राहतमा कुहिएको चामल, विपन्न परिवारलाई निल्नु न ओकल्नु

राहतमा कुहिएको चामल, विपन्न परिवारलाई निल्नु न ओकल्नु

भोजपुर : राहतका लागि आएको चामल गुणस्तरहिन भएको पाइएको छ । रामप्रसादराई गाउँपालिकाले सुख्खा खडेरी र कोभिड-१९ प्रभावित न्यूनस्तरका नागरिकलाई राहतस्वरुप बाँडेको चामल खान नमिल्ने पाइएको हो ।

'सोना मन्सुली' ब्राण्ड लेखिएको उक्त राहतको चामलमा सडिएको, अन्य अखाद्य चामल मिसिएको रामप्रसादराई गाउँपालिका २, धाद्लेखानीका अजम्बर राईले सुनाए । 'लकडाउनले मजदुरी लुटेपछि परिवारको दुईछाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो, योभन्दा ठूलो विडम्बना गरिबको लागि अरु के छ र?' उनले गुनासो पोखे ।

मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य खाद्यान्नले राहतको नाममा गरिबलाई झन मार्का थपिदिएको छ । गाउँपालिकाले ६ वडाका दुई हजार एक सय ८४ परिवारलाई बाँडेको चामल गुणस्तरहिन भेटिएको हो ।

यस्तै सोही गाउँपालिका ४, दलगाउँमा वितरण राहतको चामलमा पनि ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बिया भेटिएको स्थानीयबासीको गुनासो छ । राहतको नाममा सडिएको चामल पाएपछि विपन्न तथा मजदुर परिवारलाई निल्नु न ओकल्नु जस्तै भएको अर्का स्थानीय टंकराज भट्टराईले सुनाए ।

उच्च गुणस्तरीय राहतको नाममा कुहिएको चामल पाउँदा अन्य विकल्प खोज्न बाध्य बनाएको ओखे्रेकी प्यारी राईले सुनाईन् । उनले 'सोना मन्सुली' लेखिएको चामलको बोरा खोल्दा कम गुणस्तरको 'हात्ती छाप' ब्राण्डको चामल निक्लिएको दुखेसो पोखिन् । 

यता वडा नं १ ओख्रेका वडाध्यक्ष सहदेव राईले पनि राहतका चामल गुणस्तरहिन भएको स्वीकार गरे । राहतको चामल जनताको घरमा पुगेपछि मात्र चामल खानै नमिल्ने पाइएको उनले बताए । उनले भने, 'जनताको गुनासो आएपछि अनुगमन गर्दा चामलमा बिया, ढुंगा, कनिका मिसिएको पाइयो, कतिपय बोराभित्र चामलमा किरा लागेको पाइयो, जसले मजदुरी गरेर परिवार पाल्ने जनतालाई निराश थपिदिएको छ।'
 
गुनासोपछि राहत वितरण रोकियो
राहतमा अखाद्य चामल बाडिँएको जनगुनासो बढेपछि गाउँपालिकाले वडा नं ७ र ८ को राहत वितरण रोकेको छ । वडा ८ खोक्सिकका वडाध्यक्ष मनोज राईका अनुसार ती दुई वडामा तत्काल राहत वितरण गर्ने काम रोकिएको छ ।

राहतको चामल गाउँपालिका केन्द्र बैकुण्ठेमै रहेको उनले जनाए । 'चामलमा गुणस्तर नभएको थाहा पाउना साथ राहतको चामल वडामा ल्याएका छैनौं, त्यो चामल ठेकेदार कम्पनीले फिर्ता लगेर गुणस्तरीय र स्वस्थ्य चामल ल्याउनुपर्छ, अनि मात्र हामी राहात वितरण गर्छौं, 'उनले भने । जनताको स्वास्थ्य र भावनामा खेलबाड गर्न नहुने उनले बताए ।

ठेकेदार कम्पनीलाई कारबाही गरिने

चामल ल्याउने ठेक्‍का पाएको ठेकेदार कम्पनी थापा सप्लायर्स हतुवागढीले चामल चेकजाँच नै नगरी चामल ढुवानीमा लापरबाही गरेपछि जनप्रतिनिधिले कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ८ वटै वडाका वडाध्यक्षले कमसल र मिसावट चामल ल्याउने ठेकेदार कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन ।

प्रतिकुल मौसमका कारण राहत वितरणको अनुगमन प्रभावकारी नभएको स्वीकार्दै गाउँपालिका अध्यक्ष बिजय राईले करार सम्झौता विपरित गुणस्तरहीन चामल उपलब्ध गराउने ठेकेदार कम्पनीलाई कानुनअनुसार कारबाही गरिने बताए । उनले भने, 'यो जनताको स्वास्थ्यप्रति ठेकेदार कम्पनीको चरम लापरबाही हो, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने ठेकेदार कम्पनी कारबाहीको भागीदार बन्नैपर्छ।'
 
ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउन गाउँपालिका अध्यक्ष बिजय राईको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति समेत बनाइएको छ । गाउँपालिका उपप्रमुख सम्झना राईले बाँड्न बाकी रहेको वडा नं ८ को १० वटा बोराको चामल फोडेर हेर्दा गुणस्तरहीन पाइएकाले कारबाहीका लागि थप सहज भएको प्रष्ट्याइन् । 

यता सप्लायर्सले पनि चामल अखाद्य भएको स्वीकारेको छ । सप्लायर्सका सञ्चालक रबिन थापाले सुनसरीको कालाबञ्जारस्थित सौभाग्य राइस मिलका कर्मचारीले नै अखाद्य चामल हाली दिएको दाबी गरे । थापाले भने, 'राईस मिलले नै हकुवा चामल दिएको छ, त्यो फिर्ता हुन्छ, मिलले अर्को गुणस्तरयुक्त चामल दिने सहमति जनाएको छ।'

सप्लायर्सले ४५ लाख ९० हजार १ सय रुपैयाँमा राहतको चामलको ठेक्‍का पाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जंगम राईका अनुसार सप्लायर्सले २५ केजीका ३२ सय २४ बोरा चामलको ठेक्‍का पाएको थियो । 

सप्लायर्ससँग प्रतिकेजी ५६ रुपैयाँ ९५ पैसा पर्ने सोना मन्सुली चामल उपलब्ध गराउने सम्झौता थियो । यस्तै राहत वितरणकै लागि ६ लाख ३४ हजार ९ सय ७४ रुपैयाँको खाने तेल र आयोडिनयुक्त नुन समेत खरिद गरिएको छ ।

प्रेम भेराइटी हतुवागढीले ६ लाख २५ हजार ४ सय ५६ रुपैयाँको खाने तेल र ९५ हजार १ सय ८ रुपैयाँको आयोडिनयुक्त नुन उपलब्ध गराएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.