राहत चामल गुणस्तरहीन ल्याउने सप्लायर्सलाई कारवाही
भोजपुर : रामप्रसादराई गाउँपालिकामा राहतमा बाडिएको गुणस्तरहीन चामल भेटिएपछि गाउँपालिकाले थापा सप्लायर्स घोरेटारलाई कालोसुचीमा राख्दै धरौटी जफत गर्ने निर्णय गरेको छ। करार सम्झौता विपरित कुहिएको चामल ल्याउने सप्लायर्सलाई कारवाहीको प्रक्रिया अघि बढाएको हो।
राहतमा दिएको चामल खानै नमिल्ने भेटिएपछि गाउँ कार्यपालिकाको बैठकले सप्लायर्सको धरौटी जफत गरेर कालोसुचिमा राख्ने निर्णय गरेको गाउँपालिका उपप्रमुख सम्झना राईले बताइन्। सुख्खा खडेरी र कोभिड १९ महामारीका कारण विपन्न परिवारलाई गुणस्तरहीन चामल उपलब्ध गराउने सप्लायर्सलाई कारवाही गर्ने निर्णय गरेको उपप्रमुख राईले सुनाइन्।
सप्लायर्सले राहतस्वरुप ६ वडामा २१ सय ८४ परिवारलाई चामल उपलब्ध गराएको थियो। वडा नं २ धोद्लेखानीका अध्यक्ष राजकुमार तामाङले राहतका नाममा बाडिएको चामल सम्झौताभन्दा कमशल भएकोले कारवाहीको प्रक्रिया बढाइएको बताए। सम्झौतामा ‘सोना मन्सुली’ उल्लेख गरिए पनि ‘हात्तीछाप’ ब्राण्ड जस्तै चामल वितरण गरिएको वडाध्यक्ष तामाङले बताए। चामलमा ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बियाँ भेटिएको राहात लिएका दलगाउँका स्थानीय टेकराज भट्टराईले गुनासो गरे। राहतमा लिएको चामल सडिसकेको, पकाएर खाँदा स्वाद नै नआएको उनले बताए।
प्रशासकीय अधिकृतले बैठकको निर्णय दिन मानेनन्
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जंगम राईले कार्यपालिका बैठकको निर्णयको सूचना दिन इन्कार गरेका छन्। टेलिफोन सम्पर्कबाट सूचना लिन खोज्दा जनतामा सत्यतथ्य सूचना प्रवाह नहुने भन्दै सुचना दिन मानेनन्।
उनले गाउँपालिकामै आएर सुचना लिन आग्रह गर्दै समाचारमा उल्लेख गरिएको श्रोतको गोपनीयतामाथिसमेत प्रश्न उठाएका छन्। अधिकृत राईले बैठकको निर्णय दिन अस्विकार गर्नु जनताको सूचना पाउने अधिकारमाथि ताल्चा लगाउनु जस्तै भएको भन्दै वडा नं १, ओख्रेका वडाध्यक्ष सहदेव राईले आपत्ती जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !