सलह किराको संक्रमण देखिएका स्थानहरुमा स्थानीय पालिकासँगको समन्वयमा कृषि ज्ञान केन्द्रका प्राविधिक टोलीले अनुगमन गरेको र क्षति विवतरण संकलन थालिएको पनि उनको भनाइ छ ।‘पाक्दै गरेको मकै तथा लगाउँदै गरिएको धान र धानको ब्याडमा सलहले क्षति गरे पनि जिल्लामा क्षतिको एकिन विवरण आइसकेको छैन,’ विडारीले भने ।
शनिबार बिहान भारतको बिहारतर्फबाट प्रवेश गरेको सलह फट्याङ्ग्रा सिन्धुलीमा एकठाउँमा बसेर क्षति गर्दै अर्को ठाउँमा जाने गरेपछि किसान चिन्तितसमेत बनेका छन् । झुण्ड झुण्डमा देखिएको सलह तीव्र गतिमा फैलन थालेपछि किसान चिन्तित बन्दै नियन्त्रणका लागि हारगुहार माग्न थालेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन बताउँछन् । मरिणको वडा नं. १ को मधुवनी, खलंगा, कात्तिके लगायतका क्षेत्र र वडा नं. २ को खसौरी लगाएतका क्षेत्रमा ठुलो संख्यामा आएको सलहले मकै तथा धानबालीमा क्षति पुर्याएपछि किसान आत्तिन थालेका छन् । शनिबार कमलामाई नगरपालिका २, ८ र १० मा देखा परेको सलह आइतबार मरिण गाउँपालिका र तिनपाटन गाउँपालिकामा पुगेको थियो ।
हरिहरपुरगढी, गोलन्जोर र घ्याङलेख गाउँपालिकामा भने सलहको प्रकोप सोमबारबाट देखापरेको हो । सलहले जिल्लाको सदरमुकाम क्षेत्रमा सबैभन्दा धेरै धान बाली र महाभारत क्षेत्रमा लगाइएको मकैमा क्षति गर्न सक्ने सम्भावना बढेको छ ।