मेरी आमा महान् हैनन्

मेरी आमा महान् हैनन्

पाँच वर्षको उमेर। गाउँकै बोर्डिङ स्कुल। कक्षा नर्सरी। भर्ना भएर एउटा बेन्चको छेउमा डराई डराई बसिरहेको म सानो फुच्चे। हेर्दै डरलाग्दी मिस कक्षामा पस्नुभयो। ‘रोल नम्बर फोर्टी फाइभ सुरेश बडाल।’ मिसले हाजिरका लागि नाम बोलाएपछि र अरू कोही नबोलेपछि आफूअघिका साथीले जस्तै गरी मसिनो आवाजमा ‘यास मिस’ भनेँ। त्यस दिन मेरो नाम सुरेश बडाल रहेछ भन्ने थाहा पाएको थिएँ।

योभन्दा अझै केही वर्षअगाडि बुझिने गरी बोल्न, सुन्न र हेर्न नसकेको म बेलैमा झोलुंगोमा उभिएर आँगनको छेउतिर यताउता हिँडिरहेको एउटा आकृति देख्ने गर्थें। त्यो आकृति हेर्दैमा पीडित देखिन्थ्यो। ऊ मलाई शौच गर्न, पिसाब फेर्न र भोकभोकै झोलुंगोमा उभिएर रुन छोडेर खाई न पाईसँग मरिमेटेर काम गथ्र्यो, आफूभन्दा ठूलो भारी बोक्थ्यो। ऊ बर्खामा झरीले भिज्थ्यो, गर्मीमा पसिनाले भिझ्थ्यो।

काममा एकोहोरिइरहँदा बल्ल कुनै बेला फुर्सदमा यसो सम्झिएर मलाई काखमा लिएर दूध चुसाउँथ्यो, लेग्रा बनेर लतपतिएका आँसुका थोपाहरू पुछिदिँदै ‘कोलायो कोलायो’ भनेर मलाई छातीमा टाँस्थ्यो। त्यति बेला मलाई यो मान्छे मेरो आफ्नै कोही हो भन्ने लागिसकेको हुन्थ्यो। त्यही मान्छेलाई सम्झिएर मैले अलिअलि अक्षर चिन्न थालेको थिएँ। त्यसपछि केजी कक्षाको होमवर्क कापीमा लेखेको थिएँ, ‘मेरी आमाको नाम सीता बडाल हो।’ अनि मलाई थाहा हुँदै आयो, म सीता बडालको छोरो रहेछु।

सानै छँदा एक दिन मैले झगडा गरेर आमासँग पैसा मागेँ। तर म सतर्क थिएँ, त्यो पैसा मलाई बुवाबाट लिनु थिएन किनकि साथी र गाउँका दाइको पछि लागेर फिल्म हेर्न हलको टिकट काउन्टरमा बुझाउनु थियो। फिल्म हलको टिकट काउन्टरमा बुझाएर राजेश हमालको फाइट हेर्ने पैसा बुवाबाट माग्नु भनेको लगभग राजेश हमालकै लेभलको घुस्सा मैले मेरो चाकको फिलामा भेट्नु थियो। स्वाभाविक रूपमा ममा यो पिटाइको रहर थिएन। त्यसैले बुवाले थाहा नपाउने गरी आमासँग पैसा माग्नुको विकल्प थिएन।

न जागिर न कुनै व्यवसाय। आमासँग मलाई दिने पैसा थिएन। छन त थियो होला, बेलाबखत माइत जाँदा यसो टीका लगाइदिएर मावली हजुरबाले दक्षिणामा दिनुभएका नोटहरू। अनि बाटो लाग्दै गर्दा त्यो दक्षिणाको आशीर्वादमा अलिकति थप माया मिसाएर हजुरबाले खुसुक्क आमाको पोल्टोमा राखिदिनुभएका थपुवा नोटहरू। तर सासू, ससुरा, जेठाजु, जेठानी नामका अनेक आँखाले एउटी निर्बल आमाले छोरालाई फिल्म हेर्न जान खर्च दिँदै गरेको दृश्य कहाँ पचाउन सक्नु ? कहाँ सक्नु लाटी, गोज्यांग्री, पैसा नचिनेकी, केही थाहा नपाएकी भइदिनुपर्ने जीवले बाठी पल्टेर कमाइ न धमाइ खर्च दिएको कुरा शासक आँखाहरूले पचाउन !

