किसानसँग मेयर कार्यक्रम

किसानसँग मेयर कार्यक्रम

जाजरकोट : छेडागाड नगरपालिकाले किसानसँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ। कोरोना भाइरस महामारीसँग जुध्ने गरी आगामी आर्थिक वर्षको बजेटमा यो कार्यक्रम समेटिएको हो। कोरोना महामारीबाट नगरवासीलाई सुरक्षित गर्दै उत्पादनमा जोड दिने बजेटले नीति लिएको नगरप्रमुख लालबहादुर महतराले बताए।

किसानसँग मेयर कार्यक्रम सञ्चालन गरी कृषकलाई परामर्श दिने र किसान सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बजेटको मुख्य लक्ष्य छ। छेडागाड नगरपालिकाकामा रहेका झण्डै ७ हजार घरधुरीमध्ये करिब तीन हजार घरपरिवारका सदस्य कुनै न कुनै रूपमा मजदुरीका लागि भारतमा जाने गरेका छन्। आगामी आर्थिक वर्षमा भारतलगायत तेस्रो मुलुकमा गएर मजदुरी गर्न जान सक्ने देखिँदैन।

त्यसैले स्वरोजगारीका कार्यक्रम सञ्चालन गरी नगरबासीको जीविकोपार्जनका लागि कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्घि गर्न कृषकलाई प्रोत्साहन गर्ने नीति लिइने बजेटमा उल्लेख गरिएको छ। यस अन्तर्गत पकेट क्षेत्र सञ्चालन, बाँझो, ऐलानी, पर्ती जग्गामा खेतीपाती लगाउन प्रोत्साहन गरिनेछ। कृषकलाई व्यावसायिक पशुपालन तथा प्रांगारिक मल उत्पादनमा समेत प्रोत्साहन गरिनेछ। दूध उत्पादनलाई वृद्घि गर्न आवश्यक बजेट विनियोजन गरिनेछ। आगामी वर्ष कृषि र कृषि उपजको उत्पादनमा उल्लेख्य वृद्घि गर्न संस्थागत र कार्यक्रमगत व्यवस्था गरिने नगरप्रमुख महताराले बताए।

कृषि र पशुसेवा अध्ययन गरेका स्वयंसेवक परिचालन गरी उत्पादकत्व वृद्घि गर्न एक वडा एक प्राविधिक जनशक्तिको भर्ना गरी काममा लगाइने बजेटमा उल्लेख छ। व्यावसायिक बाख्रापालन गर्न चाहने कृषि उद्यमी, कृषि फर्म र समूहलाई लागत साझेदारीमा आधारित कार्यक्रम तर्जुमा गरिनेछ। खाद्य सम्प्रभुताको हक सूनिश्चित गर्न परम्परागत र रैथाने बालीको संरक्षण गर्ने नीति लिइनेछ। मध्य पहाडी क्षेत्रका किसानको जीविकोपार्जन सुधार गर्न दुग्ध विकास कार्यक्रम सञ्चालन गरिनेछ। उत्पादन पकेट क्षेत्र घोषणा गरी एक वडा एक बाली उत्पादन कार्यक्रम सञ्चालन गरिने विषय बजेटमा समेटिएको छ।

साथै प्रदेश सरकारसँगको साझेदारीमा पायक पर्ने ठाउँमा हाटबजार तथा संकलन केन्द्र निर्माण तथा सञ्चालन गर्ने व्यवस्था गरिनेछ। कृषि उद्यमी तथा फर्म, समूहलाई औजार तथा बीउबिजनमा सहुलियत प्रदान गरिनेछ। प्रदेश सरकारसँगको साझेदारीमा कृषि बाली बिमा तथा पशु बिमा कार्यक्रम सञ्चालन गरिनेछ। उत्पादन बढाउन र प्रोत्सानका लागि नगरपालिकामा उत्कृष्ट कृषक घोषणा गरी पुरस्कृत गरिनेछ। छेडागाड नगरपालिका जाजरकोटले आर्थिक वर्ष २०७७/७८ लागि करिब ६४ करोडको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाका नगर उपप्रमुख सरिता वलीले आगमी आर्थिक वर्षका लागि कुल ६३ करोड ८४ लाख २३ हजारको बजेट प्रस्तुत गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.