११ जनामा संक्रमण पुष्टि भएपछि काठमाडौंको हाँडीगाउँ क्षेत्र सिल
काठमाडौं : काठमाडौं महानगरपालिकाको हाँडीगाउँ क्षेत्रको एउटै टोलमा ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको छ।
महानगरपालिकाको वडा नम्बर ५ मा पर्ने हाँडीगाउँको कोटाल टोल सिल गरिएको वडाध्यक्ष रमेश डंगोलले जानकारी दिए। एक साताअघि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्र सोही टोलका ३३ जनाको स्वाब संकलन गरिएको थियो।
३३ जनाको पीसीआर परीक्षण गर्दा थप ६ जनाको रिपोर्ट पोजिटिभ आएको अध्यक्ष डंगोलले जानकारी दिए। एउटै टोलका ११ जनामा संक्रमण पुष्टि भएपछि सिल गरिएको अध्यक्ष डंगोलको भनाइ छ।
अध्यक्ष डंगोलका अनुसार संक्रमित नेपाल प्रहरी, प्रहरीका परिवार र उनकै छरछिमेकी स्थानीय रहेका छन्। पहिलो पटक एक प्रहरीमा कोरोना पुष्टि भएपछि उनको परिवारकै अन्य चार सदस्यको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।
तत्कालका लागि उक्त क्षेत्र सिल गरेको र आइतबार सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि संलग्न कोभिड–१९ समिति बैठकले थप निर्णय गर्ने अध्यक्ष डंगोलले जानकारी दिए। वडा अध्यक्षको अध्यक्षतामा कोभिड–१९ सम्बन्धी विशेष समिति बनेको छ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएको थियो ।
कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।
नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।
आइसोलेसनमा ६ हजार तीन सय ३० संक्रमित रहेका छन् ।