हरियो पत्ती चिया सोझै भारत बिक्री
इलाम : स्थानीय चिया कारखानाले सस्तोमा चिया खरिद गर्न थालेपछि इलामका कृषकले विचौलीयामार्फत भारतका चिया कारखानालाई सिधै हरियो पत्ती बिक्री गर्न थालेका छन् ।
इलामका छव्विसे, हिले, खोलागोदाम, भञ्याङलगायतका नाका प्रयोग गरेर नेपाली विचौलीयामार्फत भारतको दार्जीलिङका चिया कारखानामा चिया जाने गरेको सूर्योदय नगरपालिका १० का चिया कारखाना सञ्चालक ज्ञानी सुब्बाले बताए ।
भारतीय कारखानाले इलामको सूर्योदय नगरपालिका क्षेत्रको चिया उठाउने गरेको छ । सूर्योदय नगरपालिकाले चिया कृषक, विचौलीया र कारखानाका लागि कार्यविधि जारी गरेपछि कारखाना र नगरपालिकाबीच विवाद बढ्दै गएको छ ।
आन्तरिक विवादका कारण किसानले चियाको मुल्य पाउन सकेको छैनन् । नगरका ६२ भन्दा बढि कारखानाले फष्ट फ्लासको चियाको मुल्य प्रतिकिलो २० र ३० रुपयाँमा भुक्तानी गरेपछि किसानले लगानी समेत नउठेको गुनासो गरेका छन् । अघिल्लो वर्ष यो सिजनको चिया ६० रुपयाँको हाराहारीमा बिक्री भएको थियो । कारखानाले कोभिड १९ लाई देखाएर मुल्य घटाएका हुन् ।
द्वन्द्वको अवसर उपयोग गर्दै विचौलीयाले भारतमा हरियो चिया बिक्री गर्न थालेपछि कारखाना बन्द हुने अवस्थामा पुगेको सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनका सचिव गोपाल कट्टेलले बताए ।
नगरपालिकाले जारी गरेको कार्यविधिमा अन्य क्षेत्रमा चिया बिक्री गर्न रोक लगाइएको छ भने स्थानीय उद्योगले पनि न्युनतम चियाको मुल्य प्रतिकिलो ४० भन्दा कम भुक्तानी गर्न नपाउने व्यवस्था गरेको छ ।
यसपटक नगरका दुवै व्यवस्था उलंघन भएपनि नगरपालिका व्यवस्थापनमा असफल भएको कृषकको आरोप छ । सूर्योदय नगरपालिकाले गठन गरेको चिया सचिवालयका संयोजक देवेन्द्र शर्माले समस्या समाधानका लागि पहल भइरहेको बताए ।
उनले हरियो चिया पत्तीको नियात रोक्ने काम प्रशासनको भएको बताए।उनले भने, 'गृह मन्त्रालयबाट समेत चिया निर्यात रोक्न पत्र आएको छ, हामी छलफलमै छौं।'
कार्यविधि कार्यान्वायन गर्न नगरका कारखाना इच्छुक नदेखिएपछि नगरपालिकाले नै विदेशी व्यापारीलाई घुमाउरो बाटोबाट नगरमा छिराएको कतिपय उद्यमीको आरोप छ ।
उनीहरु भन्छन्, 'स्थानीय उद्यमीलाई तह लगाउन स्थानीय सरकार नै लागेको छ, यो त्यसैको परिणाम हो ।'किसानले भने तुलनात्मक रुपमा प्रति किलो ७ रुपयाँसम्म बढी मुल्य पाएका कृषकले भारतीय बजारमा हरियो चिया बिक्री गर्दा फाइदा भएकाले त्यसलाई नरोक्न आग्रह गरेका छन् ।
कृषक कमल गड्तौलाले भने, 'भारत जान चिया रोकिए भने फेरि कृषकले दु:ख पाउँछन् ।' उनले स्थानीय सरकार र उद्योगी मिलेर चिया कृषकमाथि शोषण गरेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस !