वैकल्पिक सिकाइका लागि भीमेश्वरले ८ हजार विद्यार्थीलाई बाँड्यो 'वर्कसिट'
चरिकोट : कोरोना भाइरसको महामारीको कारण गरिएको लकडाउनले सिकाइमा पारेको प्रभावलाई न्यूनीकरण गर्नका लागि भीमेश्वर नगरपालिकाले स्वअध्ययनका लागि 'वर्कसिट' वितरण सुरु गरेको छ ।
चालु शैक्षिक सत्र सुरु हुनु एकमहिना पूर्वको अवधिदेखि सुरु भएको लकडाउनले विद्यालय तहमा रोकिएको शैक्षिक गतिविधिलाई पुन सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले स्वअध्ययनको माध्यम अपनाएको हो ।
४२वटा सामुदायिकका ३१० र १३ वटा नीजि विद्यालयका करिब दुईसय शिक्षकलाई टोल-टोल, घर-घरमा खटाएर नगरपालिकाले छापेको वर्कसिट प्रत्येक विद्यार्थीलाई उपलब्ध गराइएको भीमेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत अर्जुन कार्कीले बताए ।
एकसेट वर्कसिटमा अंग्रेजी, नेपाली, विज्ञान, गणित र सामाजिक गरी पाँचवटा विशेष समेटिएका अध्यास समेटिएको शाखा अधिकृत कार्कीले जानकारी दिए । शिक्षकले हरेक आइतबार विद्यार्थीको घर वा टोलमा गएर वर्कसिट उपलब्ध गराउने र अर्को आइतबार गएर सो वर्कसिटको अनुगमन तथा संकलन दोस्रो वर्कसिट उपलब्ध कार्ययोजना रहेको उनले जनाए ।
लकडाउनको अवधिमा विद्यार्थीको अध्ययनको स्तर कस्तो रहेछ भन्ने विश्लेषण गरी थप योजना बनाइने भीमेश्वर नगरपालिकाका प्रवक्ता हरिवंश चौंलागाईले जानकारी दिए ।
अंग्रेजी २०, नेपाली २०, विज्ञान २०, गणित २० र सामाजिक २५ गरी १०५ पूर्णांकको एकहप्ते वर्कसिट विद्यार्थीलाई उपलब्ध गराइएको उनले बताए । वर्कसिटमा सोधिएको प्रश्नको आधारमा विद्यार्थीले कम्तिमा पाठ्यपुस्तक पढ्ने र लेख्ने बानीको विकास गराउने उद्देश्यल रहेको प्रवक्ता चौंलागाईंको भनाइ छ ।
लकडाउनको अवधिमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गराउने कार्यको लागि कोभिड-१९ शीर्षकबाट अघिल्लो आवको तीनलाख बजेटबाट सो कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
साउन ११, १८ र २५ गते आइतबार विद्यार्थीलाई वर्कसिट उपलब्ध गराइने कार्यतालिका बनेको छ । कक्षा १ देखि ४ सम्मका विद्यार्थीले वर्कसिटमै लेख्ने र कक्षा ५ देखि १० सम्मका विद्यार्थीले कपिमा लेखेर बुझाउने व्यवस्था गरेको शाखा अधिकृत कार्कीले बताए ।
सामुदायिक विद्यालयका करिब ५ हजार र नीजि विद्यालयका करिब ३ हजार गरी करिब ८ हजार विद्यार्थी रहेका भीमेश्वर नगरपालिकाको अघिल्लो शैक्षिक सत्रको शिक्षण सिकाइ उपलब्धि औसत ६० प्रतिशत रहेको तथ्यांक छ ।