नेपालीपनले कालजयी

नेपालीपनले कालजयी

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे।

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे...।।
पौरस्त्य दर्शन र काव्यचिन्तनको अध्ययन एवं आफू जन्मेहुर्केको लमजुङको पुस्तुन गाउँबाट बिहान उठ्नेबित्तिकै चहकिलो घामको झुल्को पोखिने हिमाल, वरपरका प्राकृतिक हरियालीयुक्त वनकुञ्ज, डाँडापाखा र खोचहरू अनि तिनमा चिर्बिर चिर्बिर गर्दै चराचुरुंगीले निकाल्ने सांगीतिक धुनहरू र गाउँघरमा गोठालागोठालीले बाह्रै महिना गाइरहने विभिन्न लोकभाका साथमा मस्र्याङ्दी नदीका उच्छाल तरंगहरू वा सुसाइसँगै माधव घिमिरेलाई पनि गुनगुनाउन मन लाग्यो होला र प्रकृतिसित संवाद गर्न रहर जाग्यो होला।

यसरी प्रकृतिसित संवाद गर्न र गुनगुनाउन अभ्यास गर्दागर्दै उहाँको कलमबाट कविता सिर्जिन थाले र क्रमशः ती कलात्मक धारमा उकालिँदै गए पनि। यसै क्रममा रचिएको ‘ज्ञानपुष्प’ कविता १९९२ भदौ १४ गते गोरखापत्रमा प्रकाशन भयो, औपचारिक काव्ययात्राको प्रस्थानबिन्दुस्वरूप। त्यसपछि घिमिरेको सिर्जनायात्रा मृत्युकारक बुढ्यौलीसँग लड्नुपूर्वसम्म पनि अनवरत जारी रह्यो। उहाँको पुस्तकाकार कृतियात्रा भने १९९४ सालमा प्रकाशित कविता संग्रह ‘नवमञ्जरी’ हो।

माधव घिमिरेका राष्ट्रिय भावनाले भरिएका ‘गाउँछ गीत नेपाली’, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’, ‘फूलको थुंगा बहेर गयो’, ‘आजै र राति के देखें सपनी’  लगायतका दर्जनौं लोकप्रिय गीत छन्। उहाँका गीतमा नातिकाजी, अम्बर गुरुङ, नारायणगोपाल, कोइलीदेवी आदिले स्वर र संगीत दिनुभएको छ। उहाँका नाटकहरूसमेत त्यत्तिकै बलशाली छन्। ‘मालती-मंगले’ नाटकले नेपाली दर्शक र पाठकमाझ प्राप्त गरेको लोकप्रियता सबैका सामु छर्लंग छ। कला र विचारको उच्चतम संयोजन भएका उहाँका उत्कृष्ट कृतिहरूले नेपाली कवितासाहित्यको क्षितिज निकै फराकिलो बनेको छ र नेपाली छन्दकविताले त उहाँको सिद्धि र सफलताबाट कवितामा सगरमाथा हुने अवसर पाएको छ।

प्रकृति, संस्कृति र जीवनको त्रिवेणीबाट राष्ट्र र राष्ट्रको संस्कृतिलाई निरीक्षण गर्ने र परिष्कारवादी शिल्पशैली आत्मसात् गरी स्वच्छन्दतावादी भावउडानमा विचरण गर्ने घिमिरे मानवतावादी चेतनाका विशिष्ट कविसमेत हुनुहुन्छ। राष्ट्रकवि घिमिरेका ‘गौरी’, ‘राजेश्वरी’, ‘राष्ट्रनिर्माता’, ‘अश्वत्थामा’, ‘धर्ती माता’, ‘पापिनी आमा’ आदि कृति नेपाली साहित्य भण्डारका अनमोल रत्न बनिसकेका छन्। लमजुङको एउटा विकट गाउँको सामान्य आर्थिक अवस्थाको ब्राह्मण परिवारमा जन्मेका घिमिरेले नेपाली साहित्यसिर्जनामा लेखनाथ र देवकोटापछिको जुन उचाइ र विशिष्टता प्राप्त गर्नुभयो, त्यसमा उहाँकी पहिली पत्नी गौरीको अद्वितीय भूमिका रहेको देखिन्छ।

