पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यु
गोरखा : पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यु भएको छ। गण्डकी गाउँपालिका ४, फुजेल कौदीकी एक महिलाको सोमबार दिउँसो १२:३० तिर पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
बाख्राको खोरसँगै झरेको पहिरोले बगाएर ३६ वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको स्थानीय कृष्ण दवाडीले जानकारी दिए। खोरमा रहेका आठ बाख्रा पनि पुरिएर मरेको उनले बताए। घटनास्थलतर्फ प्रहरी गइरहेको तर पुग्न नसकेको प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिका ४ नालपाङ जौबारीका काम गुरुङ र बिसन गुरुङको घर पनि पहिरोले बगाएको वडा अध्यक्ष भीमबहादुर गुरुङले बताए।
त्यस्तै गोरखा नगरपालिका १३ तीनकिलोका भीमबहादुर मगरको घर पुरिएको स्थानीय देवे गुरुङले जानकारी दिए। विभिन्न ठाउँमा झरेको पहिरोले पुरिएर आँबुखैरेनी गोरखा सडक सोमबार दिनभर अबरुद्ध भयो।

पहिरोले पुरिएको गोरखा नगरपालिका १३ तीनकिलोको भीमबहादुर मगरको घर।
प्रतिक्रिया दिनुहोस !