पर्वतमा भित्रियो सलह, चनाखो हुन कृषिको आग्रह
कुश्मा : भारतबाट नेपालको तराई क्षेत्र हुँदै प्रवेश गरेको सलह किराको हुल पर्वतमा पनि आइपुगेको छ । पर्वतको महाशीला गाउँपालिकाबाट प्रवेश गरेको सलह अहिले जिल्लाभरि नै फैलिएको छ ।
५-७ वटा समुहमा रहेको सलहमा प्रत्येकमा ५ सय देखि १० को संख्यामा भएको हुनसक्ने अनुमान गरिएको छ । हावाको चाप दक्षिणबाट उत्तरतर्फ सरेकाले साँझ सलको समुह सदरमुकाम कुश्माको आकाशमा र छिमेकी जिल्ला बागलुङतर्फ अगाडि बढिरहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
सोमबार बिहान ९ बजेतिर पर्वतको महाशीलामा मकै, धान र कोदोको बिऊ खाँदै गरेको अवस्थामा भेटिएको सलह दिउँसो त्यहाँबाट उडेर अन्यत्र सरेको हो । त्यस्तै साँझपख कुश्मा नगरपालिका वडा नं. ९ वितलबमा पनि केहि मात्रामा मकैवालीमा देखिएको थियो ।
उनका अनुसार पर्वत र बागलुङ दुवै जिल्लाका स्थानीय तहका कृषि प्राविधिक, सबै प्रहरी तथा सुरक्षा निकायमा सलह प्रवेश गरेकाले सचेत हुन र नियन्त्रणका उपाय अपनाउन आग्रह गरिएको रेग्मीले बताए । उनले आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, छोप्ने वा धपाउने गरेमा यसले क्षति पुर्याउन नपाउने बताए । अहिले महाशीलामा बाहेक अन्यत्र बालीनालीमा पसेको खवर नआएको उनको भनाइ छ ।
यतिबेला पर्वतमा खेतबारीमा मकैबाली रहेको छ भने धान कोदो रोप्ने बेला भएको छ । यसबाहेक व्यावसायिक रुपमा टनेलबाहिर लगाएको तरकारीबालीमा क्षति पुर्याउन सक्ने भएकाले कृषकलाई सचेत हुन आग्रह गरिएको उनले बताए । 'आत्तिहाल्नु पर्ने र डाउनुपर्ने अवस्था छैन', उनले भने, 'तर सचेत र चनाखो हुनुपर्ने अवस्था रहेको छ । यो एकै ठाउँमा नबस्ने जात भएको र त्यति ठुलो समुहमा समेत नभित्रिएकाले ठुलो क्षति गर्न नसक्ने अनुमान गरिएको छ ।'
अहिले पर्वत र बागलुङ जिल्लाका कुन कुन ठाउँमा सलह प्रवेश गर्यो भनेर सुचना संकलनको काम भइरहेको र नियन्त्रणको थप कार्ययोजना बनाएर अघि बढ्ने तयारी भइरहेको कार्यालयले जानकारी दिएको छ । पर्वतको कुश्मा, विहादी, फलेवास र महाशीला तथा मोदीमा समेत प्रवेश गरेको छ भने बागलुङको जैमिनी, बागलुङ, वडिगाड, बुर्तिवाङका डाँडाहरुमा घुमिरहेको स्थानीय कृषकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !