गोरखाकी फुञ्जोले छिटो सगरमाथा चढेर गिनिज बुकमा नाम लेखाइन्
गोरखा : सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रुपमा गोरखाकी फुञ्जो झाङ्मु लामाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छन्। उनले ८,८४८ मिटर अग्लो हिमाल ३९ घण्टा छ मिनेटमा आरोहण गरेर गिनिजबुकमा नाम लेखाएकी हुन्।
उनले १५ मे २०१८ को दिउसो ३:२० मा बेसक्याम्पबाट आरोहण सुरु गरी १७ मे २०१८ को बिहान ६:२६ मा शिखर चुमेकी थिइन्। गिनिजबुक अफ वर्ल्ड रेकर्डको प्रतिनिधिले यसबारे आज(सोमबार) आफूलाई खबर गरेको फुञ्जोले जानकारी दिइन्। ‘गिनिज बुकले आज मलाई खबर गरेको हो’, उनले भनिन्, ‘कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण प्रमाणपत्र दिने काम पछि गर्ने भनेको छ।’
उनी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारकी हुन्। उनले यसअघि ८,२०१ मिटर अग्लो चोयु हिमाल ८,१६३ मिटर अग्लो मनास्लु हिमाल, ६,८१२ मिटर अग्लो आमादव्लम, ६,१९० मिटर अग्लो अमेरिकाको डेनली, ६,०९१ मिटर अग्लो मनाङको पिसाङलगायत हिमाल आरोहण गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस !