खेलाडी उत्पादनमा उदासीन

खेलाडी उत्पादनमा उदासीन

भोजपुर : सदरमुकामस्थित टुँडिखेलमा २०३० सालदेखि नै सानाठूला खेलकुद प्रतियोगिता आयोजना हुन्थे। जिल्लास्तरीय फुटबल र विद्यालयस्तरका विभिन्न प्रतियोगिता आयोजना गरिन्थ्यो। २०६९ सालमा गोल्डकप फुटबल पनि आयोजना भयो। उक्त गोल्डकपपछि भने जिल्लामा कुनै ठूला प्रतियोगिता आयोजना भएका थिएनन्।

स्तरीय खेलमैदान र बजेट अभावका कारण प्रतिभावान् खेलाडी पनि उत्पादन हुन सकेका थिएनन्। स्थानीय सरकार बनेपछि फेरि सोही टुँडिखेलमा खेलकुद गतिविधि मौलाएका छन्। भोजपुर नगरपालिकाले पनि सोही टुँडिखेलमा विभिन्न समयमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ।

तर, सामान्य प्रतियोगितामै लाखौं बजेट खर्चिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हुन सकेको छैन। खेलाडीको क्षमता अभिवृद्धि गराउने र व्यवस्थित खेलमैदान निर्माण गर्नेतर्फ कसैको ध्यान गएको पाइँदैन। गत मंसिरमा भोजपुर नगरपालिकाले मोफसलकै ठूलो धनराशिको फुटबल प्रतियोगिता आयोजना गरायो।

नगरपालिकाले ‘मेयर कप पुरुष फुटबल प्रतियोगिता’का लागि १७ लाख र ‘मेयर कप महिला फुटबल प्रतियोगिता’का लागि तीन लाख गरी २० लाख रुपैयाँ बजेट छुट्ट्याएको थियो। तर, उक्त प्रतियोगिताबाट गतिलो प्रतिफल प्राप्त भएको पाइँदैन। प्रतियोगितामा सहभागी टोलीले जिल्लाबाहिरका व्यावसायिक खेलाडी खेलाएको रहस्य खुल्यो।

नगरपालिकाले प्रतियोगिताको नाममा खर्चिएको लाखौं बजेटको दुरुपयोग भएकोमा स्थानीयवासीले टीकाटिप्पणीसमेत गरे। साना खेलकुद प्रतियोगितामै लाखौं रुपैयाँ खर्च गरी बाहिरबाट खेलाडी किनेर खेलाउनाले स्थानीयस्तरका खेलाडी निराश बनेको सरोकारवाला बताउँछन्।

पहुँचका आधारमा खेलाडी किनेर प्रतियोगिता गराउँदा आफ्नो क्षेत्रका खेलाडी पछाडि परेको गुनासो स्थानीय युवा खेलाडी विन्जल रानाले गरे। गलत नीतिका कारण युवा खेलाडी पलायन हुने अवस्था आएको उनले बताए। नगरपालिकाले वर्षभरि ३० लाख रुपैयाँसम्मको खेलकुद गतिविधि सञ्चालन गर्छ।

खेलकुदको नाममा यसरी खर्च हुने खेलकुद गतिविधिबाट दीर्घकालीन फाइदा पुग्ने देखिँदैन। तर, स्थानीय खेलाडीको क्षमता अभिवृद्धितर्फ भने स्थानीय सरकारको ध्यान पुग्न नसकेको उनले बताए। ‘प्रतियोगिता व्यावसायिकताका लागि नभएर मनोरञ्जनका लागि आयोजना हुने गरेका छन्। प्रतियोगिताको सट्टा स्थानीय तहले खेलकुदमा छुट्ट्याउने बजेटले तालिम दिने, प्रशिक्षक राख्ने, दुईदेखि चार महिनाको क्याम्प राखेर खेलाडीलाई प्रशिक्षण गराउन सके आफ्नै स्तरमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सकिन्छ’, फुटबल प्रशिक्षक विनम श्रेष्ठ भन्छन्।

स्थानीय तहहरूले खेलकुद प्रवद्र्धन गर्ने भन्दै बर्सेनि बजेट ल्याउने गरेको छ। लाखौंको बजेटबाट खेलकुद मैदान, कभर्डहल बनाउन होडबाजी चलेको छ। पूर्वी पौवादुङ्मा गाउँपालिकाले क्रमागत योजनाअन्तर्गत ५५ लाख र प्रदेश १ सरकारको एक करोड ३५ लाख रुपैयाँ बजेटमा मीरा राई रंगशाला स्तरोन्नतिको काम अघि बढाएको छ।

गाउँपालिकाले रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्दै गत आर्थिक वर्षमा ५६ करोड रुपैयाँको डीपीआरसमेत तयार गर्‍यो। दुर्गममै पहिलोपटक ल्याइएको यस्तो महŒवाकांक्षी योजनाले जिल्ला नै तरंगित बनायो। विभिन्न दिवस र अवसरमा स्थानीय तहले मनोरञ्जनात्मक खेल खेलाएर लाखौं बजेट सिध्याउने प्रवृत्ति बढ्दो छ।

ठूला धनराशिका खेलकुद गरे पनि अपेक्षाअनुसार खेलाडी उत्पादन नहुँदा बजेट दुरुपयोग बढेको हो। खेलकुदमा देखिएको अनावश्यक बजेटले उपलब्धिमूलक प्रतिफल नपाएको युवा सरोकारवाला बताउँछन्। खेलकुद विकासका लागि भनेर अनावश्यक प्रतियोगिता गराउन लाखौं धनराशि खर्चिने प्रवृत्तिले स्थानीय तहको खेलकुदमा बेथिति बढेको उनीहरूको गुनासो छ।

स्थानीय युवा प्रकाशसिं राई भन्छन्, ‘खेलकुदका नाममा पैसा छुट्ट्यायो, सामान्य प्रतियोगिता आयोजना गरेर बजेट सिध्यायो। पछिल्लो समय यस्तै गलत प्रवृत्तिले प्र श्रय पाइरहेको छ।’ प्रदेश सरकारले पनि खेलकुद पूर्वाधारमा भनेर करोडौं बजेट लगाएको छ।

प्रदेश सरकारले भोजपुर रंगशाला निर्माणका लागि १४ करोड पाँच लाख, षडानन्द नगरपालिकाको दिङ्ला रंगशालालाई क्रमागत योजनाअन्र्तगत ६ करोड, पौवादुङ्मा गाउँपालिकाको मीरा राई रंगशालामा एक करोड ३५ लाख, टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलकुद मैदान निर्माणमा ५० लाख र हतुवागढी गाउँपालिकाको हतुवागढी क्षेत्रीय रंगशाला निर्माण गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

खेलकुद पूर्वाधार निर्माण गर्ने बहानामा बर्सेनि करोडौं लगानी भए पनि युवा खेलाडी लक्षित नीति बनाउन नसक्दा भएका खेलाडी पनि पलायन हुन थालेका छन्। स्थानीय तहले आफ्नो हैसियतअनुरूपको नीति तथा कार्यक्रममा खेलकुद विकासमा लगानी गर्न सके उपलब्धिमूलक हुने स्थानीय नवीन प्रधान बताउँछन्।

उनी भन्छन्, ‘खेलकुद आयोजना अन्तर्राष्ट्रियस्तरको, उपलब्धि गाउँलेस्तरको, सामान्य खेलकुद प्रतियोगितामै लाखौं सकिन्छ, कसरी हुन्छ खेलाडी उत्पादन ? ’ स्थानीय तहले गराउने खेलकुदमा खेलकुद रणनीति राम्रो नहुँदा लगानी गर्ने बजेटअनुरूपको खेलकुदमा टेवा पुग्न नसकेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवाल बताउँछन्।

एकेडेमिक रूपको नीति बनाउन नसक्नुले पनि अपेक्षा गरिएअनुसारका खेलाडी उत्पादन हुन नसकेको उनले बताए।

स्थानीय तहले पनि आफ्नै क्षेत्रमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने किसिमका योजना अघि बढाएको बताएको छ। भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले रातारात परिवर्तन नहुने हुँदा प्रतियोगितामा गरेको लगानीको भविष्यमा राम्रो प्रतिफल आउनेमा आशावादी बन्न आग्रह गरे।

खेलाडीलाई बढावा दिएर लाने किसिमको नीति बनाउन बजेट कम हुने गरेको मेयर आले बताउँछन्। राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सोहीबमोजिमको आर्थिक नीति, व्यवस्थापकीय नीति र दिगो खेलकुद विकासको नीति बनाएर लाग्नुपर्ने उनको बुझाइ छ।

‘खेलकुद शीर्षकमा छुट्ट्याइएको बजेट विभिन्न प्रतियोगितात्मक खेल आयोजना गरेर सक्ने प्रवृत्तिले खेलाडी र दर्शकलाई मनोरञ्जन मात्र दिन सकेको छ। खेलाडीको क्षमता अभिवृद्धि र सीप सिकाइ प्रगति शून्य भएकाले उत्पादनमूलक क्षेत्रमा खेलाडीलाई प्रोत्साहन गर्न सकिएको छैन’, अर्का फुटबल प्रशिक्षक राजु श्रेष्ठ भन्छन्।

खेलकुद प्रतियोगिताहरू सञ्चालन हुनु सकारात्मक भए पनि यसलाई बृहत् योजना बनाएर सम्भावित खेलको प्रशिक्षक नियुक्त गरी नियमित प्रशिक्षण आवश्यक रहेको जानकारहरू बताउँछन्। खेलकुदलाई प्रोत्साहन र व्यवसायीकरण गर्दै खेलाडी उत्पादन गर्न नियमित प्रतियोगिता हुनु आवश्यक भएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवालले बताए। नियमित प्रतियोगिताले खेलाडीभित्र भएका प्रतिभा बाहिर आउने उनी ठम्याउँछन्।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै सबै स्थानीय तहमा नगर तथा गाउँ परिषद् सम्पन्न गरिएका छन्। महामारीका रूपमा फैलिएको कोरोनाका कारण यसपटक स्थानीय तहहरूले कोरोना नियन्त्रणलाई नै प्राथमिकतामा राख्दै योजना र बजेट बनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.