तनहुँमा ८१ जनाको कोरोना रिपोर्ट नेगेटिभ
दमौली : कोरोना भाइरस (कोभिड १९) जोखिममा रहेका तनहुँका नाइ, प्रहरी तथा भीडभाडयुक्त कार्यालयका कर्मचारी गरी ८१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार उनीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो । 'भीड र बढी जोखिम क्षेत्रमा काम गरेका प्रहरी, कर्मचारी र व्यवसायीको स्वाब परीक्षणका लागि पठाइएको थियो,' कार्यालय प्रमुख शंकरबाबु अधिकारीले भने, 'सबैको नतिजा नेगेटिभ आएको छ ।'
एक साताअघिदेखि प्रशासनले कपाल काट्ने नाइहरुको सेवामा प्रतिबन्ध लगाएको छ । जोखिम बढेको भन्दै हजामको पसल बन्द भए पनि ६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । 'अहिलेको नतिजाले केही सकारात्मक हुने ठाउँ दिएको छ,' उनले भने ।
तर मास्क लगाएर जोगिने प्रवृत्ति निकै कम भएको भन्दै प्रशासनले पटकपटक सचेत गराउँदै आइरहेको छ।'सामाजिक दुरी पालना गर्ने र मास्क लगाउने प्रवृत्ति कम भएकाले सचेत बनाइरहेका छौं,' सहायक प्रजिअ चित्रांगद बरालले भने ।
मास्कबीना घर बाहिर निसक्नेहरुलाई प्रहरीले दैनिक रुपमा जरिवाना तिराइरहेको छ। प्रहरी कार्यालयले दिएको तथ्यांकमा दैनिक सरदर डेढ सयको हाराहारीमा व्यक्ति जरिवानामा परेका छन् । दमौलीबाट सुरु यस्तो अभियान अन्यत्र पनि विस्तार गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए । 'सचेतना जगाउने र जरिवाना तिराउने दुवै काम भइरहेको छ,' उनले भने ।