समुदायमा संक्रमण पुगेपछि नुवाकोटमा निषेधाज्ञा
नुवाकोट : समुदायस्तरमै कोरोना भाइरस पुगेपछि नुवाकोटमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रशासनले रोग नियन्त्रणमा सहयोग पुग्ने उद्धेश्यले हिँडडुलमासमेत प्रतिबन्ध लगाउँदै निषेधाज्ञा जारी गरेको हो।
विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा ५३ जना कोरोना संक्रमित पुष्टि भएका छन्। जसमध्ये ३६ जना निको भई घर फर्किसकेका छने भने बाँकी अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोटका विभिन्न स्थानीय तहहरुमा शनिबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ। शनिबार मध्यरातदेखि लागू हुनेगरी आगामी भदौ ३ गते राति १२ बजेसम्म १० दिनका लागि नुवाकोटका विभिन्न संवेदनशील स्थानहरुमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।नुवाकोटमा शुक्रबारमात्रै समुदायमा कोरोना फैलिएको पुष्टि भएको थियो। एकैदिन सात जना संक्रमित भएको र त्यसमध्ये पाँच जना समुदायस्तरका सर्वसाधारण हुन्।
सर्वसाधारण कोरोनाविरुद्ध सजग हुनुको साटो लापरवाही बढेको भन्दै कोरोना सङ्क्रमण फैलिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ ढकालको भनाई छ। जिल्ला प्रशासनले विदुर नगरपालिका, लिखु र सुर्यगढी गाउँपालिकाका सबै क्षेत्र तथा वेलकोटगढी नगरपालिका, पञ्चकन्या, शिवपुरी र ककनी गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
निषेधित क्षेत्र तोकिएको स्थानमा सर्वसाधारण अत्यावस्यक कामबाहेक घर बाहिर निस्किएर हिँडडुल गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय गरिने प्रजिअ ढकालले बताए। अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी, संचारकर्मी र अनुमति प्राप्तबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले निर्देशा जारी गरेको छ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार शुक्रबार कोरोना पुष्टि भएका सात जनामध्ये एक जना मात्र विदेशबाट आएका व्यक्ति हुन्। विदुर नगरपालिकाका–६ जना र पञ्चकन्या गाउँपालिकाका–१ जना छन्। जसमा एक जना सेना र एक जना स्वास्थ्यकर्मी पनि छन्।
उनीहरुको स्वास्थ्य अवस्था हाल सामान्य रहेको चिकित्सकहरुले जनाएका छन्। पञ्चकन्या गाउँपालिकाका संक्रमित विदेशबाट आएका व्यक्ति हुन्। उनी विदेशबाट आएर क्वरेन्टिनमा बसेका थिए। यसअघि उनको पीसीआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएपछि उनलाई घर पठाइएको थियो। पछि शंका लागेपछि पुनः परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। त्यसैगरी विदुरका संक्रमितमध्ये चार जनाको कन्ट्रयाकट्रेसिङबाट फेला परेको हो।
विदेशबाट आएका व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। नुवाकोटमा हालसम्म ५३ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किसकेका कार्यालयले जनाएको छ। नुवाकोटमा दिनहुँ संक्रमितको संख्या बढ्दै गइरहेको, संक्रमण नियन्त्रण र संक्रमितसँगको सम्पर्कमा आएको व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङको लागि निषेधाज्ञा जारी प्रमुख जिल्ला अधिकारी ढकालले बताए।
उनका अनुसार विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा साउन २४ गते मध्यरात १२ बजेदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ। यस्तै, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८, १०, ११, १२ र १३ का सम्पूर्ण क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ का सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी भएको छ।
नुवाकोटका सबै नाकाहरुबाट अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनबाहेक सम्पूर्ण सवारी साधन तथा पैदल आवातजावत पूर्णरुपमा रोक लगाएको छ।