फेरिए तीजका भाका

फेरिए तीजका भाका

काठमाडौं : मध्य असारको दिन छँदै तीजका नयाँनयाँ गीत सुनिन थालेको छ। भाद्र शुक्ल पक्ष तृतीयाको दिन मनाइने तीज पर्व नेपाली नारीको विशेष पर्व हो। हाँसखेल रमाइलो गर्ने र वर्षभरिका सन्देशलाई लयात्मक गीतमार्फत सुनाउने पर्वका रूपमा तीजलाई हेरिन्छ। अर्को अर्थमा गीतैगीतको पर्व हो, तीज।

तीज आउन करिब दुई महिना बाँकी छँदै तीजका भाका गुञ्जिन थालेको छ। केही समय अघिसम्म सासू–बुहारीको दुःखेसो अनि बिहे गरेपछि श्रीमान्को घरमा पाएको पीडालाई गीतमा सुनाइने गरिन्थ्यो। तर अहिलेका गीतमा नयाँनयाँ विषय, लय र शैलीले ठाउँ पाउन थालेको छ। फेसबुकमा माया बसेको कुरादेखि लिएर, विदेश जाँदा घरबार बिग्रिएको विषय, टिकटक बनाएर भाइरल बन्ने रहरदेखि, आधुनिक फेसनमा नाच्न मन लागेको विषयले तीजका भाका समेटिन थालेको छ। तीजको गीतले परिवर्तनलाई अपनाएको देखिन्छ।

हरेक वर्ष सयौंको संख्यामा तीजका गीत सार्वजनिक हुने गर्छन्। यसपालि पनि दर्जनौं गीत युट्युबमा रिलिज भइसकेका छन्। यसपालि कोरोना कहरले सबै मानिस घरभित्रै छन्। कसैले ‘कोरोनाको डर छ माइत नजाम् भो’ भन्दै सन्देशमूलक गीत रिलिज गरेका छन् त कसैले खर्च कम गर्न आग्रह गरेका छन्।

यसै क्रममा गायिका प्रीति आलेले ‘फरिया लरिलै बरिलै’ बोलको तीज गीत युट्युबमा रिलिज गरेकी छन्। गीतसंगीतमा नयाँ शैलीलाई अँगाल्न मन पराउने आलेको यो गीत लोक–रक पाराको छ। झट्ट सुन्दा पप फ्लेवर आउने गीतमा उनी जमेरै नाचेकी छन्। गीतमा पैसाका लागि बूढो श्रीमान्सँग बिहे गर्ने केटीदेखि बाइकमा सँगै बस्दा टाँसिएर बस्न बाध्य आफन्तलाई समेत उनले व्यंग्य गरेकी छन्।

गीतमा उनले बर्खे पानीले फरिया भिजाएको गुनासो गर्दै पैसाको आशमा विदेश गएर जुनी बिताउने श्रीमान्ले मनको पहिरो कहिल्यै बुझ्न नसक्ने गुनासो गरेकी छन्। सदियौंदेखि तीज नारीहरूकै पर्व भएकाले चार बित्ता उफ्रेर नाच्ने केटालाई तीजको गीतमा नाच्ने बेला डिस्टर्व नगर्न अनुरोध गरेकी छन्। युवापुस्ताको रहरलाई आफ्नो गीतमा समेट्न खप्पिस प्रीति गत वर्ष प्रकाश सपूतसँग दोहोरी ब्याटलमा पनि निकै जमेकी थिइन्। विशेषतः आधुनिक शैलीलाई पछ्याएको उनको यो गीतले बूढापाकाको गाली खाने भने निश्चित छ। उनी गीतमा भन्छिन् :

फरिया लरिलै

फरिया भिजायो मेरो बर्खे पानीले

मनको पहिरो बुझेनन् लाहुर जानेले।

आँगनीको डिल भत्कियो माली गाईको खुरले

लरिलै बरिलै

तीजका गीत गाउँछु आज आफ्नै सुरले

नारीकै हो तीजको पर्व नारीकै हो दर

बरिलै लरिलै

चार केटा उफ्रिएर डिस्टर्व नगर।

गाँजा खाने भन्दा त जाती बियर खाने

लरिलै बरिलै

केही नखाने केटा पाउने भाग्यमानी हो।

यस्तै विदेश बसेर दुःख गरेर फर्कंदा श्रीमान्ले सबै सम्पत्ति उडाएको गुनासो गर्दै ‘ससुराली’ बोलको गीत सार्वजनिक भएको छ। बालबच्चाको सुखी जिन्दगीका लागि विदेशमा दुःख गरेर फर्किएकी चेली र उसको  श्रीमान्को झगडाको दृश्यमा यो गीत उनिएको छ।  श्रीमान्– श्रीमतीमा जति नै असमझदारी भए पनि माइती पक्षले सदैव मिलेर बस्न कर लगाउने यथार्थलाई गीतले समेटेको छ। सम्पत्ति कमाउन सकेपछि परिवारमा महिलाको हैसियत अलि माथि उठ्छ र उसले अन्याय सहन सक्दिन भन्ने पक्षलाई यो गीतले उठाएको छ। गीतमा पुरुषोत्तम न्यौपाने र तेजेश रेग्मी, मञ्जु विक, गणेश पौडेलको स्वर छ।

गीतको शब्द छ :

वर्षौंपछि भेट हुँदा नि राम्रोसँग बोल्दिन।

यसको मनमा के छ कुरा खोल्दै खोल्दिन

पहिला त ठीकै हो,

अहिले त फूर्ति निकै भो।

यस्तै आयुषा गौतम र गीतादेवी, हेमन्त कान्छाको स्वरमा रहेको विधवा शीर्षकको गीत पनि रिलिज भएको छ। बिहे भएको एक वर्षमै श्रीमान् गुमाएकी चेलीको दुःखपीडा गीतमा समेटिएको छ। घरमा सासूको हेलाहोचोमा परेकी चेलीलाई सासूससुराले अति गाली गर्छन्। गीतले सामाजको गलत चलनमाथि प्रहार गरेको छ।

विष्णु पाण्डे र सीमा सासूले भाइरल हुने हो बोलको गीत सार्वजनिक गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जाल टिकटिकमा भिडियो बनाउने र भाइरल हुने चलन व्यापक रूपमा फैलिएको छ। यही चलनलाई व्यंग्य गर्दै तीजको गीत रिलिज भएको हो। हरेकलाई चर्चा हुनु छ। राम्रो गरेर वा नराम्रै गरेर होस्, भाइरल हुने रहर सबैलाई छ।

रातो साडी लाउने, तीजको गीत गाउने

तिमी र म मिलेर टिकटिक बनाउने

चर्चा धेरै छ

भाइरल हुनलाई खर्च धेरै छ।

यस्तै टिकटककै विषयमा समीक्षा अधिकारी र राजेन्द्र कँडेलको स्वरमा अर्को गीत पनि आएको छ। ‘टिकटिक काण्ड’ बोलको गीतमा दाल पकाउँदा चिनी हाल्ने, चियामा नुन हाल्ने  श्रीमती र  श्रीमान्को झगडालाई समेटिएको छ। श्रीमती टिकटकले बिग्रिएको र  श्रीमान् रक्सीले बिग्रिएको भन्दै एकअर्कालाई आरोप लगाउँदै कमेडी पारामा गीतको भिडियो बनाइएको छ।

यै मोबाइलले ल्यायो हामी दुईमा फाटो

दालमा चिनी हालिछे नुन हाल्नुका साटो।

गाउन नि पाइने नाच्न नि पाइने,

रुन नि पाइने, हाँस्न नि पाइने,

टिकटिक भएसी मेरी बूढीलाई केही नि नचाइनी...

यस्तै पछिल्लो युवा पुस्ताको सकीनसकी रिनधन गरेर गाडी चढ्ने रहरलाई पनि तीज गीतमा समेटिएको छ। जिम्वालको छोरा भएकाले आफूसँग पैसाको कमी नभएको बताउँदै गीतमा पुस्तौनी सान देखाउनेहरूलाई व्यंग्य छ। एमटी महर र पूर्णकला बीसीले करोडौंको गाडी बोलको गीतमा भनेका छन् :

गाउँमै जन्मेँ गाउँमै हुर्कें कहिल्यै दुःख पाइनँ

जिम्वाल बाउको एक्लो छोरो मनको कमी छैन

धुलो उडाउँदै, नाइलनको साडीमा

दुःख हुन्छ मायालाई, हिँड्न दिँदिनँ

घुमाउँछु करोडको गाडीमा।

पहिले पहिले दुःखपीडा मात्रै तीज गीतमा सुनिन्थ्यो। अहिले भने सामाजिक समस्या र विकृतिविरुद्ध पनि कलाकारले गीत रचना गर्ने गरेका छन्। संसारभर देखिएको कोरोनाको डरले गर्दा विदेश जानेहरू उतै रोकिए। दुःखसुखले गाउँ फर्किएको छोरोलाई आमाले घरमा आउँदा वास्ता नगरेको र क्वारेन्टाइनमा बस्न आग्रह गरेको विषयमा पनि गीत बनेको छ।

‘तीज महामारी काण्ड’ बोलको गीत एक हप्ताअघि बजारमा आएको हो। खेम सेन्चुरी, अञ्जली अधिकारी र देवी घर्ती एवं शर्मिला गुरुङको स्वरमा रहेको गीतमा भनिएको छ :

जाँदा अलि पालतो थिएँ अहिले मोटो भा’को छु

बाहिर हेर आमा तिम्रो छोरो आ’को छ।

भनेजस्तो हुन्न रै’छ आए प्रदेश घुमेर

आशीर्वाद लिन्छु आमा गोडा ढोगेर।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.