महिना दिन पनि टिकेन बसपार्कको पर्खाल
भोजपुर : निर्माण काममा चरम लापारबाही भएपछि भोजपुर बसपार्कको पर्खाल एक महिना नपुग्दै भत्किएको छ । प्राविधिक गुणस्तरीय काम नहुँदा भोजपुर नगरपालिका ७ कोदारस्थित बसपार्कको पर्खाल भत्किएको हो ।
भोजपुर नगरपालिकाले आफ्नै मातहतमा निर्माण समिति बनाएर गत जेठ अन्तिम साताबाट पर्खालको काम सुरु गरेको थियो । सम्झौता अनुसार उक्त पर्खाल निर्माणका लागि आर्थिक वर्ष ०७६÷७७ को प्रदेश सांसद कोषबाट १९ लाख बजेट छुट्याइएको थियो ।
निर्माण काममा प्राविधिक इस्टिमेट नै लापारवाही भएकाले पर्खाल महिना दिन पनि नटिकेको स्थानीय सरोकारवालाको गुनासो छ । लाखौंको लगानीमा बनेको पर्खाल महिना दिन पनि नटिकेपछि बजेटको दुरुपयोग बढेको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका छन् । पहुँचका आधारमा मात्र मनोमानी ढंगमा काम सकेको स्थानीय स्थानीय विवेक राईले बताए ।
नगरपालिकाको गलत इस्टिमेटका कारण पर्खालको दिर्घकालिन काम नभएको उनको आरोप छ ।उनले भने, 'निर्माणका काम पहुँचका आधारमा आफ्नालाई गरिखाने भाँडा बनाइयो, पर्खाल निर्माणका काममा दिर्घकालीन टिकाउ देखिएन।'
यता नगरपालिका भने अविरल वर्षातका कारण बसपार्कको पर्खाल भत्किएको बताएको छ । नगरपालिकाका मेयर कैलाशकुमार आलेले भने, 'पुरुवा माटोमा बनाइएको पर्खाल केही दिनको निरन्तर वर्षातले भत्काएको छ, हामीले प्राविधिकसँग बुझ्दा इस्टिमेट अनुसार नै काम सम्पन्न भएको जानकारी पाएका थियौं।'
मेयर आलेका अनुसार उक्त भत्किएको पर्खालको पुनः निर्माणका लागि अर्को शीर्षकमा बजेट विनियोजन गर्नुबाहेक अर्का विकल्प नरहेको बताए । यता निर्माण समितिका अध्यक्ष टेक भण्डारीले प्राविधिक इस्टिमेट गलत भएको बताए । उनका अनुसार पुरानो पर्खालमा नगरपालिकाका प्राविधिकले पर्खाल लगाउने इस्टिमेट गरेकाले पर्खाल भत्किएको हो ।
उनले भने, 'हामीले पुरानो पर्खालमाथि पर्खाल नलगाउन नै भन्या थियौँ तर प्राविधिकले त्यही इस्टिमेट गरेपछि हामीले काम सम्पन्न गर्यौं।'
प्रतिक्रिया दिनुहोस !