लापरवाहीले गर्दा निषेधाज्ञा

लापरवाहीले गर्दा निषेधाज्ञा

वीरगन्ज : सरकारले लकडाउन खोलेको केही दिनमै वीरगन्जमा निषेधाज्ञा लगाउनुमा लापरवाही देखिएको छ। भारतको बिहारसँग खुला सीमा जोडिएको र बिहारमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेका कारण पनि वीरगन्ज अझै उच्च जोखिममा परेको हो।

‘दुवै देशको नाका सिल छ तर लकडाउन खुकुलो भएसँगै लुकिछिपी मान्छेहरू वीरगन्ज छिर्न सुरु गरिसकेका थिए’, सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले भने, ‘नाकामा खटिएका सुरक्षाकर्मीले ५÷५ सय रुपैयाँ लिएर मान्छेलाई उताबाट यता छिराएका छन्। यही लापरवाहीले आज वीरगन्जको यो अवस्था आएको हो।’ उनका अनुसार, वीरगन्जमा कैयन पसले रक्सौलका निवासी हुन्। उनीहरू बिहान रक्सौलबाट आएर पसल खोल्थे, साँझ घर फर्किन्थे। नाकामा कुनै किसिमको रोकटोक थिएन। बिहीबार राति वीरगन्जमा संक्रमण पुष्टि भएका पाँच थुनुवा भारतीय नागरिक रहेको तथ्यले पनि सर्राफको तर्कलाई पुष्टि गर्दछ। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले संक्रमण पुष्टि भएका पाँच थुनुवा भारतीय नागरिक रहेको बताइन्। उनीहरू लुकिछिपी वीरगन्ज छिरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ।

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले भने स्थानीय प्रहरी प्रशासनको लापरवाहीका कारण वीरगन्जमा कोरोना समुदायस्तरमा फैलिएको आरोप लगाए। नाका बन्द रहेको भनिए पनि सुरक्षाकर्मीले नाकामा आवागमन रोक्न नसकेका कारण वीरगन्जमा संक्रमितको संख्या बढेको उनको भनाइ छ। ‘सरकार बोर्डर सिल छ भन्छ तर वीरगन्ज-रक्सौल नाकाबाट दिनहुँ सयौंै मानिसको आउजाउ भइरहेको छ’, उनले भने, ‘नाकामा तस्करीको धन्दा चलिरहेको छ। अहिले चलिरहेका यहाँका उद्योग कलकारखानामा भारतबाटै आएका मजदुरले काम गरिरहेका छन्।’ परीक्षणको दायरा बढाउने हो भने वीरगन्जमा मात्रै हजारभन्दा बढी संक्रमित फेला पर्ने उनको जिकिर छ। वीरगन्जमा शनिबारदेखि भने फेरि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ। चिकित्सकका अनुसार वीरगन्जमा कोरोना संक्रमण समुदायस्तरमै पुगेको छ। वीरगन्ज फेरि सुरुआती लकडाउन अवस्थामै फर्किएको छ। निषेधाज्ञामा अत्यावश्यक उपचारबाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। महानगरका चोक-चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।

असार अन्तिमसम्म वीरगन्जको कोभिड अस्पतालमा संक्रमितहरू निको हुँदै घर फर्किन थालेपछि दुईजना मात्र बाँकी थिए। क्वारेन्टाइन पनि प्राय : खाली भइसकेका थिए। साउन पहिलो सातायता भने संक्रमितको संख्या दिनहँु थपिँदै गएको छ। पर्सामा संक्रमितको संख्या २ सय ४३ पुगेको छ। गण्डकस्थित कोभिड अस्पतालको आइसोलेसनमा ५३ जना उपचाररत छन्। अब त्यहाँ थप संक्रमितलाई राख्ने ठाउँ छैन। जिल्ला प्रशासनले लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा बस्ने दिने निर्णय गरेको छ। वीरगन्जमा मात्रै तीनजना संक्रमितको मृत्यु भइसकेको छ।

कोभिड अस्पतालका चिकित्सकका अनुसार नयाँ संक्रमितमा कोरोना लक्षण देखिएका छन्। आइसोलेसनमा उपचाररतमध्ये चारको अवस्था गम्भीर रहेको कोभिड अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए। नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगन्जमा अब कोरोना संक्रमण समुदायमा गइसकेको स्वीकार गर्नुपर्ने बताए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पनि वीरगन्जमा सशुल्क परीक्षण सुरु भएसँगै संक्रमितको संख्या बढ्न थालेको बताए। ‘आपैmं पैसा तिरेर कोरोना परीक्षण सुरु नगरेका बेलासम्म संक्रमितहरू निको हुँदै आइसोलेसनमा दुईजना मात्र बाँकी थिए’, उनले भने, ‘तर, पेड टेस्ट सुरु गरिएपछि विभिन्न व्यक्तिले स्वेच्छाले जाँच गर्न थालेपछि कोरोनाको संक्रमित बढ्न सुरु भएको छ।’

सरकारले लकडाउन खोलेपछि जनतामा कोरोना सक्कियो भन्ने भान परेको देखिएको उनले बताए। ‘बजारमा भीडभाड पनि अचाक्ली बढ्यो। मानिसले मास्कसमेत लगाएको देखिएन’, उनले भने, ‘कोरोना भने समुदायमै पुगिसकेको अवस्था आएपछि निषेधाज्ञा लगाइएन भने स्थिति भयावह नै हुने आँकलन गरियो, त्यसैले शनिबारदेखि निषेधाज्ञा लगाउनु परेको हो।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.