छाप्रोभित्र छाप्रोबाहिर

छाप्रोभित्र छाप्रोबाहिर

‘के छ ?’ सधैँजसो उही प्रश्न तेस्र्याउँछ ऊ मेराअघि। 

हामी सडक छेवैको चिया पसलमा (चिया पसल पनि के भन्नु यसलाई, एउटा प्राचीनतम छाप्रोभित्र केही टेबुल र स्टुलहरू, बस् !) मा बसेर गफ चुट्ने तरखरमा छौँ। तर त्योभन्दा पहिले खल्ती छाम्छौँ, स्थितिप्रतिको औपचारिक सजगतापश्चात् दुई कप मिल्क-टी र दुई खिल्ली सूर्य रेड मगाउँछौँ। 
‘के छ त ?’ फेरि उही प्रश्न। 

‘के हुनु ? बिहानदेखि जीउ सक्सकाएको छ, टाउको दुखिरहेको छ, बीच सडकमा गएर सिंगो देशलाई सरापूँजस्तो लाग्छ। देशको अनुहारमा मुतौजस्तो लाग्छ। जसलाई देख्यो त्यसैमाथि थुकिदिन मन लाग्छ। भुस्याहा कुकुर देख्यो कि लात्तैलात्ताले बजाऊँजस्तो लाग्छ। के यी पागलपनका प्रारम्भिक लक्षण हुन् ?’ 
‘होइनन् ! यी त कम्युनिस्ट देशमा जिउनुका लक्षण हुन्।’ ऊ धुवाँ उडाउँदै फिस्स हाँस्छ। 

छाप्रोमा अनेक थरीका मान्छेको आगमन र प्रस्थान भइरहेको छ। प्रायःजसो यहाँ कलेज पढ्ने अल्लारेहरू आउँछन् र यो जक्सन प्वाइन्टमा बसेर चुरोटसँगै अनभिज्ञ भविष्य उडाएर जान्छन्। भोलिका ग्रिनकार्ड वा खाडीका कामदारहरू आज एक चोक्टा जीवन निस्फिक्री बाँच्न चाहन्छन्। तर यो देश ! फेरि पनि बेस्कन खकारेर थुक्न मन लाग्छ यसको कुरूप अनुहारमा। 

एउटा थोत्रो ट्याक्सी हुत्तिएर जान्छ मूल सडकमा। एकपछि अर्को कुद्छन् बाइक र स्कुटरहरू। छाता ओढेर-आज चर्को घाम जो लागेको छ- हतार हतार डोर्‍याउँछन् आफैँलाई काठमाडौँवासी। कति हतार छ हगि यहाँका मान्छेलाई ! भुस्याहा कुकुरहरू भने सडकछेवैमा उपेक्षित लम्पसार सुतिदिन्छन्। एक सपाट विरोधाभास ! मात्र मान्छेहरू भित्ते घडीभन्दा पनि छिटोछिटो कुद्छन्। तर गन्तव्य ? यी सब मान्छेहरू कहाँ पुगेर सुस्ताउँछन् ? सायद मृत्युको आलिंगनमा। 

‘भैगो ! मर्ने मार्ने कुरा छोड्दे !’ म झस्कन्छु र एकाएक रिस उठ्छ। के ऊ माइन्ड रिडर हो ?
‘रिसाउँदा तँ मान्छेजस्तो पनि देखिन्नस् यार !’ तीतो व्यंग्य पस्कँदै ऊ चियाको अन्तिम चुस्की लिन्छ, धुवाँ उडाउँछ, फिस्स हाँस्छ र खल्ती छाम्दै भन्छ, ‘चिया खाने फेरि ?’ 
म समर्थनमा मुन्टो हल्लाउँछु। 

बूढो पीपलको रूखमा केही थान काग आएर कराउँछन्। त्यो पनि मध्याह्नमा, कारणहीन ! एउटा चिसो निद्राले छोलाजसरी कुत्कुत्याएर जान्छ, मलाई। 

हामी चुपचाप चिया पिउँछौँ। हामीभित्रको जिनियस रूप सुषुप्त छ, मौन छ। त्यसो त हामीले एकअर्कालाई धेरैपल्ट जिनियस हुनुको घोषणा गरिसकेका थियौँ, गरिरहेका छौँ पनि। चाहे त्यो संसारको सबैभन्दा टपरटुय्याँ विश्वविद्यालयको क्यान्टिनमा आलुचना खाँदा होस् वा साँझभर जाँड धोकेर ठमेलका गल्लीहरूमा हल्लिँदा होस्— हामीले एकअर्काको इन्टलेक्टलाई स्वीकार गरेका छौँ। कतिसम्म भने रक्सीले टिल परेर आँखा नदेख्ने हुँदा पनि हामीले एकअर्कालाई जिनियस भनिरहेका हुन्छौँ। 
‘म के जिनियस ? मभन्दा त तँ जिनियस !’ 
‘हँ ? के भनिस् ? म जिनियस ? नो-नो, यु आर जिनियस !’ 
‘चूप साले, तँ जिनियस।’ 
‘बढ्ता नबोल् मुला, तँ जिनियस। फुल एन्ड फाइनल कुरो।’ 
ऐ... ऐ...।
तर अहिले १० वर्षको अन्तरालपछि पनि हामीभित्रको जिनियस रूप मरिसकेको छैन, मात्र निदाएको छ। साला कुम्भकर्ण बनेको छ अहिले ! 

‘तैँले लेख्न नछाड्नुपर्ने !’ ऊ मलाई सयौँपटक आत्मबोध गराउँछ, वा भनौं आत्मग्लानिमा पगाल्न खोज्छ। 
‘लेख्न छाडेर झुर काम गरिस् तैँले।’ चियाको सर्कोसँग ऊ मुख कुच्याएर बोल्छ, खकार्छ, थुक्छ झ्यालबाहिर। चुरोटको एक लामो सर्को तान्छ, नाकबाट मुस्लो पारेर निकाल्छ, फेरि थुक्छ झ्यालबाहिर। 
बूढो पीपलको रूखमा केही थान काग आएर कराउँछन्। त्यो पनि मध्याह्नमा, कारणहीन ! एउटा चिसो निद्राले मलाई छोलाजसरी कुत्कुत्याएर जान्छ। त्यो भूपीको कवितामा जस्तै। म एकतमास सिफल चौरमा फोहोरी केटाकेटीहरूको धुलौटे खेल हेरेर ब्यूँझने चेष्टा गर्छु। केटाकेटीहरू एउटा गोलाकार — फुटबलजस्तो तर फुटबल भन्न नलिल्ने — पिण्डलाई लात्तैलात्ताले बजाउँछन्।  केही बेर समय मौन बित्छ। 
छेवैको टेबलमा कलेज स्टुडेन्ट टाइपका अनुहारहरू साटिरहेका हुन्छन्, भविष्यका सुनौला योजनाहरू। 
‘लोकसेवाको फर्म भरिस् ?’ 
‘छैन !’ 
‘जिआरी दिने ?’ 
‘खै...’ 
‘लोकसेवा भर मुला।’
‘भर्ने र ?’ 
‘नौ हजार मागेको छ। चरो-मुसो सबको नाम निस्कन्छ।’
‘घुस खान गाह्रो छ रे त अचेल।’
‘कल्ले भन्या ? मेरो अंकलले घर बनाइसके दुई वर्षमा। त्यो पनि काठमाडौमा।’
‘राजस्वमा हो ?’
‘हो, मुला !’
कतै पढेको थिएँ— मान्छे आफूले जुन लेभलको सोच्छ, त्योभन्दा १० गुना निम्न कोटीको काम गर्छ। यो भनाइ मलाई औधि मन पर्छ। चुरोट पार्टनरलाई सुनाउँछु। ऊ हाँस्छ मात्रै— फिस्स। सालेले हाँस्नबाहेक केही पनि सिकेनछ कि क्या हो यो जीवनमा ? तर खैर, त्यो भनाइ कसको हो ? अल्वेर कामु ? कि शंकर लामिछाने ? के नै फरक पर्छ— दुवै जना उस्तै होइनन् र ? हात्ती र हात्तीछाप चप्पलजस्तै। 
‘अब यो वाक्य तेरो भयो।’ चुरोटको बटलाई एस्ट्रेमा मारेर ऊ बोल्छ। 
‘कसरी ?’ 
‘तैँले बोलिस् नि त, सो !’ 
‘यो त सरासर प्लेजरिज्म भएन त ?’ 
‘कहाँ हुनु ? ब्याड राइटर्स कपी, ग्रेट राइटर्स स्टिल।’
‘टी. एस. इलिअट ?’
‘हु केयर्स !’ ऊ हाँस्छ खितखित। 
बाहिर सपाट घाम उसैगरी लागिरहेको छ। ट्याक्सी र बाइकहरू उसैगरी कुदिरहेका छन्। छाताहरू हल्लिँदै जान्छन्। केवल भुस्याहा कुकुरहरूलाई आनन्द छ यो देशमा, उनीहरूसँग मनग्गे समय जो छ। पीपलको बोटमा कागहरू उसैगरी कराइरहन्छन्— के यो कुनै अशुभ संकेत हो ? लोक सेवाका फारामहरू कति बेला छाप्रोबाट कुलेलाम ठोकिसकेछन्— पत्तै भएन। साहुनीको ‘चिया ल्याऊँ भाइहरूलाई ?’ले हामीलाई हाम्रो फोस्रो रोमान्टिसिज्मबाट रियालिज्ममा लछारेर ल्याउँछ। हामी स्थितिबोधले रन्थनिन्छौँ। फेरि पनि। 
केही थान नोट तिरेर बाहिरिँदा आफूमा किर्नाजस्तै टाँसिएको घृणाले लगातार रगत चुसिरहेको ज्ञात हुन्छ। र त्यो घृणालाई उप्काउन नसकेर रन्थनिँदै हामी मूल सडक भएर डेरासम्म पुग्ने बाटोमा लाग्छौँ। 
‘ल यार, भेट्दै गर्नुपर्छ।’ छुट्ने बेलामा ऊ यत्ति भन्छ। 
‘ल !’
हामी हस्तमिलाप गर्छौं।
‘लेख्न चैँ नछाडेस् के।’

उसको फेयरवेल रिमार्कले मलाई आकुल तुल्याउँछ। कस्तो चुतियात्मक अभिव्यक्ति दिन्छ यो बेला-कुबेला। 
म फ्रान्ज काफ्का सम्झिन्छु। नलेख्ने लेखक दानवतुल्य हुन्छ, जो पागलपनसँग प्रेम गरिरहेको हुन्छ। अ मोन्स्टर कोर्टिङ इन्स्यानिटी ! काफ्काले कतै यस्तै लेखेका थिए क्यारे !

सडकछेउ उभिएर सोचिरहन्छु। सोचाइका काला पाखुराहरू चलमलाउँदै एउटा अक्टोपसजस्तो बीभत्स शून्यता मभित्र विकास हुन थाल्छ। के अब यसले आफ्नो घिनलाग्दो अँगालोमा मलाई कस्न थाल्नेछ ? सयौँ पाइतालाले उडाएको धुलोले मलाई यसरी रुमलिरहन्छ कि यो धुलो पनि अक्टोपस हो अर्को। अक्टोपसहरूका बलिष्ठ पाखुराहरूले म उचालिन थाल्छु महाशून्यतामा। 

चुरोटको तलतल लागेर आउँछ। गोजी छाम्छु, फेरि महाशून्यता। मोटी साहुनी चुरोट उधारोमा दिन्न क्यार। बाटामा फ्याँकिएका ठुटाहरू हेर्छु। अचेल सल्काउन मिल्ने ठुटो नै फाल्दैनन् असत्तीहरू। अँ साँच्चि, मैले यो चुरोट पिउने कार्यको शुभारम्भ कहिलेदेखि गरेँ ? सायद बाइसौँ जन्मोत्सवबाट। त्यो ऐतिहासिक दिन सम्झेर रिस उठ्छ। अब चुरोटले होलाजस्तो छैन, गाँजा तान्ने सत्कार्य गर्नपर्छ। तर त्यस्तो दयालु स्पोन्सर कहाँ पाउने यो स्वार्थीहरूको खाल्डोमा ?

डेरामा फर्कनुसिवाय अब मसँग अर्को उपाय छैन। डेरा पनि के भन्नु त्यसलाई— एउटा पुरानो खाट, मरन्च्याँसे टेबुल, केही थान किताब र आङ ढाक्ने जीर्ण कपडाहरू। डेरा सम्झेर दिक्क लाग्छ। डेराप्रति अराजकता जाग्छ, यो सिंगो सहरप्रति अराजकता जाग्छ। साला यो ‘अराजकता’ भन्ने शब्द पनि मैले पत्रिका अथवा रेडियोबाट नै उप्काएको हुनुपर्छ। क्रिएटिभिटी भन्ने कुरा त रत्तिभर पनि बाँकी छैन ममा। 

रिस उठ्छ। अचेल मलाई रिस छिटोछिटो उठ्छ। अब त सारा जीवन नै एकसाथ बान्ता गरे पनि पुग्दैन। यो सिंगो समयलाई विस्थापित गरिदिऊँजस्तो लाग्छ। मिल्छ भने त आफ्नै शरीरलाई बन्चरोले दुई फ्याक पारेर फ्याँक्न हुन्थ्यो बाग्मती नामको ढलमा। मेरो मृत्युसँगै एउटा मिथ्या इतिहास, एउटा झूठो सत्य त मथ्र्यो कमसेकम। तोर्पे सहरको महातोर्पे लेखक भएर हल्लिनुको के अर्थ ? अनि मरेका लेखकका पुस्तकहरूमा जुकासरि टाँसिएर शब्द चुस्ने नीच प्राणी पनि लेखक हुन्छ ? उफ्, पाखण्डीपनको पराकाष्ठा ! 

फुटपाथमा एक बोझिल जीवन घिसारिरहँदा मलाई अन्त्यको अस्तित्वबोधले हिर्काउँछ। अब छिट्टै यी सब असमर्थतालाई भुलेर, विस्मृतिको कुनै अनाम नदीमा हामफालेर, एक विशाल शून्यताभित्र बग्दै अनि हराउँदै जीवन जिउनुको झिनो अभिनयको पनि अन्त्य गर्ने उत्कट अभिप्शा जागेर आउँछ। र उसैगरी म शून्य सडकमा शून्य शरीर घिसार्दै डेरासम्म पुग्छु।  

@bibek_writes


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.