पहिरोले परिवारै उजाड्यो

पहिरोले परिवारै उजाड्यो

दमौली : तनहुँको ऋषिङ–८ भैंसीकिलेका आनबहादुर र उनका भाइ हरिकुमार थापाको संयुक्त परिवार थियो। नछुट्टिई बसेको उनीहरूको परिवारलाई आइतबार मध्यरात पहिरोले उजाड पारिदिएको छ। एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्।

आनबहादुरका साहिला छोरा भेषबहादुर, बुहारी नानीमाया, अर्की बुहारी मनिसरालाई पहिरोले खोसेको छ। मनिसरा तीन महिनाकी गर्भवती थिइन्। भेषबहादुरकी छोरी अमिषासँगै आनबहादुरका अर्का छोरा महादेवको पनि ज्यान गएको छ।

अघिल्लो दिनदेखि पानी अविच्छिन्न परिरहेको थियो। दुई परिवार सँगै भए पनि आनबहादुरका छोराबुहारी छेउको घरमा बस्थे। खाना सँगै खाने उनीहरू आइतबार राति अबेरसम्म एकसाथ थिए। ‘पानी परेको पर्‍यै छ, कति खेर के हुने हो ? ’, भेषबहादुरको बोली सम्झिँदै काका हरिकुमारले भने, ‘आज बरु सँगै बसौं।’

केही समयअघि घरनजिकै ढिस्को खसेकाले घनघोर वर्षा हुँदा भेषबहादुरलाई चिन्ता परेको रहेछ ! ‘आज सँगै बस्नुपर्छ के हो’, भेषबहादुरले यसो भने पनि परिवारले गम्भीरतापूर्वक लिएन। ‘ऊ सधैं ठट्टा गथ्र्यो’, हरिकुमारले भने, ‘हामी दाजुभाइ एउटै घरमा बस्ने भएकाले सँगै भए पनि उनीहरू खाना खाएपछि गए।’

सुत्न जानुअघि भेषबहादुरले कोरोनासँग लड्ने भन्दै प्रतिरोध क्षमता बढाउने औषधि बाँडेका थिए। ‘बेलुका सबैले सँगै खाइयो’, भेषबहादुरको भनाइ उद्धृत गर्दै हरिकुमारले भने, ‘भोलि बाँचियो भने सबैले सँगै खाउँला।’ भेषबहादुरले सधैंझैं ठट्टा गरेका होलान् भन्ने लाग्यो अरूलाई। तर, यसो भनेर गएको केही घण्टामै सधैंका लागि विलीन भए।

हरिकुमार र आनबहादुर बसेको घरमा पनि पहिरो खस्यो। तर, सँगै भएकाले उनीहरूले हत्तपत्त ज्योतिमायालाई उद्धार गर्न भ्याए। ‘भाउजूलाई त सँगै भएकाले जोगाउन सक्यौं’, हरिकुमारले ग्लानि भावमा भने, ‘उसले (भेषबहादुर) भनेझैं सँगै बसेको भए सबै बाँचिन्थ्यो कि !’

मध्यरातमा भएको घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै स्थानीय उद्धारमा खटिएका थिए। गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मानिसले मात्र नसकेकाले जेसीबी ल्याएर बेपत्ताको खोजी थालिएको बताएका थिए। गाउँपालिकाले पीडित परिवारलाई तत्काल १ लाख रुपैयाँ सहयोग गरेको छ।

माझफाँटमा चारको मृत्यु

व्यास–९ माझफाँटमा केशवबहादुर थापाको घर पहिरोले पुर्दा तीन जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन्। केशवकी श्रीमती ३५ वर्षीया कमला, परिवारका २४ वर्षका मनोज र २१ वर्षकी अञ्जना थापाको ज्यान गएको हो। सोही परिवारका २० वर्षका राजेश थापा बेपत्ता छन्।

सोही ठाउँका मानबहादुर घर्तीको घर भत्किँदा उनकी आमा ७० वर्षीया मैती घर्तीको ज्यान गएको छ। व्यास–११ राम्चेमा पहिरोले पुर्दा एक बेपत्ता छन्। भाइको घर गएका पदम चेपाङ पहिरोमा परेका हुन्। उनको खोजी जारी रहेको वडाध्यक्ष नीरबहादुर खड्काले बताए। म्याग्दे–६ बेलौतीडाँडामा घरमा पहिरो खस्दा घाइते भएकी लक्ष्मी विकको उपचारका क्रममा दमौलीको रत्नहरि अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

यो सिजनकै बढी वर्षा

तनहुँका चार ठाउँमा आइतबार राति एकसाथ ठूलो पहिरो जाँदा १० जनाको ज्यान गएको छ। दुई जना बेपत्ता छन्। यसरी एकैचोटि धेरै क्षति हुनुमा अधिक वर्षा प्रमुख कारक रहेको मौसम विज्ञान विभागका अधिकारीले बताएका छन्।

आइतबारदेखि सोमबार बिहानसम्म श्याम्घामा मापन गरिएको २ सय ८४ मिलिमिटर वर्षा यस क्षेत्रको सिजनकै अधिक भएको उनीहरूको भनाइ छ। जल तथा मौसम विज्ञान विभागको क्षेत्रीय कार्यालय पोखराले पछिल्लो २४ घण्टामा मापन गरिएको वर्षा यस सिजनकै बढी देखिएको जनाएको छ। खैरेनीटारमा २३१.५ मिलिमिटर र दमौलीमा १४५.५ मिलिमिटर वर्षा भएको थियो। दमौली क्षेत्रमा यसअघि शनिबार ८.५ तथा शुक्रबार १२.५ मिलिमिटर मात्र वर्षा भएको रेकर्ड कार्यालयले गरेको छ।

लमजुङ भोर्लेटारमा गरिएको मापनमा २ सय ६० मिलिमिटर वर्षा रेकर्ड भएको थियो। यसका कारण पनि तनहुँ जिल्लाभर पानीको सतह बढेकाले सबैजसो नदी र खोलामा बाढी आएको मौसम विज्ञान सहायक सरोज अधिकारीले बताए। ‘यस सिजनमा क्षेत्रकै अधिक वर्षा तनहुँमा भएको देखिन्छ’, उनले भने, ‘त्यसकारण नदीमा सतह बढ्ने र क्षतिको अवस्था बढी देखिएको हो।’ कार्यालयअन्तर्गत साविकको पश्चिमान्चल विकास क्षेत्रका एक सय २१ ठाउँमा वर्षा मापन गरिने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.