रित्तियो क्वारेन्टाइन
भोजपुर : कोभिड १९ को संक्रमणको आशंकामा भारतीय सीमानाका र अन्य देशबाट आएकालाई राख्न बनाइएका क्वारेन्टाइनहरु खाली बनेका छन्। क्वारेन्टाइनमा बस्नेहरुको स्वाब र आरडिटी परीक्षण गरेर घर फर्काइएपछि क्वारेन्टाइनहरु रित्तिएका हुन्।
जिल्लाका ९ स्थानीय तहका ६ सय १७ क्वारेन्टाइन शैया खाली छन्। भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनाको पनि आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि घर फर्काइएको छ। पछिल्लो समय भारत तथा अन्य देशबाट आउनेको संख्या घटेसँगै क्वारेन्टाइन रित्तिएका हुन्। यसबाहेक भारतीय सिमानाकाबाट उद्वार गरी ल्याइएका १९ जना अरुण गाउँपालिकाको जरायोटार रानीटारमा बनाइएको होल्डिङ सेन्टरमा राखिएका छन्।
जिल्ला प्रशासन कार्यालयले बाहिरबाट आएर बसेका सबैको स्वास्थ्य सकुशल भएकाले घर फर्किसकेको बताएको छ। क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए। अहिले होम क्वारेन्टाइनमा ४६ जना छन्। कोभिड १९ संक्रमण भएपछि विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनबाट ८ सय ८० जना घर फर्किएका छन्।
कोरोना संक्रमण आशंकामा ५ सय २० जनाको स्वाब परीक्षण र एक हजार चार सय ८ जनाको आरडिटी परीक्षण गरिएको थियो। भोजपुरमा गत बैशाख ११ गते हतुवागढी गाउँपालिकामा १ जना र जेठ २३ गते षडानन्द नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको थियो।
मास्क नलगाए १ सय जरिवाना
लकडाउन खुले पनि कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासनले भोजपुर सदरमुकाम र आसपासका मुख्य बजारक्षेत्रमा कडाइका साथ मास्क प्रयोगमा अनिवार्यता गरेको छ। जोखिम बढेकाले बाटोमा हिंड्ने सर्वसाधरणले मास्क नलगाएको भेटिए न्यूनतम एकसय रुपैयाँ जरिवाना लगाउने निर्णय गरेको छ।
कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप न्युनत्तम २ मिटरको सामाजिक दुरी कायम, सार्वजानिक स्थलमा हिंडडुल गर्दा मास्कको प्रयोग र साबुनपानी, स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलका अनुसार नागरिकले नियमको अवज्ञा गरे संक्रमण रोग निवारण ऐन, २०२० को दफा ३ अनुसार न्युनतम १०० जरिवाना लिइने छ।
साथै जिल्ला प्रहरीले बजारक्षेत्र र आसपासका क्षेत्रमा गस्ती परिचालन गरेको छ। आगुन्तुक सर्वसाधरण र सवारीसाधनमा कडा निगरानी राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !