थुनिएको नौ घण्टापछि नौलीखोला बग्यो
गोरखा : थुनिएको नौ घण्टापछि नौलीखोलाबाट पानी बग्न थालेको छ। शुक्रबार राती १० बजेदेखि थुनिएको नौलीखोलाको तालबाट पानी बग्न थालेपछि स्थानीय खुशी भएका छन्।
खोला थुनिएको खबर पाएपछि शनिबार बिहानैदेखि पान्द्राङ र नौलीखोलाका करिब ५० घरका बासिन्दा भागेर जङ्गल र छिमेकी गाउँ पुगेका थिए। ‘नौ बजेतिर अलिअलि पानी बग्न थाल्यो त्यसपछि गाउँलेलाई अलिअलि राहत महसुस भयो’, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘अहिले त टालिएको पानी राम्ररी नै पास भइसक्यो। गाउँले खुशी भएका छन्।’
धार्चे गाउँपालिका ७ चिङ्गार डाँडाको पहिरोले गए राती १० बजेदेखि नौलीखोला थुनिएको थियो। खोला थुनिएपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रहरी र सडक निर्माणका खटिएका नेपाली सेनालाई ताल खुलाउने पहलका लागि पठाएका थिए। तर नौघण्टापछि तालले आफैँ बाटो बनाएर खुलेको स्थानीय शिक्षक बीरबल गुरुङले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !