डर

डर

मृत्युका कुरा कति सुनिन्छन् अचेल ! रोगबाट मृत्यु, भोकबाट मृत्यु, बाढीपहिरोबाट मृत्यु, सडक दुर्घटनामा मृत्यु। कति पढ्नु, कति सुन्नु अनि कति हेर्नु यस्ता समाचार ?अब त मृत्यु पनि स्वाभाविक पो हो कि भन्ने लाग्न थालेको छ। मनको एउटा कुनामा त्यस्तो लागे पनि अर्को कुनामा मृत्युको भयावह अवस्था कायमै छ। मृत्युलाई सहज र स्वाभाविक भनेर स्वीकार्न सकिरहेको छैन। जीवन सायद यस्तै अन्तद्र्वन्द्वको नाम हो।

‘कस्तो अचम्म ! यतिखेर संसारभरका मान्छे एउटै कुराको भयमा बाँचिरहेका छन् र त्यही भयले मरिरहेका छन्’, प्रमेशले मेसेज गरेको रहेछ। अमेरिका जानकै लागि अर्को युवतीसँग ‘कोर्ट म्यारिज’ गरेर एक वर्षअघि अमेरिका गएको हो प्रमेश। त्यो बेला रिसाएकी थिएँ। अहिले भने ऊसँग रिसाएर सजिलोसँग सास फेर्नै सक्दिनँ। भौगोलिक दूरी मात्र टाढा छ। अचेल हामी पहिलेकै जस्तो प्रेमीप्रेमिका भएका छौं।

मृत्यु शाश्वत सत्य थियो र छ पनि। मृत्यु जीवनसँगै टाँसिएको हुन्छ नै। तर, ऊ एक दिन मर्नुपर्छ भन्ने कहिल्यै सोच्दैनथ्यो। सायद जीवनप्रति अत्यधिक आशावादी थियो ऊ। त्यसैले नजाऊ भन्दाभन्दै अमेरिका गयो।

‘हो त नि हगि ? यतिखेर पृथ्वीका सम्पूर्ण मानवलाई एउटै कुराको चिन्ता छ। कोभिड-१९’, उसको कुरालाई समर्थन गर्दै जवाफ फर्काएँ। अक्सर ऊ भनिरहेको हुन्छ, ‘यी कुइरेहरू त फिटिक्कै नडराउने रैछन्। आफू पनि मर्ने भए, अरूलाई नि मार्ने भए।’

नेपालमा अमेरिकाजस्तो होइन, हामी आफ्नो सुरक्षाका लागि आफैं बन्दी भएका छौं। यसरी दिनरात घरैमा बस्नुपर्दा धेरैलाई सकस भएको छ। धेरै मान्छे अस्थिर मन लिएर बाँचिरहेका छन् यतिखेर यहाँ। कोरोनाको सन्त्रासअघि सुखी र आनन्दमा पक्कै थिइनँ। मेरा आफ्नै कथाव्यथा थिए। अचानकसँग यो महामारीका अगाडि ती सबै कथाव्यथा एकाएक झिना मसिना भइदिए।

जब प्रमेशलाई आफ्नै त हो भनेर सम्झन्छु, संसार उज्यालो लाग्छ। जिन्दगीमा ढकमक्क फूल फुलेर वसन्त भित्रिन्छ। फेरि पलभरमै उसको त आफ्नो छुट्टै दुनियाँ पो छ भनेर पनि सम्झन्छु। तत्कालै मेरो संसारमा डढेलो लागेझैं खरानी भइजान्छन्। शिशिरले चिसो बनाउँछ मलाई।

भन्न त ऊ बरोबर भनिरहन्छ, ‘तिम्रो र मेरो उज्ज्वल भविष्यका लागि अमेरिका आएको हुँ।’ तर भनेर के गर्नु ? म उसका कुरामा चित्त बुझाउनै सक्दिनँ। किनभने यथार्थमा ऊ अहिले अर्कैको अँगालोमा छ। बिहे गरेर गएका हुन्, सँगै बस्दैनन् भनेर कसरी पत्याउनु ?

फोन पर्खिन्छु अनि पर्खिन्छु च्याटमा उसका संवाद। भनेका बेला कहाँ हुन्छ र ऊ ? ऊ हँुदा म भेटिन्नँ, म हुँदा ऊ, लुकामारी खेलेजस्तै हुन्छ। समयले गोलमाल गरिरहन्छ र मलाई तनावमय बनाइरहन्छ। पछिल्ला दिनमा उसको आवश्यकता बढी नै महसुस हुन थालेको छ। उसैसित जीवन बिताउने सपना देख्न थालेकी छु अचेल।

तैपनि बहस गर्दिनँ, उसको कुरा पत्याइदिन्छु÷पत्याइदिएजस्तो गर्छु। उसको अँगालोमा भएकी युवतीप्रति एक किसिमको जलन हुन्छ मलाई। तर यो जलनलाई म व्यक्त गर्न सक्दिनँ। त्यसैले आफैं जल्छु भित्रभित्रै। कैलेकाहीँ त लाग्छ, मभित्र खरानीको विशाल पहाड बनिसकेको छ।

‘तिमी कहाँ छौ ?’, मेसेन्जरमा टाइप गरेँ। ‘तिमी जहाँ छौ, त्यहीँ छु’, उसको बनिबनाउ कुराले नै मक्ख परेँ। ‘सशरीर भेट्न मन छ मलाई तिमीसँग’, लभको इमोजी राखेर सेन्ट गरेँ। ऊ पनि उस्तै बनावटी लाइन पठाउँछ, ‘तिम्रो मुटुभित्रै त छु नि म।’

त्यसपछि केही पनि भन्दिनँ। भन्ने नै के ? माया गर्छ भनेर सोचेँ भने भयंकर माया गर्छ भन्ने लाग्छ। माया गरेका थुप्र्रै प्रमाण आँखाअगाडि थुप्रिन्छन्। तर, खासै माया गर्दैन भनेर सोचेँ भने माया नगर्ने प्रमाण पनि थुप्रिन्छन् पर्याप्तै।

अर्जुनले कृष्णको साथ भेटेजस्तै। आँखालाई अरू सपना देख्नु नै छैन। पाइलालाई अरू बढी हिँड्नु नै छैन।  अभिलाषा छैन अब केहीको पनि। गीतामा लेखिएको छ, ‘संसारमा प्रिय कुरा गुमाएर त्यसबाट बाहिर निस्कनु जित हो।’ मोहले गति लिँदैन। तर, मोहबिना कहाँ पुग्नु ? म भन्छु, मोहबिनाको जिन्दगी पनि के जिन्दगी ?

लकडाउन भएको ५७औं दिन। घरभित्र दिक्क लागेपछि साँझ छतमा टहलिन निस्किएँ। सडक अनि जताततै मुर्दाशान्तिझैं थियो। उसकै न्यास्रो लागेर दुब्ली भइसकेकी थिएँ। बेचैनीको साम्राज्य फैलिइरहेको थियो मभित्र।

मलाई लाग्न थालेको छ, मेरो जीवन निस्सारताको बाटोमा लम्कँदै छ। के अब मेरो जीवनबाट सबै रौनक बिलाएर जान्छन् ? म सोच्छु र आत्तिन्छु। त्यस्तो हुन दिनु छैन। महामारीले सिर्जेका पीडा अनि अप्ठ्यारालाई बिर्सनु छ।

फोन पर्खिन्छु अनि पर्खिन्छु च्याटमा उसका संवाद। भनेका बेला कहाँ हुन्छ र ऊ ? ऊ हुँदा म भेटिन्नँ, म हुँदा ऊ, लुकामारी खेलेजस्तै हुन्छ। समयले गोलमाल गरिरहन्छ र मलाई तनावमय बनाइरहन्छ। पछिल्ला दिनमा उसको आवश्यकता बढी नै महसुस हुन थालेको छ। उसैसित जीवन बिताउने सपना देख्न थालेकी छु अचेल।

ऊ मेरै साथ भइदेओस्। मेरा कुरा सुनिदेओस्। तनावमा सान्त्वना दिएर आश्वस्त बनाओस्। समय सोचेजस्तो अनुकूल भइदिँदैन। कल्पना गर्छु, नभने पनि उसले मेरा तनाव र पीडालाई बुझेको छ। मेरो एक्लोपनलाई बुझेको छ। मेरै सुन्दर भविष्यको खातिर ऊ गएको हो। लाग्छ, अचानक कुनै दिन सामुन्ने प्रकट हुनेछ र हात समातेर भन्नेछ, ‘म छु नि।’

कल्पनामै पनि आनन्दित भइदिन्छु कहिलेकाहीँ। तर समय यथावत्। मेरा पीडा यथावत् र यो महामारीको सन्त्रास यथावत्। यो यथावत् हट्छ कहिले ? कहिले जीवनहरू सहज बन्लान् ? कहिले म उन्मुक्त सहरमा घुम्न पाऊँला ? यिनै प्रश्नमा मेरा दिन बित्ने गरेका छन् अचेल। तर प्रश्नको जवाफ भेटेकी छैन।

‘म यो दलदलबाट मुक्ति चाहन्छु। साथ देऊ’, म्यासेज पठाएँ। यसपटक उसले सायद मेरो कुरालाई गम्भीरतापूर्वक लियो। समयमै जवाफ दियो, ‘तिमी धेरै नै आत्तिएकी जस्ती छ्यौ, मलाई पनि तिम्रो चिन्ता लाग्न थालेको छ। म आऊँ त नेपाल ?’ उसले सोधेको थियो मसित। मैले आऊ भनेकी थिएँ।

प्रतीक्षा गर्न थालेकी थिएँ उसको। चार्टर्ड प्लेनमा आउने जानकारी दियो। असाध्यै खुसी भएँ। मन हल्का भयो। दिमागबाट हजारौं किलोको भारी हटेजस्तै लाग्यो। मन फुर्तिलो र चंगा भयो। मैले फेरि ऊसित जीवन बिताउने कल्पना गर्न थालेँ। कल्पना जायज पनि थियो।

जसले यस्तो अप्ठ्यारोमा साथ दिँदैछ, जीवन उसैसित बिताउनु राम्रो हुन्छ। साथीसंगी यस्तै भन्थे मलाई। तिनका कुरामा विश्वास गर्न मन लागेको थियो। विश्वास दिनप्रतिदिन बलियो हुँदै थियो। दिन गनेर बस्न थालेँ। जीवनमा दोस्रोपटक आफूभित्र प्रेमको यस्तो रुमानी भावहरू पनि रहेछन् भन्ने पाएँ। प्रेमलाई कहिल्यै गम्भीरतापूर्वक नलिने उसले यसपटक मलाई नै प्रेमको अनुभूतिमा गम्भीर बनाएको थियो।

अन्ततः ऊसित भेट्ने दिन आयो। प्लेन ल्यान्ड गर्ने एक घण्टाअघि एअरपोर्ट पुगेँ। व्यग्र भई पर्खिन थालेँ। तर, प्रतीक्षाको यस घडीमा मनमा अनेक कुरा खेल्न थाले। के साँच्चै ऊसित जीवन बिताउन सक्छु ? बिहे त उसले अर्कोसँग गरिसकेको छ, भलै त्यो उनीहरूका आआफ्ना स्वार्थपूर्तिका लागि होस्। के म फेरि त्यो बन्धनमा बाँधिन सक्छु ? म उसको अँगालोमा अल्मलिन सक्छु सधैंका लागि ? कि यो मेरो केही दिनको भावुकता मात्र हो ?

के यो महामारीले निम्त्याएको डरका कारण मैले कसैको साथ खोजिरहेछु ? मैले साथ खोजिरहेको कि प्रेम ? अन्तिम प्रश्न विकराल बनेर उभियो मेरोअगाडि। त्यो प्रश्न घनजस्तो बनेर मेरो मथिंगलमा प्रहार गर्न थाल्यो। चिट्चिट् पसिना आयो मलाई। उसलाई देख्ने, भेट्ने र अंकमाल गर्ने व्यग्रता पसिनासँगै बग्न लागे।

ठीक त्यही बेला उसको प्लेन ल्यान्ड भयो। मैले अचानक ट्याक्सी रोकेँ। मलाई लिएर ट्याक्सी हुइँकियो। केही बेरमा उसको फोन आयो। फोनले ‘मेरो जीवनलाई नै प्रभावित गर्ने खालको हल्ला’ गरेजस्तै लाग्यो। मैले फोन बन्द गरिदिएँ।

अब म हल्का भएकी थिएँ। जीवनबाट डर त हटेको छैन। तर, कसैको अँगालोमा खुम्चिएर त्यो डर भगाउने लालसा पनि अब मभित्र बाँकी छैन। यो डरसित म आफैं लड्नु छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.