त्यसैले आमाले मलाई पैसा दिनुभएन। म रोएँ, कराएँ, अनेक घुर्की देखाएँ। तर, मैले आमाका विवशता बुझिनँ। थाहा पाउँदो हुँ त, सबैका अघिल्तिर आमाका फरियाको सप्कोमा झुन्डिएर म किन रडाको मच्चाउँथेँ हुँला ? थाहा पाएको भए आमाको मनको कुरा, जानेको भए पढ्न, आमाले नबोलेरै बोलेका कुराहरू, म कतै एकान्त पारेर खुसुक्क माग्थेँ हुँला आमासँग पैसा ! तर, म त आमाले गरेको बेवास्ताबाट आक्रोशित हुँदै भेटिएजति कुराहरूले झट्टी हान्न थालेछु।

त्यही दिन थियो, मैले आमा साँच्चिकै रुनुभएको देखेको। आमाका पाखुरामा सुम्ला थिए अनि मेरो हातमा आमाकै थाप्लोमा सधैंभरि टाँस्सिइराख्ने नाम्लोको पातो। सुम्ला नबसेको हातले आमा नाम्लोको बरियो समाइरहनुभएको थियो जो एकछिनअघि अर्को हातमा बज्रिएको थियो। मैले आमाको आँखामा आँसु देखेँ। त्यति बेला मलाई एकछिन अघिको समयलाई मेरो जिन्दगीको कालो पाटीबाट धुलो झर्ने गरी मेटाउन मन थियो। तर जीवनका नमीठा सम्झना मेट्ने डस्टर कतै पाइँदो रहेनछ।

म त्यो घटनाको तुष बोकेर बाँचिरहेँ। मलाई आमालाई बताउन मन थियो- आमा म पापी हुँ, अधर्मी हुँ। कोयामा जालो नपसेको कट्मिरो आँपजस्तै बुद्धिको मसिनो जालो पनि नपसेको अदना ठानेर मलाई माफ गरिदिनुहोला है भनेर मैले कैयौंपटक आमालाई भन्न चाहेँ तर त्यो दिन कहिल्यै आएन। यो कन्फेसन गर्न मलाई झन्डै २० वर्ष लाग्यो। एक दिन जिस्किएजस्तो गर्दै आमालाई भनेँ, ‘सानामा मैले पैसा माग्दा तपाईंले दिनुभएन अनि मैले झगडा गर्दै नाम्लोको झट्टी हान्दा तपाईंलाई लाग्यो है, आमा ? ’

‘कहिलेको कुरो ? हैन होला, बिर्सिएँ मैले त’, आमाले बेवास्ता गर्दै भन्नुभयो। मैले त्यति बेला सम्झिन नचाहनु वा बिर्सिदिनु नै माफी दिनु हो भनेर बुझेँ, आमा। आज ३० वर्षको उमेर काटेपछि बल्ल मैले मेरी आमालाई चिन्दैछु। कति कुरालाई बिर्सिदिएर, कति कुरा नसुनेजस्तो गरिदिएर, कति कुरा सहिदिएर बाँच्नुभएको रहेछ आमा।

मेरी आमाबिना घरको परिचय हुँदैन। तर, मेरी आमाको परिचय पनि मेरो घरमा केही छैन। मेरी आमाको नाम मेरा बाले बाजा बजाएर, सिन्दूर हालेर आफ्नो घरमा ल्याउनुअघि मात्र सीता थियो। तर पराईघरमा आएपछि आमाको परिचय फेरियो। उहाँ कसैकी श्रीमती बन्नुभयो, कसैकी बुहारी बन्नुभयो, कसैकी आमा बन्नुभयो।

तर आफू बन्नुभएन। ‘सीता’ मेरी मावली हजुरबाकी छोरी हुन्। मेरो मामाकी बहिनी हुन्। मलाई आज आएर मामाघर प्रिय लाग्न थालेको छ किनकि त्यहाँ मलाई ‘सीताको छोरो’ भनेर चिन्छन्। मेरो आमाको परिचय छ उहाँको माइतीमा। आमालाई हेर्दा मनमा प्रश्नहरूका ज्वारभाटा उठ्छन्- के ती तमाम छोरीले आफ्नो ‘कन्यादान’ हुँदै गर्दा आफ्ना परिचयका काँचुलीहरू माइतमै छोडेर आएका हुन् ? अलिअलि रहलपहल परिचयका अवशेषहरू पनि आमा बनेपछि नै सेलाएका हुन् ?

एक दिन कुरैकुरामा आमाले भन्नुभयो, ‘अब एउटी राम्री, घर गरेर खाने केटी खोजेर तेरो बिहे गर्नुपर्छ। मलाई पनि बुहारी भित्याएर सासू बन्ने रहर लाग्या छ।’ मैले सोधेँ, ‘घर गरेर खाने भनेको के हो आमा ? तपाईंजस्तै घरधन्दामा नै अल्झिएर आफ्ना चाहनाहरूको अन्त्येष्टि गर्ने केटी खोज्ने भन्नुभा’को हो ? ’

आमा मौन हुनुभयो। मलाई धेरै कुरा भन्न मन थियो तर आमाको मन दुखाउने काम मबाट भएन। म आफैं खोजौंला आमा मेरा लागि केटी भनेर भन्न मन थियो। मलाई तपाईंको जस्तो कुलघरान, जात, गोत्र इत्यादि हेरेर गरेको विवाहमा कुनै आपत्ति छैन, तर के तपाईंलाई आफूलाई बुझिदिने मान्छेसँग जीवन बिताएँजस्तो लाग्छ ?

मलाई भन्न मन छ आमालाई, तपाईंलाई अहिले कुनै दुःख छैन। छोराछोरी सबै थान्कोमान्को लागिसके। सुविधाहरू प्रशस्त छन्। विडम्बना ! तपाईंलाई सुख र खुसीको अर्थ नै थाहा छैन। के तपाईंको सुख सन्तानमा र खुसी श्रीमान्मा टिकेको हैन र ? खै त तपाईंको आफ्नो रहर पूरा गर्न पाउँदाको खुसी ? हामी जन्मिँदा तपाईंले खाना पनि छोराछोरीलाई ज्यादा दूध आओस् भनेर खानुहुन्थ्यो। तपाईं त भोकै बस्दा पनि बाकै आयु लामो होस् भनेर बस्नुहुन्छ। तपाईंका हातखुट्टा पनि गोठका गाईबस्तुका लागि चल्ने गर्छन् किनकि तपाईं सुतेको दिन तिनेरु भोकले ड्वाँ ड्वाँ कराउन थाल्छन्। साँच्चि तपाईं कसका लागि सास फेर्नुहुन्छ ? कसका लागि बाँच्नुहुन्छ ? अनि कसको ऋण तिर्न यो धर्तीमा जन्मिनुभो, आमा ?

तपाईं मात्र हैन आमा, यो देशमा लाखौं यस्ता आमा छन् जो ती लाखौं बाका कहिल्यै जीवनसाथी भएनन्; केवल दासी भए, सेविका भए। के कहिल्यै ती बाहरूले श्रीमतीलाई तिमीलाई केको पीर छ भनेर सोधे त ? तिम्रो सपना के हो भनेर सोधे त ? कहाँ घुम्न जान मन छ ? गीत गाउने रहर भए गाउँ, नाच्न मन भए उन्मुक्त भएर नाच भनेर पिठ्यूँ थप्थपाएर ढाडस दिए त ? हाम्रै बाले तपाईंलाई खाना पस्किएर दिएर तपाईंले खाउन्जेल के के चाहिन्छ सोध्दै, थप्दै गरेर अन्तिममा तपाईं उठेर चुठ्न गएपछि त्यही जुठो थालमा आफूलाई खाना राखेर खाना कुनै पनि जुनीमा सक्नुहुन्न। तर ‘आइज प्यारी आज सँगै खाऊँ’ भन्न त सक्नुहुन्छ नि। किन यसो कहिल्यै भन्नुहुन्न ?

प्रत्यक्ष÷परोक्ष, बुवाविरुद्ध मलाई यो लेखोट लेख्ने किञ्चित मन थिएन। यहाँ आमाका नाममा लाखौं ठेली लेखिसकिए। आमा महान् भनेर पढेका ती अनेकन् शब्दले आज उमेरको यो मोडमा आएर मलाई बिझाउन थालेका छन्। म मेरी शोषित, पीडित अनि दुखियारी आमाको अनुहारमा ‘महान्’ शब्दले सिँगार्नुपर्ने कुनै तेज र आभा देख्दिनँ। के आधारमा म मेरी आमालाई ‘महान्’ भनूँ ? मलाई जन्माइदिएकै आधारमा मेरी आमा ‘महान्’ हुने हो र ? मलाई जन्माइदिएर, स्याहारसुसार गरेर, मेरा आँखामा सपनाहरू फुल्ने फूलबारी गोड्दै गर्दा आमाका चर्चरी फुटेका कुर्कुच्चाहरूले आफ्नै रहर अनि चाहनाका काँडाहरू कति कुल्चिए होलान् ? कति बिझेका होलान् आमाका मुटुमा अधुरा रहरका थकथकी लाग्ने खिलहरू ?

आमा भन्नुहुन्छ, म हरेक रात उहाँको सपनामा आउँछु अरे। अनि मैले देख्ने सपनामा पनि त म आफैं आउँछु। मलाई यो कुराले साह्रै पोल्दछ, किन मेरो सपनामा चाहिँ आमा कहिल्यै आउनुहुन्न ? के आमाहरूको आफ्नै सपनाहरू हुँदैनन् ? अरूकै सपना देखिदिनुपर्ने विवशता भएकी मेरी आमा कसरी ‘महान्’ ?

मेरी आमालाई ‘महान्’ भन्नुपर्दा मलाई हीनताबोध हुन्छ। आफ्नो अस्तित्व नै नामेट पारेर अरूले बनाइदिएको व्यवस्थाको पिँजडामा बाँचेकी मान्छेलाई कसरी महान् भनूँ ? एउटी अबोध, निर्बल र कमजोर नारीलाई उसले यावत् अन्याय र थिचोमिचो सहिदिएकै आधारमा महान् हुनुपर्ने ? आमालाई महान् भन्नु भनेको आउँदा कैयन् पुस्ताका छोरीहरूलाई आफ्ना पखेटा काटेर, खुट्टामा नेल लगाएर हामी पुरुषका निम्ति बाँच्न अभिशप्त बनाउन प्रेरित गर्नु हो। अन्याय सहनु भनेको डराउनु हो, त्रासदीको कम्बल ओढेर निदाएजस्तो गर्नु हो। काँतरहरू कहाँ ‘महान्’ हुन्छन् र ?

आमा कहिलेकाहीँ आफ्नै सुरमा गीत गाउनुहुन्छ। आमाका आफ्नै शब्दहरू छन्, आफ्नै लय छ। सायद अवसर पाउनुभएको भए आफ्नो रहर पूरा गर्नुहुन्थ्यो होला मेरी आमाले। कसैले सुन्छ कि भनेर सतर्क हुँदै आमा गुन्गुनाउनुहुन्छ-

आज राति घट्ट गा’को पालो मैले पाइनँ

पिनिसक्दा रात बित्यो म फर्केर आइनँ

रातैभरि कुरेँ मैले घटेराको छाप्रो

पानीसँग निलेँ मैले त्यही रोटीको पाप्रो...।

मलाई भन्न मन लाग्छ, आमा तपाईं खुलेर गाउनुस् आफ्ना विरहका गीतहरू। सुर नमिल्ला, ताल बहकिएला तर त्यो उकुसमुकुस लाग्ने हृदयको गुफाबाट निस्किएका एक एक शब्दले हजारौं मन छुनेछन्। जे भए नि सुस्केराहरू तरंगित हुनेछन्। अनि बल्ल भन्नेछु म मेरी आमालाई महान्।

त्यही दिन थियो, मैले आमा साँच्चिकै रुनुभएको देखेको। आमाका पाखुरामा सुम्ला थिए अनि मेरो हातमा आमाकै थाप्लोमा सधैंभरि टाँस्सिइराख्ने नाम्लोको पातो। सुम्ला नबसेको हातले आमा नाम्लोको बरियो समाइरहनुभएको थियो जो एकछिनअघि अर्को हातमा बज्रिएको थियो। मैले आमाको आँखामा आँसु देखेँ।

तपाईं त भोकै बस्दा पनि बाकै आयु लामो होस् भनेर बस्नुहुन्छ। तपाईंका हातखुट्टा पनि गोठका गाईबस्तुका लागि चल्ने गर्छन् किनकि तपाईं सुतेको दिन तिनेरु भोकले ड्वाँ ड्वाँ कराउन थाल्छन्। साँच्चि तपाईं कसका लागि सास फेर्नुहुन्छ ? कसका लागि बाँच्नुहुन्छ ? अनि कसको ऋण तिर्न यो धर्तीमा जन्मिनुभो, आमा ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.