डेढ वर्षकै उमेरमा (गत वर्ष २०७६ मा प्रज्ञा गतिविधिका लागि पंक्तिकारले लिएको अन्तर्वार्तामा उहाँले भनेअनुसार, अरूले तीन वर्ष भनेर उल्लेख गरेका) आफ्नी आमाको मृत्यु भएपछि मातृस्नेहबाट वञ्चित उहाँले ६ वर्षको उमेरमा अक्षरारम्भ गर्नुभएको, दुर्गाकवच र चण्डीका साथै ज्योतिष ग्रन्थ भास्वती अनि बुवासँग गोठमा बस्दा उपदेशमञ्जरी, भानुभक्तको रामायण आदि पढ्ने अवसर पाउनुभएको र कविता कोर्ने प्रारम्भिक प्रेरणा पनि त्यसैबाट लिएको देखिन्छ। चौध वर्षको उमेरमा १९९० सालमा लमजुङको खुदीबेनीको तुलनात्मक रूपमा सुविधायुक्त र सम्पन्न परिवारमा जन्मेकी आठ वर्षीया गौरीसित बिहे भएपछि त्यहीँ बसेर औपचारिक शिक्षाका साथै थप पुस्तक, लेखनाथका कविता एवं गोरखापत्रका नियमित अंकहरू पढ्ने अवसर उहाँलाई मिल्यो। त्यहाँको बसाइकै समयमा गोरखापत्रमा १९९२ मा ‘ज्ञानपुष्प’ कविता छापिएको हो। १९९३ सालमा काठमाडौं आउने पृष्ठभूमि तयार भयो।

सयौं सूक्तिमय पंक्तिहरूका माध्यमबाट राष्ट्रकविले नेपाल राष्ट्र बोल्नुभएको छ, राष्ट्रिय प्रकृतिलाई मानवीकृत गर्नुभएको छ, प्रकृति र संस्कृतिका अन्तर्घुलनमा जीवनको खोजी गर्नुभएको छ, नेपाली वीरताको ऐतिहासिक गाथागान गर्नुभएको छ, राष्ट्रिय स्वाभिमानलाई आफ्ना रचनाहरूमा सगरमाथाजत्तिकै माथि उठाउनुभएको छ र भावी पुस्तालाई गौरवबोध गर्ने गरेर प्रेरणादायी सन्देश दिनुभएको छ।

काठमाडौं आइसकेपछि तीनधारा पाकशालाको भोजन र आवाससहितको सुविधा तथा रानीपोखरी संस्कृत प्रधान पाठशालाको पढाइले उहाँलाई पण्डितराज सोमनाथ सिग्द्याल, कालीदास पराजुली आदि गुरुसँग नजिक तुल्यायो भने अर्कातिर कवितासिर्जना गर्ने थप उत्प्रेरक परिवेश तयार भयो। कविशिरोमणि लेखनाथ, महाकवि देवकोटा, नाट्यसम्राट् सम, भवानी भिक्षु, युगकवि सिद्धिचरण आदिसित चिनजान भयो। संस्कृत दर्शन र साहित्यका महाकविहरू कालीदास, भारवी, माघ आदिका कृतिहरू गुरुमुख भएर पढ्ने अवसरका साथै नोबेल पुरस्कार प्राप्त भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोर र अन्य विदेशी स्रष्टाका कृति पनि पढ्ने मौका मिल्यो। शास्त्री उत्तीर्ण नगर्दै १९९९ सालको प्रारम्भमै भाषानुवाद परिषद्मा मासिक २५ रुपैयाँ पाउने गरी उहाँले लेखक पदको जागिर पाउनुभयो। २००१ सालमा शास्त्री उत्तीर्ण गरेपछि २००२÷३ सालतिर गोरखापत्रको सहायक सम्पादक पदको मासिक ४० रुपैयाँको जागिरसमेत मिल्यो। २००४ सालमा आधार शिक्षाको तालिम लिएपछि त्यतैतिर आकर्षित हुन थालेको अवस्थामा त्यही वर्ष असारमा उहाँकी पत्नी गौरी (२२ वर्षीया) को निधन भएपछि टुहुरा दुई छोरी लिएर २००५ सालमा उहाँ आफ्नै जिल्ला लमजुङतिर लाग्नुभयो र यशोब्रह्म शाहको दरबारमा स्थापित आधार शिक्षा माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुभयो।

२००५ माघमा महाकाली अधिकारीसित दोस्रो बिहे गरे पनि खाऊँ खाऊँ र लाऊँ लाऊँको उमेरकी गौरीसितको प्रणयलाई उहाँले बिर्सनुभएको थिएन। यसका कारणले विरहवेदनाबाट विह्वल भएर नै उहाँले गौरी शोककाव्य लेख्नुभयो। २००९ सालमा पुनः काठमाडौं आएर शिक्षक शिक्षण केन्द्र, ताहाचलमा शिक्षकका रूपमा काम गर्दै काव्यसिर्जनालाई पनि जारी राख्नुभयो। २०१० देखि २०१४ सालसम्म नेपाल-भारत मैत्री संघको अध्यक्ष, नेपाल लेखक संघको पहिले सदस्य र पछि अध्यक्ष तथा महाकवि देवकोटा अध्यक्ष रहेको काव्य प्रतिष्ठानको पहिले सदस्य र पछि सचिव भएर वरिष्ठ स्रष्टाहरूसँगै काम गर्ने मौका उहाँले पाउनुभयो। देवकोटा र बालचन्द्र शर्मासँगै लागेर एकेडेमी स्थापनामा समेत उहाँ सक्रिय रहनुभयो। यसबाट दरबारमा कवि राजा महेन्द्रसँग समेत उहाँको राम्रै पहुँच पुग्यो। कविका रूपमा प्रसिद्धि पाइसकेकाले २०१४ सालमा पहिले नेपाली साहित्य कला एकेडेमी र पछि नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान बनेको अहिलेको नेपाल प्रज्ञा-प्रतिष्ठानको सदस्य पदमा नियुक्त हुनुभयो। त्यतिखेर ३८ वर्ष पनि नपुगेका घिमिरेको नियुक्ति वरिष्ठतम् स्रष्टाहरू लेखनाथ, सम, देवकोटा, सोमनाथ, भवानी भिक्षु, सिद्धिचरणहरूसँगै हुनु चानचुने कुरा थिएन।

सुरुमा नियुक्ति पाएका प्राज्ञमध्ये २०२२ देखि प्रत्येक दुई वर्षमा गोला प्रथाबाट एक तिहाइ प्राज्ञहरू अवकाश हुने कानुनी व्यवस्थाअनुसार अरू प्राज्ञ गोला प्रथाबाट अवकाश हुँदै गए पनि अन्तिम समयसम्म अर्थात् २०२८ सालसम्म रहने भाग्यमानी प्राज्ञमध्येमा राष्ट्रकवि पनि पर्नुहुन्छ। २०२८ देखि प्रज्ञा-प्रतिष्ठानको आजीवन सदस्य बन्नुभएका उहाँ २०३६ वैशाखदेखि २०४५ चैतसम्म दुई कार्यकाल उपकुलपति र २०४६ वैशाखदेखि २०४७ असारसम्म कुलपति रहनुभएको देखिन्छ। २०४६ को राजनीतिक परिवर्तनपछि आन्दोलनकारी पक्षका स्रष्टाहरूको दबाबमा  २०४७ को असारतिर उहाँले कुलपति पदबाट राजीनामा दिएपछि भने हालसम्म नै उहाँ आजीवन सदस्यका रूपमा रहनुभयो। त्यसपछि उहाँको समय अनवरत साधनामा मात्र समर्पित भएको, अश्वत्थामा लगायतका कतिपय थप महत्वपूर्ण कृति यसै अवधिमा लेखिएका र प्रकाशन भएका अनि राष्ट्रकवि (२०६०), नेपाली सेनाको मानार्थ सहायक रथी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप आदि सम्मान र नागरिक तहबाट समेत अगणनीय सम्मान, पुरस्कार तथा अभिनन्दन उहाँलाई प्राप्त भएका देखिन्छन्।

साहित्यसिर्जनाका साथै प्राज्ञिक व्यवस्थापनमा पनि राष्ट्रकवि त्यत्तिकै सफल हुनुहुन्थ्यो। उहाँ वास्तवमै समाजसचेत कविका रूपमा रहनुभयो। जुनसुकै राज्यव्यवस्था आए पनि त्यसविरुद्ध नबोल्नु बरु राष्ट्र, राष्ट्रिय प्रकृति, संस्कृति र जनजीवनलाई केन्द्रमा राखेर कालजयी सिर्जना गर्नु उहाँको विशिष्ट पक्ष रह्यो। सबै कालमा उहाँ सबैका प्रिय भइरहन सक्नुभयो। पूर्वप्राथमिक तहदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा उहाँका रचनाहरूले स्थान पाउनु र तिनको सशक्ततालाई कसैले चुनौती दिन नसक्नु पनि उहाँको सिद्धि र सफलताको सूचक हो। उहाँ लेखनाथको शास्त्रीयतावादी धारा र देवकोटाको स्वच्छन्दतावादी भावचेतनालाई सँगै संवरण गर्दै सर्वथा मौलिक र पृथक् पहिचान कायम गर्न सफल हुनुभयो। उहाँले कालिदासबाट प्रकृतिचित्रण र टैगोरबाट मानवतावादको प्रभाव ग्रहण गरेको कुरा यसै पंक्तिकारले २०६० र २०७६ सालमा लिएका अलग अलग अन्तर्वार्तामा समेत स्वीकार गर्नुभएको छ। तर, पनि शास्त्रीय वर्णमात्रिक छन्दमा होस् वा गीतिछन्दमा अथवा गद्यलेखनमै किन नहोस्, माधव घिमिरेले-

लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो, हिमालचुलीमुन्तिर पानी भर्ने पँधेरो...। 
आई कैल्यै पनि नसकिने चैतवैशाख मेरा, लाई कैल्यै पनि नसकिने प्रीति नौ लाख मेरा...।

यस्ता सयौं सूक्तिमय पंक्तिहरूका माध्यमबाट नेपाल राष्ट्र बोल्नुभएको छ, राष्ट्रिय प्रकृतिलाई मानवीकृत गर्नुभएको छ, प्रकृति र संस्कृतिका अन्तर्घुलनमा जीवनको खोजी गर्नुभएको छ, नेपाली वीरताको ऐतिहासिक गाथागान गर्नुभएको छ, राष्ट्रिय स्वाभिमानलाई आफ्ना रचनाहरूमा सगरमाथाजत्तिकै माथि उठाउनुभएको छ र भावी पुस्तालाई गौरवबोध गर्ने गरेर प्रेरणादायी सन्देश दिनुभएको छ। त्यसैले उहाँ नेपालीपनले युक्त कालजयी अमर स्रष्टा हुनुहुन्छ। साँच्चिकै ‘राष्ट्रकवि’ हुनुहुन्छ। अमर कृतिहरूबाट उहाँ युगौंयुग विश्वव्यापी रूपमा जीवित रहिरहनुहुने छ। म वाङ्मय जगत्कै जेठा र ऋषिकल्प अभिभावक राष्ट्रकविप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.