जोखिमयुक्त ठाउँम लाप्राकवासी
लाप्राक : २०७२ सालको भूकम्प र त्यसपछिको पहिरोले ध्वस्त बन्यो गोरखाको लाप्राक गाउँ। भूगर्भविद्ले त्यहाँका ६ सय १६ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकाले।
स्थानीय सरकारको माग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिफारिसलाई सम्बोधन गर्दै सरकारले गुप्सी पाखाको १८.३२ हेक्टर वन क्षेत्र लाप्राकवासीलाई पुनःस्थापित गर्न दिने निर्णय गर्यो। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले त्यहाँ ५ सय ७३ घर बनाउने प्रतिबद्धता जनायो। प्राधिकरण, संघ र सहरी विकास मन्त्रालयबीच गुप्सी पाखामा एकीकृत बस्ती बसाल्ने सम्बन्धमा तत्काल हस्ताक्षर पनि भयो।
सम्झौताको पाँच वर्षपछि संघले गुप्सी पाखामा एकीकृत नमुना बस्ती निर्माण सम्पन्न गरेको छ। गोला प्रथाद्वारा घर बाँडफाँट पनि गरिसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए। तर, लाप्राकका बासिन्दा जोखिम मोल्दै पुरानै बस्तीमा बसिरहेका छन्।
सित्तैमा पाएको घरको परवाह नगरी उनीहरूले पुरानै थलोमा लाखौं खर्चेर पुरानै शैलीका घर बनाइसकेका छन्। पुरानो घर नछाड्ने लाप्राकीको अडान छ। ‘हामी खेती गरेर खाने मान्छे। खेतीपाती सबै तल्लो गाउँनजिकै छ। माथि त जाँदैनौं’, स्थानीय सूर्य गुरुङले भने, ‘दिनभरि बारीमा काम गरी भारी बोकेर गुप्सी पुग्न हामीलाई पायक पर्दैन।’
गुप्सी पाखा २ हजार ७ सय मिटर उचाइमा पर्छ। यहाँ दुई महिना हिमपात हुन्छ। ‘हिउँदमा त हिउँ परेर गुप्सीमा बस्न कोही पनि सक्दैनन्’, उनले भने।
भूकम्पले सबै घर माटोमा मिलेपछि लाप्राकका बासिन्दा गुप्सी पाखामा टहरो हालेर बसेका थिए। संघले एक वर्षभित्र नयाँ घर बनाइदिने आश्वासन दिएर गुप्सीबाट हटायो। तर, पाँच वर्षसम्म घर निर्माण सम्पन्न नगरेपछि स्थानीय आफ्नो घर आफैं बनाएर बसेका अर्का स्थानीय चम्सिङ गुरुङले बताए।
‘एनआरएनलाई पर्खिंदा पर्खिंदै वर्षौं बित्यो। अहिलेसम्म टहरोमा बसिरहन त कोही पनि सक्दैन। त्यसैले सबैले सानो ठूलो घर बनाइसके’, उनले भने, ‘अब सबै यतै बस्छन्। कोही पनि जाँदैनन्।’
संघले घर बनाउन लामो समय लगाएकाले पुरानो गाउँमै घर बनाएर बस्न बाध्य भएको गाउँलेको भनाइ छ।
गुप्सी पाखामा निर्माण भएको घर सानो भएको अर्का स्थानीय सन्तवीर गुरुङले बताए। साथै हिमपात हुने भएकाले बूढापाका र बालबच्चा त्यहाँ बस्न कठिन हुने उनको भनाइ छ।
‘६०–७० वर्ष कटेका बूढापाका गुप्सीमा बस्न जाँदैनन्’, उनले भने, ‘एनआरएनएले बनाएको घर राखनधरनका लागि सानो पनि भयो। सबै परिवार अट्ने पनि छैन। कसैको छोराहरू छुट्टिएर बस्न चाहिँ जालान्।’ पुरानो गाउँमा पहिलेजस्तै ठूलो घर बनाइसकेको उनको भनाइ छ। खानेपानी र ढलको व्यवस्था गरिसकेकाले अब यहीं बस्ने उनले बताए।
मर्ने बेला भएकाले जन्मेको थलो नछोड्ने अर्का स्थानीय पुरबहादुर गुरुङको भनाइ छ। ‘अब एकैचोटि डाँडा (चिहान)मा जाने, गुप्सीमा त नजाने’, उनले भने, ‘गुप्सीमा चिहानडाँडा पनि छैन। मरेपछि फर्काएर यहींको चिहानडाँडामा ल्याउनुपर्छ।’
लाप्राकलाई बस्न अयोग्य घोषणा गरिसकेकाले सरकारले विकास पूर्वाधार बनाएको छैन। स्वास्थ्य चौकी, विद्यालयलगायत संरचना गुप्सी पाखानजिकै निर्माण गरिएको छ। सरकारको योजनाअनुसार गाउँलेहरू गुप्सीमा जानै पर्ने स्थानीय मार्सिङ गुरुङको भनाइ छ।
‘सरकारले दुई-दुई फेरसम्म लाप्राकको बस्ती बस्न अयोग्य भनिरहँदा पनि अझै यहीँ बस्छन् भने हामी के गर्न सकिन्छ र ? ’, उनले भने, ‘भीरमा जानेलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन।’
निरन्तर पानी पर्न र पहिरो जान थालेपछि गाउँलेहरू सर्छौं भन्ने तर रोकिएपछि यहीँ बस्छौं भन्ने प्रवृत्ति रहेको स्थानीय किसान गुरुङको तर्क छ।
गुप्सीमा घर बनाइए पनि शौचालय भने प्रत्येकमा नरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले सुनाए। ‘शौचालय सबै घरमा निर्माण भइसकेको छैन। झ्यालढोका पनि कमजोर भयो भन्ने गाउँलेको गुनासो छ’, उनले भने, ‘सबै घरमा शौचालय बनेपछि र झ्यालढोका पक्की बनिसकेपछि सबै जना सर्छन्।’ १५ घर मात्र सरेको उनले बताए।
सात परिवार विस्थापित
पहिरोले घरै लैजाने जोखिम बढेपछि चुमनुब्री गाउँपालिका–३ देवलका ७ घरपरिवार विस्थापित भएका छन्। उनीहरू मनिचेतमा त्रिपाल टाँगेर बसेका छन्।
गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङका अनुसार विस्थापित हुनेमा कान्छा गुरुङ, रिमा गुरुङ, दलबहादुर गुरुङ, कुस्मान गुरुङ, हर्क गुरुङ, रामकुमार गुरुङ र पलमान गुरुङका परिवार छन्। उनीहरूलाई आइतबार गाउँपालिकाले त्रिपाल दिएको उपाध्यक्ष गुरुङको भनाइ छ।
ब्लक्सिकङको पहिरो गाउँसम्म पुगेको र धमाधम घर चर्किन थालेको वडाध्यक्ष रामकुमार गुरुङले बताए। ‘यो पहिरोले ब्लक्सिकङ, नासिवाला र लोक्पा गाउँका २१ घर र फिलिम प्रावि स्कुल बगाइसकेको छ। पीडित स्थानीयलाई मनिचेतमा पुनर्वास गराइसकिएको छ’, वडाध्यक्ष गुरुङले भने,
‘अब यसपालि पनि सात घरपरिवार विस्थापित भए। ११ घर उच्च जोखिममै छन्।’ उनीहरूलाई पनि मनिचेतमै जग्गा व्यवस्था गरिने उनले बताए।
बूढीगण्डकीको बाढीले तानेर नाग्चेत गाउँलाई पनि जोखिम बनाएको वडाध्यक्ष गुरुङको भनाइ छ। ‘नाग्चेतमा २५ घर जोखिममा छन्। तीमध्ये ६ घर उच्च जोखिममा छन्’, उनले भने, ‘घरमुनि बूढीगण्डकीले तानेको पहिरो छ। घरमाथि पहिरोले ठूलो ढुंगो अड्काएर राखेको छ।’ घट्टेखोला पनि पूरै गाउँ जोखिममा रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !