समुदायमा संक्रमण : तनहुँमा जोखिम बढ्यो

समुदायमा संक्रमण : तनहुँमा जोखिम बढ्यो

दमौली : तनहुँका तीन तहमा समुदाय संक्रमणका घटना सार्वजनिक भएका छन्।  विदेश वा टाढाको यात्रा इतिहास नभएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएपछि तनहुँमा समुदाय संक्रमणको चरण प्रवेश भएको हो।  

भानु र बन्दीपुरका जिल्लाभित्रै रहेका दुई निर्माण व्यवसायीमा संक्रमण देखिएको केही दिनको अन्तरालमा देवघाट गाउँपालिकाका दुई व्यक्तिमा पनि संक्रमण देखिएको छ।  संक्रमितमा देवघाट ५ निवासी काठमाडौंबाट घर आएका ३० वर्षीय युवा र अर्का व्यक्ति भने देवघाट क्षेत्र विकास समितिका ५४ वर्षीय पदाधिकारी हुन्।  

‘हामीले होम क्वारेन्टाइनमा बसेकासँगै देशभित्रै आवतजावत गरेका व्यक्तिको नमूना लिएका थियौं’, गाउँपालिकाका स्वास्थ्य प्रमुख प्रदीप बुढाथोकीले भने,‘परीक्षणका क्रममा दुईको नतिजा पोजिटिभ देखियो। ’ उनका अनुसार देवघाट क्षेत्र विकास समितिका पदाधिकारी ती व्यक्ति बैठकका शिलशिलामा पोखराबाट केही दिन अघि फर्केका थिए।  यसैगरी अर्का युवा भने काठमाडौंबाट घर आएका थिए।  देवघाट क्षेत्र विकास समितिका पदाधिकारी धेरै ठाउँमा आवतजावत गर्ने भएकाले यसले अरुमा पनि संक्रमणको जोखिम बढाएकाले उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान थालिएको छ।  ‘सार्वजनिक व्यक्ति भएकाले उहाँको सम्पर्कमा धेरै आएका हुन सक्छन्,’ बुढाथोकीले भने,‘उहाँहरुलाई होम आइसोलेसनमा राखेर कन्ट्रयाक्ट ट्रेसिङ थालेका छौं। ’

धेरैमा सम्पर्क भएकाले त्रास

यसअघि विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिए पनि पछिल्लो समय बढी चहलपहल गरेका र केही लक्षण देखिएका व्यक्तिको पनि स्वाब संकलन गरेर परीक्षण थाले यता समुदायमा रहेका व्यक्तिमा संक्रमण देखिन थालेको हो।  भानु नगरपालिकामा मंगलबार संक्रमित भेटिएका भानु १ का निर्माण व्यवसायीको सम्पर्कमा आएका एक सय ४५ जनाको स्वाब संकलन गरिएको छ।‘उहाँ धेरैतिर हिंडडुल गरेको र छिमेकमा रुघा अनि खोकीका घटना देखिएकाले धेरै जनाको स्वाब संकलन गरेर पठाएका छौं’, गाउँपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भने। गाउँपालिकाले उनमा देखिएको संक्रमणपछि समुदायमा थप फैलने त्रासमा भाद्र २ गतेसम्मका लागि अत्यावश्यकबाहेकका अरु सेवा बन्द गरेर आगमनमा कडाइ गरेको छ।  

भानुका पुरुषसँगै हिंड्ने बन्दीपुर ५ का व्यवसायीको सम्पर्कमा पनि धेरै आएका पाइएको छ। ‘बैंक, सहकारी तथा धेरै संस्थामा उहाँ गएको सूचना आएको छ’, गाउँपालिकाका स्वास्थ्य प्रमुख अन्जिल भट्टराईले भने, ‘आज कन्ट्याक्ट ट्रेसिङ गरेर पठाउँछौं। ’बन्दीपुर गाउँपालिकाले समुदाय संक्रमण बढ्ने आशंकामा वडामा अत्यावश्यकबाहेकका सेवा र हिंडडुलमा रोक लगाएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए।  

जोखिम बढायो

यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र संक्रमण देखिए पनि अहिले अरुको परीक्षणका क्रममा समुदायमै रहेका व्यक्तिमा संक्रमण देखिंदा जोखिम बढेको स्वास्थ्य अधिकारी बताउँछन्।  ‘तीन तहमा अहिलेसम्म देखिए पनि यस्तो संक्रमण अन्यत्र पनि हुने अवस्था बढेको छ’, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले भने।  

भानु १ मा संक्रमितको सम्पर्कमा आएका २५ जनामा ज्वरो र टाउको दुख्ने समस्या आएपछि त्रास बढेको छ।  यसैगरी संक्रमित व्यक्ति धेरै ठाउँमा गैरहेका मध्येका भएकाले समस्या जटिल हुने आशंका अधिकारीहरुको छ।  देवघाट क्षेत्र विकास समितिका संक्रमित पदाधिकारी ठाउँ ठाउँमा बैठक र सभामा गएका र उनको क्षेत्रमा वृद्धाश्रमहरु समेत भएकाले यसले अरु जोखिम बढाएको छ।  ‘धेरैतिर सम्पर्कमा रहेको सूचना आएकाले सजग अवस्थामा छौं,’ गाउँपालिकाका स्वास्थ्य प्रमुख बुढााथोकीले भने,‘सम्पर्कमा आएका सबैको स्वाब लिएर जाँच्नेछौं। ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.