पहिरोमा पुरिएका एकजनाको शव भेटियो
दमौली : आइतबार राती अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका व्यास ११ राम्चेका पदम भुजेलको शव भेटिएको छ। भाइको घर आएका बेला पहिरोले पुरेपछि उनी सोमबार यता बेपत्ता थिए। सोमबार दिनभर प्रहरी, सैनिक र स्थानीयले खोजी गरे पनि नभेटिएका उनको शव मंगलबार भेटिएको हो।
सोमबार दिनभरको प्रयासमा पनि नभेटिएपछि मंगलबार जेसीबीको सहायताले बेपत्ता भुजेलको शव फेला पारिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। ‘जेसीबी लगाएपछि मात्र शव भेट्टायौं,’उनले भने। आइतबारको पहिरोमा परी ऋषिङमा एकै परिवारका पाँचको पुरिएर ज्यान जाँदा व्यास ९ माझफाँटमा तीन जनाको मृत्यु भएको थियो। सोही ठाउँमा बेपत्ता २० वर्षका राजेश थापाको खोजी जारी छ।
पदमको शव भेटिएसँगै तनहुँमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने एक बेपत्ता भएका छन्। तनहुँ प्रशासनले पहिरोमा पाँच जनाको ज्यान गुमाएका ऋषिङ ८ भैंसीकिलेका परिवारलाई जनही एक लाखका दरले राहत वितरण पनि गरेको छ। अन्य प्रभावितलाई पनि क्रमैसँग राहत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए। ‘सबैतिर राहत वितरण गर्दैछौं,’ उनले भने। व्यास ११ राम्चेमा पहिरोले पुरिएर बेपत्ताको खोजी गर्दै प्रहरी, सैनिक र सर्वसाधारण।