‘जोखिम छ तर कहाँ जाने ?’

‘जोखिम छ तर कहाँ जाने ?’

शुक्लागण्डकी (तनहुँ) : तुलसी सुवेदी पुल्चोकमा बस्न थालेको ३२ वर्ष भयो। अरू बेलाको बसाइ रमाइलो भए पनि वर्षा सुरु हुनासाथ उनको मुटुमा ढ्यांग्रो बज्न थाल्छ। ‘पानी पर्न थालेपछि कतिखेर घर छाडेर जानुपर्ने हो भन्ने पीरले सताइहाल्छ,’ शुक्रबार बिहान सेती र सुरौंदी खोला उर्लेर बस्तीमा पसेको खबर पाएर त्यहाँ पुग्दा उनी बचेका सामान झिकेर फर्कंदै थिए।

उनी सामान लिन जाँदा सुरक्षाकर्मीले रोकेका पनि थिए। उनी अटेर गरेरै अघि बढे। झोलुंगे पुलमा सेतीको छाल पुगिसकेको भए पनि हतारहतार फर्किए। उनले भने, ‘जोखिम छ, थाहा छ तर ठाउँ नभएपछि कता जाउँ ?   ’

हेर्दा ज्यानै सिरिंग हुने गरी सेती नदी अनि सुरौंदी खोला बस्तीमा पस्ने समस्या शुक्लागण्डकी नगरपालिका ४ र ८ मा पर्ने पुल्चोकका बासिन्दाका लागि नियमित बनेको छ। अति जोखिमपूर्ण क्षेत्रमा बसेका स्थानीय ४० बढी घरपरिवार हरेक वर्ष त्रासमा बाँचिरहेका छन्। विकल्पको आश्वासन कहिल्यै पूरा हुन सकेको छैन। वर्षौं पुरानो समस्यामा सरकारले चासो नदिँदा त्यस क्षेत्रका मानिसको बिचल्ली हुने गरेको छ। यस क्षेत्रका ४० भन्दा बढी घरधुरी वर्षा आउनासाथ कहिले भाग्नुपर्ने हो भन्ने त्रासमा बाँचिरहेका हुन्छन्। निकास निस्कँदा हरेक वर्ष बाढीको जोखिम अनि मानिस विस्थापित हुने समस्या दोहोरिइरहन्छ। यस्तो समस्या भोग्दै आएको धेरै समय भए पनि निकास ननिस्कँदा स्थानीय करिम खान उदास छन्। ‘हाम्रो समस्या नयाँ होइन,’ परिवारसहित घर छाडेर वारि आएका उनले भने। वर्षा सकिए पछि सबैका वाचा हराउने उनको गुनासो छ।

यसरी जोखिममा परेकाहरू प्रायः निम्न वर्गका छन्। चार जनाको परिवारसँगै बसेकी सुनिता परियार घरबाहिर रहेका पतिलाई इमोमा परिवारको बिजोग भएको सुनाउँदै थिइन्। उनको घरमा सेती पसेकाले नजिकैको समाज भवनमा उनीहरू अहिले बसिरहेका छन्। हरेक वर्ष बस्तीवासीको बिजोग देखिरहेका स्थानीय व्यवसायी हरिबहादुर खड्का समाधान खोज्ने कार्यमा ढिला गर्न नहुने बताउँछन्। ‘सधैं बस्तीमा खोला पस्ने र मानिस त्रासमा बढ्ने अवस्था छ। यसका लागि स्थायी निकास दिनुपर्छ।’

बर्सेनि बाढी आउनासाथ पुग्ने जनप्रतिनिधिको आश्वासन मात्रै हुन्छ। पोहोर साल बस्ती नै सार्ने योजना बने पनि काम हुन सकेन। यसपालि पनि अवस्था उस्तै भए पछि अब तीनवटै तहका सरकारमा कुरा पुर्‍याउने प्रदेशसभा सदस्य आशा कोइरालाको प्रतिबद्धता छ। ‘पोहोर विकल्प नभएकालाई ठाउँ दिने कुरा भएको हो,’ उनले भनिन्, ‘तर अझै हुन सकेन। मेरा तर्फबाट पहल गर्छु।’

हाल विस्थापित परिवारलाई शुक्लागण्डकी ८ वडा कार्यालयले बस्ने र खाने व्यवस्था गरेको छ। वडा नम्बर ४ तर्फका लागि पनि समाज भवनमा वैकल्पिक व्यवस्था गरिएको छ। दुवैतर्फ गरी डेढ सय बढीलाई तत्कालका लागि आ श्रय र खाने व्यवस्था गरिएको छ। अब उनीहरूको दीर्घकालीन समस्या समाधानका लागि पनि पहल गर्ने प्रतिबद्धता वडाध्यक्ष कृष्ण रेग्मीको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी पनि समस्या समाधानमा गम्भीरतापूवर्क लाग्ने दाबी गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.