नाकाबाट लुकीछिपी आउजाउ

नाकाबाट लुकीछिपी आउजाउ

जनकपुरधाम : लकडाउन हटेसँगै नेपाल–भारत सीमा नाका खुकुलो भएपछि प्रदेश २ मा कोरोनाबाट संक्रमित र मृतकको ग्राफ बढ्दो छ। नाका सिल नै रहे पनि वीरगन्जको औद्योगिक करिडोरमा काम गर्ने भारतीय मजदुर लुकीछिपी आए। त्यसपछि कोरोना संक्रमण समुदायमै देखियो। बढ्दो संक्रमणसँगै पर्सामा मृत्यु हुनेको संख्या ११ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

वीरगन्ज महानगरपालिका प्रमुख विजय सरावगी, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित ५ सय ७ जना संक्रमित भइसकेका छन्।

प्रदेशभरिमा १८ जनाको मृत्यु भइसकेको छ। ४ हजार ७ सय ६८ जना संक्रमित भएका छन्। महोत्तरीका कोभिड फोकल पर्सन गिरेन्द्र झाले कोरोना संक्रमण समुदायमा फैलिन लागेको जानकारी दिए।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार भारतबाट कोरोना फैलिइरहेको छ। नेपालभन्दा भारतमा संक्रमण दर ठूलो छ। ‘लकडाउन खुलेपछि भारतबाट लुकीछिपी मानिसहरू नेपाल आए। उनीहरू सीधैं परिवार र काम गर्ने स्थलमा पुगें’, झाले भने, ‘त्यसले गर्दा प्रदेश २ मा कोरोना फैलियो।’

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको लौनिया टोलमै २५ जना संक्रमित भेटिएका छन्। गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ। लौनियाका ५० वर्षीय एक बिरामीमा साउन ९ गते कोरोना संक्रमण देखिएको थियो। त्यसपछि परिवारका पाँच, गाउँले एक र उनको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीमा संक्रमण देखियो।

त्यसपछि उनको सम्पर्कमा रहेका १ सय ६ जनाको स्वाब बुधबार संकलन गरिएको थियो। तीमध्ये २५ जनामा संक्रमण देखिएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए। आकस्मिक कक्षमा उपचारमा संलग्न चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो। तीमध्ये शुक्रबार १ र आइतबार २ स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

लौनियामा संक्रमित हुनेमा वडा कार्यालयनजिकै चिया, नास्ता, पान पसल चलाउने, कपाल काट्ने हजाम छन्। ठूलो संख्यामा संक्रमित बढेपछि गाउँपालिका र वडा कार्यालयले अत्यावश्यकबाहेक सेवा तथा हाट बजार, पसल बन्द गर्ने निर्णय गरेका छन्। कुनौली नाकाबाट भइरहेको आवतजावतलाई बन्द गर्न स्थानीय प्रशासनलाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अनुरोध गरेका छन्। शनिबार मात्र राजविराजका १८, हनुमाननगर कंकालिनीका चार, तिरहुत र अग्निसाइर कृष्णसवरनका एक÷एक जना गरी २४ जनामा संक्रमण पुष्टि भएको थियो।

सीमामा छैन रोकछेक

नेपाल र भारत दुवै देशले सीमा सिल गरे पनि सर्लाहीमा लुकीछिपी आउजाउ भइरहेकै छ। घरायसी सामान खरिद गर्न स्थानीयवासी भारत पुग्ने गरेका छन्। उनीहरू बिहार राज्यको सीतामढीस्थित सोनवर्षा, मेजरगन्ज, कन्हौली तथा बसबिट्टा बजार आउनेजाने गरेका छन्। उताबाट पनि आफन्तको काम पर्दा भारतीयहरू नेपाल आउने गरेका छन्। यसरी बिनापरीक्षण आउजाउ गर्दा कोरोना सर्ने जोखिम छ।

सीमामा कडाइ गरे पनि लुकीछिपी भारत जानेआउने गरेको नागरिक समाजका अगुवा रञ्जनीकान्त झाले बताए। ‘लुकीछिपी आउजाउ गर्दा झन् समस्या हुन्छ’, उनले भने, ‘सकिन्छ भने सीमामै पीसीआर परीक्षण गरेर आउने जाने वातावरण बनाउँदा राम्रो हुन्छ।’

प्रदेश २ मा भारतसँग जोडिएको ४ सय ६४ किलोमिटर खुला सीमा छ। दुवै देशका सरकारले नेपाल—भारत आउजाउ बन्द गरेको चार महिनाभन्दा बढी भयो। खेतको आली हुँदै भारतमा रहेका नेपालीहरू घर फर्किरहेका छन्। प्रदेश २ का आठ जिल्लामा सडकबाट ओहोरदोहोर गर्ने २ सय ४६ वटा ठूला—साना नाका छन्। ५३ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) राखिएको छ। जहाँ तीन हजारभन्दा बढी सशस्त्र प्रहरीले रातदिन पहरा दिइरहेका छन्। सीमा सुरक्षामा अझै जनशक्ति अभाव देखिएको छ।

प्रहरी स्रोतका अनुसार सीमाबाट नछिर्न दिन तीन हजार अझै थप प्रहरी जनशक्ति चाहिन्छ। खुला सीमा क्षेत्र रहेको यो प्रदेशमा प्रहरीलाई झुक्याएर सर्वसाधारणले पसिरहेका छन्।

बेपरवाह नागरिक

न मुखमा मास्क न त कुनै भौतिक दूरी छ। तापनि बजार, पसल, भोजनालय र पर्यटकीय स्थलमा घुइँचो लाग्न थालेको छ। प्रदेश २ को राजधानी जनकपुरमा त सभा, समारोह, आन्दोलन र सांस्कृतिक कार्यक्रम पनि हुन थालेका छन्। नागरिकका यस्तै लापरवाहीले कोरोना भाइरस फैलिन मद्दत मिलिरहेको छ। लक्षणसहितका संक्रमित प्रदेशमा फेला पर्न थालेपछि मुख्यमन्त्री लालबाबु राउतले सीमा नाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। सुरक्षा निकायका प्रतिनिधिसँगको बैठकमा मुख्यमन्त्री राउतले नाकाबाट लुकीछिपी आउनेहरूले नै संक्रमण बढाइरहेको उल्लेख गरे।

समुदायमै संक्रमणपछि प्रदेश २ का ६ जिल्ला सदरमुकामका भीडभाड हुने स्थानमा निषेधाज्ञा जारी गरिएको छ। सप्तरी सदरमुकाम राजविराज, प्रदेश राजधानी जनकपुरधाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्साको वीरगन्जमा निषेधाज्ञा जारी गरिएको हो। थप संक्रमण हुन नदिन पूर्वाभ्यासअनुरूप निषेधाज्ञा जारी गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।

जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि सातदिने निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको उनले जनाए।

महोत्तरी जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनलाई निषेधाज्ञा जारी गरिएको छ। महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिन निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा अवधिमा ‘मास टेस्टिङ’लाई तीव्रता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले बताए।

कोरोना संकट व्यवस्थापन केन्द्रले महोत्तरीको १५ वटै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ। कटवालले भने, ‘महोत्तरीको सबै पालिकामा नमुनामूलक पीसीआर परीक्षणको रिपोर्टपछि संक्रमण अवस्थाको मानचित्रअनुसार अगाडिको कदम चलाइनेछ।’

‘ट्राभल हिस्ट्री’ नभएका र संक्रमितको सम्पर्कमा नआएका केही व्यक्तिमा संक्रमित देखिएको छ। कटवालले भने, ‘अहिले देखिएका नयाँ संक्रमितको ट्राभल हिस्ट्री छैन। संक्रमितको सम्पर्कमा पनि आएको छैन। तर शंका लागेर जाँच गर्दा कोरोना रिपोर्टमा पोजिटभ देखिएको हो।’

प्रदेश २ का ८ जिल्लामा मास्क नलगाउने ५४ हजार जनालाई कारबाही गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए। भने, ‘कारबाहीस्वरूप हामीले मास्क दिएर जरिवाना तिराएका छौं। मुख्यतः मास्क लगाओस् जसले संक्रमणबाट रोक्न मद्दत पुग्ने विश्वका साथ कारबाही थालेको छौं।’

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले समुदायमा कोरोना फैलिएजस्तो देखिए पनि यकिन हुन बाँकी रहेको बताए। उनले भने, ‘प्रदेशको विभिन्न जिल्लामा समुदाय स्तरमा सामूहिक रूपमा पीसीआर परीक्षण थालिए पनि प्रदेशसँग स्रोत साधनको व्यापक अभाव छ।’ उनले संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन माग गरे।

प्रदेश २ को राजधानी जनकपुरधामसहित सप्तरी, वीरगन्ज, महोत्तरीमा केही दिनयता ट्राभल हिस्ट्री नै नभएकामा धमाधम कोरोना पुष्टि भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजय झाले बताए। उनले भने, ‘बीचमा केहीदिन मत्थर जस्तै थियो, तर अहिले कोरोनाको संक्रमण दर बढेको छ, त्योभन्दा घातक अब समुदाय स्तरमा संक्रमण फैलिएको भेटिसकेको छ।’

(क्रान्ति शाह/वीरगन्ज, मनोहर पोखरेल/सप्तरी, सुनील ठाकुर/सर्लाही, गोविन्द महतो/जनकपुरधाम)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.